Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निहारिकाको मुद्दामा आरोपित झिकाउन अदालतको आदेश

काठमाडौं । काठमाडौंको वसन्तपुरमा एक सातादेखि अनसन बसिरहेकी महोत्तरीकी निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ। निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरूद्ध दायर गरेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च आदतले यस्तो आदेश दिएको हो।
न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको उच्च अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए। अदालतले श्रेष्ठलाई १५ दिनभित्र हाजिर हुन पत्र पठाएको छ।
श्रेष्ठले आफ्नो बलात्कार गरेको र ‘कुमारी आमा’ आमा बनेको भन्दै निहारिकले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन्। गत वर्ष माघ १४ गते जिल्ला अदालतले फैसला सुनाउँदै श्रेष्ठलाई सफाइ दिएको थियो। श्रेष्ठ निहारिकाको साथीका भाइ हुन्। त्यसअघि निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा श्रीमान–श्रीमती रहेको र अंशको माग गर्दै निवदेन दिएकी थिइन्। त्यही निवेदनको आधारमा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले दाबी नपुग्ने फैसला सुनाएको थियो।
निहारिका गर्भवती भएपछि फरार भएका श्रेष्ठ गत वर्ष भदौ १८ गते कानुन व्यवसायीमार्फत जिल्ला अदालतमा हाजिर भएका थिए। उनी गत वर्ष मंसिरमा गर्भवती भएकी थिइन्। गर्भवती भएको ६ महिनापछि पुसमा उनले जिल्ला प्रहरी कार्यालयमा आफ्नो बलात्कार भएको भन्दै जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन्। निहारिका छोराको डिनए परीक्षणको माग गर्दै एक सातादेखि अनसनमा बसेकी छन्।