Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा चीन र अमेरिका आमने–सामने

सन् १९९० अर्थात् वि.सं. २०४६ सालभन्दा पहिलेको अवस्थामा विश्व राजनीतिमा सोभियत सङ्घ र अमेरिका दुई ध्रुवीय विश्व राजनीति थियो । सोभियत सङ्घको विघटनपछिको एकल ध्रुवीय अमेरिकी वर्चस्वलाई चीनको दृश्यले धक्का दिँदै गइरहेको छ । त्यसको प्रभाव एसिया र चीनको वरिपरिका छिमेकी राष्ट्रहरूमा मात्र होइन, संसारभरि प्रत्यक्ष र अप्रत्यक्षरूपमा पर्दै गइरहेको छ । यो अवस्थामा हामी कहाँ छौँ र नेपाली राजनीतिमा यसको प्रभाव कसरी परिरहेको छ ? यो आलेख यसै परिवेशको परिपरि केन्द्रित रहने छ ।

(१) वि.सं. २०५८ जेठ १९ को राजदरबार हत्याकाण्डपछि नेपालको परम्परागत शक्ति सन्तुलन भत्किएको थियो । ०६२–०६३ को आन्दोलन र राजतन्त्रको विस्थापनपछि चीनले नेपाल नीति पुनरावलोकन गर्र्दै चुस्त र दीर्घकालीन रणनीति अख्तियार गर्दै आइरहेको छ । कम्युनिस्ट व्यानरमा इन्डो–पश्चिमी शक्ति केन्द्रले चीनविरुद्ध पूर्वएमाले र पूर्वमाओवादीलाई नीतिगत रूपमा परिचालन गरेको अवस्थामा त्यस प्रकरणले एजेन्डाहरूलाई विस्थापित मात्र गरेन, वामपन्थी जनमतसहितको पछि एकीकरण भएको नेकपालाई आफ्नो अनुकूल रूपान्तरण गर्ने प्रयत्न गर्दै आइरहेको छ । नेपालमा चीन, अमेरिका आमने–सामने भइरहेको अवस्थामा त्यसको प्रभाव वर्तमान सत्तारूढ दलमा परिरहेको छ र त्यो केपी ओली, मानव नेपाल र प्रचण्डमार्फत् टकराइरहेको छ । यही अवस्था अब प्रतिपक्षी नेपाली काँग्रेसभित्र पनि सुरुवात भएको छ । चीनले अगाडि सारेको बीआरआई, जसलाई दक्षिण एसियामा पाकिस्तानपछि नेपालले हस्ताक्षर गरेको छ । यो सम्झौता पुष्पकमल दाहालले आफ्नो कार्यकालमा गरेका थिए । यता यसको काउन्टरमा अमेरिकाले हिन्द प्रशान्त सुरक्षा रणनीतिअन्तर्गत एमसीसी अगाडि सारेको छ । यसको हस्तक्षर शेरबहादुर देउवाको कार्यकालमा भएको थियो भने प्रवेश बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा भएको थियो ।

पछिल्लो चरणमा नेकपाभित्र प्रधानमन्त्री ओलीसहितको समूह जसरी पनि एमसीसी पारित गर्ने र प्रचण्ड, झलनाथ खनालसहितको नेतृत्व यसलाई स्वीकार गर्न नहुने पक्षमा उभिएपछि नेकपा नीतिगत होइन, चीन–अमेरिकी एजेन्डाको टकरावमा धु्रवीकरण भएको छ । चीनले आफूविरुद्ध लक्षित इन्डो अमेरिकी परियोजना रोक्न लबिङ गरिरहेको छ भने ओरिकाले पनि चीनलाई घेर्ने आफ्नो एमसीसी परियोजना कार्यान्वयन गर्न लबिङ गरिरहेको छ । यही टकराव नै अहिलेको नेकपाको द्वन्द्वको रूपमा रूपान्तरण भएको छ । पछिल्लो चरणमा प्रधानमन्त्री केपी ओली नेकपा विभाजन गराएर प्रतिपक्ष काँग्रेस र देउवासँग गठबन्धन सरकार बनाउँदै एमसीसी पास गर्नेमा छन् । यसको लागि ४० प्रतिशत केन्द्रीय समिति र संसदीय दलमा उनको सङ्ख्या नपुगेपछि पार्टीभित्र प्रचण्डसहितको बहुमत पक्षले आफूलाई कारबाही गरून् भन्नेमा ओली छन् । ओलीको अमेरिकी रणनीति चिनियाँहरूले पनि बुझेको हुनाले नेकपा विभाजन रोक्न खोज्नु अस्वाभाविक होइन । यसलाई नेपालमा रहेका पश्चिमाहरू र भारतीयहरूले ओलीलाई चीनले बचाउन खोजेको भनेर गोयवल्स प्रपोगण्डा गरिरहेका छन् । ओली सीआईए रणनीतिअन्तर्गत चीनविरोधी अमेरिकी कित्तामा रहेका छन् । निर्वस्त्ररूपमा एमसीसीको पक्षमा उभिएका छन् ।

(२) नक्सा जारी गर्ने निर्णय नेकपाले गरेको थियो । यसलाई प्रधानमन्त्री ओलीले आफूमा केन्द्रित गरेर राष्ट्रवादको व्यानरमा जनमत बनाउँदै अमेरिकी स्वार्थ रक्षा गर्न महाकालीमा निर्वस्त्र ओलीले नेकपाभित्र एमसीसी रोक्नुपर्दछ भन्नेहरूलाई भारतीय देखाएर आफ्नो इन्डो प्यासेफिक रणनीतिको रक्षा गर्न खोजे ।

(३) राम र अयोध्या नेपालमै होला, यो विज्ञहरूको खोज–अनुसन्धानको विषय हो तर उनले यसलाई पनि राष्ट्रवादको आवरणमा आफ्नो र अमेरिकी रणनीतिको बचाउमा प्रयोग गर्न खोजे । यी सबै हत्कण्डा असफल भएपछि उनी पार्टीभित्र नयाँ–नयाँ षड्यन्त्रको खोजीमा तल्लीन रहेका छन् । एमसीसी संसद्बाट पारित गर्न असफल भएपछि नेकपा विभाजन गर्न सीआईएको आडभरोसामा केपी ओली गिरोह जसरी सक्रिय रहेको छ, अहिले प्रचण्डसँगै उभिएर ओलीविरोधी कित्तामा उभिएका माधव नेपाल भारत र ‘रअ’को आडभरोसामा ओलीलाई जसरी पनि कारबाही गरेरै भए पनि अघि बढ्न दबाब दिइरहेका छन् ।

फरक–फरक भूमिकामा देखिए पनि माधव नेपाल र केपी ओलीको भूमिका विभाजन उन्मुख छ, जसलाई पुष्पकमल दाहालले रोकिरहेका छन् । नेकपा विभाजनको उद्देश्य भनेको चीनलाई घेर्ने इन्डो अमेरिकी केन्द्र बलियो बनाउनु नै हो । बीआरआईको चीनसँग सम्झौता र एमसीसी रोक्ने काम प्रचण्डले गरेपछि नेकपा विभाजन गराएर प्रचण्डलाई किनारा लगाउने उद्देश्य इन्डो अमेरिकी रणनीतिमा केन्द्रित रहेको छ । यसमा पूर्वमाओवादीभित्र रहेका ‘रअ’ र सीआईएका जासुसहरू प्रचण्डविरुद्ध केन्द्रित रहने छन् । यो अवस्थामा अत्यन्त संयमित भएर अघि बढ्नुपर्ने अवस्था पुष्पकमाल दाहालमाथि आइपरेकोे छ ।

यही अवस्थामा चीन नेकपाभित्र मात्र सीमित नरहेर प्रतिपक्षी नेपाली काँग्रेस र सेनामा पनि चीनविरुद्ध लक्षित इन्डो अमेरिकी रणनीतिलाई साथ नदिन लबिङ सुरु भइसकेको छ । ओली अमेरिकी कित्ताको पक्षमा निर्वस्त्र उभिएपछि नेकपा विभाजन गराएर एमसीसी पक्षधरहरूको बृहत् अमेरिकी गठबन्धन साथ २०५८ जेठ १९ को दरबार हत्याकाण्ड जुन चीनलाई रोक्ने हार्ड सैन्य ‘कू’ थियो, त्यस्तै ‘कू’ गर्ने इन्डो अमेरिकी योजना असफल भएपछि पश्चिमी केन्द्रमा रहेका राष्ट्रवादको नारा दिने दक्षिणपन्थीहरूको सपना चकनाचुर भएको छ । यो गिरोह अहिले ओलीको देवत्वकरण गर्दै प्रचण्डको राक्षसीकरण गर्न उद्यत् छ । हिजो ओलीलाई तथानाम गाली गर्ने यी पश्चिमी कित्ताका दक्षिणपन्थीहरू अहिले रातारात केपी ओलीलाई महान् भन्न आइपुगेका छन् ।

चीन अमेरिका आमने–सामने भएको अवस्थामा अब सन् १९९० भन्दा अगाडि जस्तो बीचमा रहने अवस्था छैन । डोक्लामदेखि लद्दाखसम्मको चीन–भारत टकरावले अहिलेको मोदी सत्ता पश्चिमाहरूसँग रहेको अवस्थामा अमेरिकी कित्तामा उभिएर भारतविरोधी नारामा नेपालमा अमेरिकी केन्द्रको रक्षा गर्न खोज्ने प्रधानमन्त्री ओलीको नीति दक्षिणपन्थीहरूको सन् १९९० वि.सं. २०४६ भन्दा अगाडिको बासी विचार हो, जसको अन्त्य भइसकेको छ ।