Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेताहरुलाई भाडाको घर पाउन पनि मुस्किल

काठमाडौं । समय सबैभन्दा बलबान हुन्छ । कुनै बेला देश नै आफ्नो बाउको पुख्र्यौलीइ सम्पत्ति ठान्ने नेताहरु यतिबेला युवा विद्रोहका कारण विस्थापित मात्रै भएका छैनन् घरवारविहीन समेत बनेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारीको बैठक बुढानीलकण्ठस्थित घरमै राख्दै आएका थिए। त्यसकै लागि घरमै बैठक गर्न मिल्नेगरी कुर्सीको व्यवस्थापन गरिएको थियो। केन्द्रीय समिति बाहेकका महत्त्वपूर्ण निर्णय गर्नुपर्दा देउवा निवासमै बैठक बस्थ्यो। यो क्रम वर्षौंदेखि भदौ २३ सम्म रह्यो। २३ गते पनि आफूनिकटका केही पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर जेन–जीको प्रदर्शन र त्यसले पार्ने प्रभावका विषयमा बैठक राखेका थिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बालकोट निवासलाई महत्त्वपूर्ण बैठक राख्ने थलो बनाए। यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारको भाडामा लिएको घरलाई पदाधिकारी, स्थायी समिति बैठक राख्ने थलो बनाएका थिए। एकाधबाहेक मुख्य निर्णय गर्नुपर्दा प्रचण्ड बसेकै घरमा नेताहरू पुग्थे। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि कोटेश्वर निवासलाई महत्त्वपूर्ण छलफल गर्ने थलो बनाउँदै आएका थिए। देउवा, ओली, प्रचण्ड पटकपटक प्रधानमन्त्री भइसकेका नेता हुन्। नेपाल पनि एकपटक प्रधानमन्त्री भइसके। उनीहरूको सुरक्षामा कम्तीमा १५ जना प्रहरी अधिकृत खटिन्छन्। त्यही भएर पनि यी नेताहरू जता पायो उता बस्न चाहँदैनन्, सकभर निवासमै सुरक्षा घेरामा रहन्छन्। तर, भदौ २३ गतेको शान्तिपूर्ण भनिएको प्रदर्शन एकाएक हिंसात्मक बन्यो। र, २४ गते त आन्दोलन विध्वंसमा परिणत भयो। कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरूको निजी निवास खोजीखोजी जलाउन थाले। थेग्न नसकेपछि कांग्रेस–एमाले गठबन्धन सरकार ढल्यो। ज्यान नै जोखिममा पर्ने भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएर भूमिगत भए र सेनाको सुरक्षामा एक साता बिताए। असोज २ गते भक्तपुरको गुन्डुमा एकैपटक उनी देखा परे। एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार ओली गुन्डु बस्न थालेको एक हप्ता भइसक्यो। मध्यपुर ठिमीका राजेन्द्र श्रेष्ठको घर ओली बस्न भाडामा लिइएको छ। तर, न त घरको भाडा खुलाइएको छ, न पूरै घर देखिने तस्बिर नै सार्वजनिक भएको छ। बस्नेतले मंगलबार ओलीसँग युवाले भेट गरेको, सम्बोधन गरेको तीनवटा भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। देशमा यत्रो ठूलो राजनीतिक उथलपुथल भइसक्दा ओली सार्वजनिक कार्यक्रममा बाहिर निस्केका छैनन्। कांग्रेस सभापति देउवा पनि कहाँ बसेका छन्, सार्वजनिक भएको छैन। भदौ २४ गते आन्दोलनकारीले मरणासन्न हुनेगरी कुटपिट गरेपछि देउवा गम्भीर घाइते भएका थिए। टाउकोमा १२ टाँका लगाइएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए। तर, देउवालाई कुन अस्पतालमा राखेर उपचार गरिएको छ भन्ने उनले खुलाउन चाहेनन्। जबकि, देउवासँगै उनकी पत्नी आरजु राणाको पनि उपचार भइरहेको भनिएको छ।
आन्दोलनकारीले बुढानीलकण्ठमा रहेको देउवा निवास जलाएर खरानी बनाइदिएका छन्। अस्पतालबाट फर्किएर देउवा कहाँ बस्छन् ? त्यसबारे कांग्रेस नेताहरू मौन छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बस्दै आएको खुमलटारको भाडाको घर आन्दोलनकारीले आगो लगाएर ध्वस्त बनाइदिए। ६ दिन सिंहदरबारस्थित सेनाकै सुरक्षामा बसेका प्रचण्ड सार्वजनिक भएर पार्टी काममा खटिइसकेका छन्। भदौ ३१ गते जलेको पार्टी कार्यालय निरीक्षण गरेका उनी आफैँ बेल्चा बोकेर भग्नावशेष हटाउन कस्सिए। असोज ३ गते संविधान दिवसको कार्यक्रममा सहभागी भएका उनले असोज ५ गते पदाधिकारी बैठक पनि राखे। तर, अहिले उनी कहाँ बस्छन् खुलाइएको छैन। प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटा नेताहरू सचेत हुनुपर्ने अवस्था सिर्जना भएको बताउँछन्। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको घर जलेर बस्नै नमिल्ने छ। उनी पनि कहाँ बस्छन्, खुलाइएको छैन। उपाध्यक्ष जगन्नाथ खतिवडाले कुनै पनि आन्दोलनमा देशका मुख्य नेता र उनीहरूको निवास तारो बन्न थालेको विषय चिन्ताजनक भएको बताए। जुनसुकै बेला नेताहरूको घरलाई क्षति पुग्ने भएपछि आफू बसेको घर सार्वजनिक गर्न नहुने निष्कर्षमा नेताहरू पुगेको खतिवडा बताउँछन्। डिजिटल दुनियाँमा नेताहरू झन् असुरक्षित हुन थालेको उनको भनाइ छ।
बुढानीलकण्ठमा बनाइएको घर देउवाकै हो। एमाले अध्यक्ष ओलीनै बालकोटको घर बनाएका हुन्। कोटेश्वरको आफ्नै घरमा एकीकृत समाजवादी अध्यक्ष नेपाल बस्दै आएको हुन्। तर, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले भाडामा बस्दै आएको घर भदौ २४ गते आगजनी भएपछि डराउनुपर्ने अवस्था सिर्जना भएको नेताहरू बताउँछन्। आन्दोलनपछि यो व्यवस्था नै नरहला कि भन्ने भयमा नेताहरू थिए। सेनाको सुरक्षा घेरा, मोबाइल चलाउन रोक लगायतका गतिविधिले अत्तालिएका उनीहरूले संसद् विघटन नगर्न आह्वान गरे। तर, संसद् विघटन रोकिएन। यद्यपि, संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था र संविधानमै टेकेर फागुन २१ गते चुनाव गराउनेगरी सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ। चुनावी तयारीका लागि नेतारकार्यकर्तासँग घन्टौँ छलफल र बैठक गर्नुपर्ने पुराना पार्टीका मुख्य केही नेताहरू आफू बसेको ठाउँ बताउन सकिरहेका छैनन्। दलभित्र रूपान्तरण, नेतृत्व हस्तान्तरणको बहस यही बेला जोडतोडले उठ्न थालेको छ। कुनै पनि बेला आफूमाथि खतरा आइपर्नसक्ने निचोड निकालेर उनीहरूले बस्ने ठाउँमा सबैको पहुँच नदिने देखिएको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल