Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाभित्रको घातक शक्तिसंघर्ष

काठमाडौं। पार्टी एउटै भए पनि पूर्वएमाले र पूर्वमाओवादीमध्ये कुन पक्षका नेतालाई सभामुख बनाउने भन्ने किचलोले नेकपा प्रस्ट रूपमा दुइ खेमामा विभाजित भएको छ । प्रधानमन्त्री ओली जसरी पनि आफूले रोजेको व्यक्तिलाई सभामुख बनाउन चाहन्छन् भने अर्का अध्यक्ष दाहालआफू निकटलाई । ओलीको अडानलाई कमजोर बनाउन सचिवालयका बाँकी वरिष्ठ नेताहरु दाहाललाई ढाडस दिइरहेका छन् । उपाध्यक्ष बामदेव गौतमको निवास भैँसेपाटीमा भएको भेलापछि आफूविरूद्ध मोर्चाबन्दी गर्न खोजेको ठानेका ओली दाहालप्रति झनै रूष्ट छन् । यद्यपि उनी पछिल्लो समय मौन बसेका छन् । उनको मौनताले पनि सभामुख चयनमा झन् जटिलता अन्य नेताको ठम्याइ छ । आफूलाई कार्यकारी अधिकार दिँदा सुवास नेम्वाङलाई सभामुख बनाउन सकिने गरी चलक देखिएका दाहाल पछिल्लोपल्ट आफ्नो पक्षकै नेता हुनुपर्ने चट्टानी अडानमा किन देखिए भनेर ओलीपक्ष सशंकित भएको छ ।

दाहालको त्यो अडान र दुई अध्यक्षबीच कुरा नमिले सचिवालयमा विषय प्रवेश गराउनुपर्ने भन्ने अन्य नेताको भनाइले आफूलाई अल्पमतमा पार्न खोजिएको त होइन भन्ने बुझाइ समेत ओली पक्षको छ । यद्यपि दाहाल पक्षधरले सबैलाई न्याय हुने कोणबाट नेतृत्वले सोच्नपर्ने तर्क राखेको छ । सभामुख चयनको आन्तरिक दाउपेचको गोलचक्करमा सत्तारुढ नेकपा जसरी फसेको छ, त्यसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी त बनाएको छ नै, नेकपाको एकताको जग पनि कसिलो बनाउनुको साटो झन् खल्बल्याउन पनि सक्नेछ ।

सभामुख चयनलाई लिएर नेकपामा संघर्ष छ । दाहाल आफैंले पूर्वमाओवादीले सभामुख पाउनुपर्ने दाबी गर्दै आएका छन् । उनीमाथि पूर्वमाओवादीका नेताले सभामुख छोड्न नहुने दबाब दिँदै आएका छन् । अर्कोतिर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान लिएका छन् । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू स्वतः सभामुख बन्नुपर्ने दाबी गर्दै आएकी छन् । उनले आफूलाई सभामुख नबनाउने भए उपसभामुखबाट राजीनामा नदिने अडान लिएकी छन् । उनले नेकपाको सचिवालय बैठकले पदबाट राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्दै हटाउन चुनौती दिएकी छन् ।

सत्तारूढ नेकपाभित्र नयाँ सभामुखको विषयमा सहमति जुट्न नसक्दा गत आइतबार पनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो। सभामुख चयनका लागि निर्वाचन मिति तोक्ने सम्भावित कार्यसूची भए पनि सत्तारूढ दलभित्र सहमति जुट्न नसकेपछि तेस्रोपटक सूचनाबाट बैठक स्थगित भयो । पुस ४ गतेको संसद् बैठक उपसभामुख तुम्बाहाम्फेले नै सञ्चालन गरेकी थिइन्। त्यसपछि डाकिएका तीनवटा बैठक सूचना जारी गरेर स्थगित भएका हुन्।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल