Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता जुटाउने प्रयास गरिरहेको छ। पछिल्ला दिनमा अमेरिका, चीन, भारत, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, युरोपेली संघ र कतारका उच्च सरकारी अधिकारी तथा प्रतिनिधिहरूले नेपालका राजनीतिक नेतृत्वसँग संवाद गर्दै सहयोगको प्रतिबद्धता जनाइरहेका छन्।
विदेशी प्रतिनिधिहरूले प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललगायत सरकारी अधिकारीसँगै सत्तारूढ दलका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता तथा संवाद गरिरहेका छन्।
यसै क्रममा सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र लामिछानेबीच टेलिफोन वार्ता भएको छ। भोटेकोसी विपद्पछि नेपालका राजनीतिक नेतृत्वसँग अमेरिकी उच्च अधिकारीले गरेको यो अहिलेसम्मकै उच्चस्तरीय संवाद हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सहयोग गर्ने आश्वासन दिएको भिडिओ सार्वजनिक भएको थियो।
रुबियोले भोटेकोसी बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका थिए। आवश्यक परे नेपाललाई थप सहयोग गर्न अमेरिका तयार रहेको आश्वासनसमेत उनले दिएको लामिछानेनिकट नेताहरूले बताएका छन्।
लामिछानेले अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए।
यसअघि भदौ १६ गते नेपालका लागि चिनियाँ राजदूत माओ मिङले लामिछानेलाई निवासमै पुगेर भेटेका थिए। भेटका क्रममा उनले भोटेकोसी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै चीन खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म नेपालसँगै रहने प्रतिबद्धता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको भनाइ छ।
यस्तै, जापानी राजदूत माएदा तोरु र युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले पनि लामिछानेसँग भेटवार्ता गरेका थिए।
अमेरिकी विदेशमन्त्री रुबियोले प्रधानमन्त्री शाह वा परराष्ट्रमन्त्री शिशिर खनाललाई नभई लामिछानेसँग मात्रै टेलिफोन संवाद गर्नुको कूटनीतिक कारणबारे पनि राजनीतिक वृत्तमा विश्लेषण हुन थालेको छ।
कतिपयले यसलाई अमेरिकी विशेष दूत सर्जियो गोरसँग लामिछानेको भेटसँग जोडेर हेरेका छन्। बालेन नेतृत्वको सरकार गठनपछि काठमाडौं आएका गोरलाई प्रधानमन्त्री शाहले भेट नदिए पनि लामिछानेसँग भेटवार्ता गरेका थिए। त्यसको करिब एक महिनापछि भारत भ्रमणमा रहेका लामिछानेसँग गोरले दिल्लीमा समेत भेट गरेका थिए। यी भेटहरूले लामिछाने र अमेरिकी पक्षबीचको सम्पर्कलाई थप विस्तार गरेको विश्लेषण भइरहेको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको टोलीसँग सम्बन्ध विस्तार गरेका लामिछाने चीन भ्रमणको तयारीमा समेत रहेको बताइएको छ।
यद्यपि, विपद्को समयमा विदेशी नेताहरूले नेपालका विभिन्न राजनीतिक तथा सरकारी नेतृत्वसँग संवाद गर्नु र सहयोगको प्रतिबद्धता जनाउनु स्वाभाविक प्रक्रिया भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको भनाइ छ।
पार्टी प्रवक्ता जगदीश खरेलले संसदीय लोकतान्त्रिक व्यवस्थामा सरकार राजनीतिक दलबाट सञ्चालन हुने भएकाले सत्तारूढ दलका सभापतिसँग विदेशी नेताहरूले संवाद गर्नु अस्वाभाविक नभएको बताए।
‘संसदीय प्रजातान्त्रिक व्यवस्थामा सरकार पार्टीले चलाउने हो, हाम्रो अभ्यास त्यही हो,’ उनले भने, ‘पछिल्लो समय नेपाल बाढीको विपद्मा परेपछि विदेशी नेताहरूले पनि सत्तारूढ दलको सभापतिसँग द्विपक्षीय र बहुपक्षीय सौहार्दपूर्ण सम्बन्ध राख्न खोज्नु स्वाभाविकै हो।’
रास्वपाका महामन्त्री विपिन आचार्यले पनि विदेशी नेताहरूले कहिले प्रधानमन्त्री र कहिले पार्टी सभापतिसँग संवाद गर्नु सामान्य प्रक्रिया भएको बताए। उनका अनुसार विपत्तिको समयमा राजनीतिक दृष्टिकोणबाट यसलाई व्याख्या गर्नु उचित हुँदैन।
‘पार्टी सभापतिसँग कुरा भएको विषयलाई फरक कोणबाट हेर्नु हुँदैन,’ उनले भने, ‘सबै जना सामूहिक रूपमा लाग्नुपर्ने विपत्तिको बेलामा यस्तो विषयलाई राजनीतीकरण गरियो भने सही हुँदैन।’
उनले प्रधानमन्त्रीका रूपमा वरिष्ठ नेताले आफ्नो स्तरबाट र पार्टी सभापतिले आवश्यकताअनुसार आफ्नो सक्रियता देखाइरहेको भन्दै अहिले कसले कति काम गर्यो भन्ने जोडघटाउ गर्ने समय नभएको बताए।
२०८३ भाद्र २३
ताजा नेपाल
२०८३ भाद्र २३
ताजा नेपाल
२०८३ भाद्र २३
ताजा नेपाल