Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, कनेक्टिभिटी विस्तार तथा क्षेत्रीय चासोका विषयमा छलफल भएको बताइएको छ।
वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यलाई अगाडि बढाउन चीन तयार रहेको बताएका छन्। उनले नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट भू–जडित राष्ट्रमा रूपान्तरण गर्न चीनले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै वाङले नेपालको नयाँ सरकारले सुशासन र विकासलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
वार्तामा तिब्बत र ताइवानसम्बन्धी विषय पनि उठेको बताइएको छ। चिनियाँ पक्षले यी विषयलाई आफ्नो मूल राष्ट्रिय चासोका रूपमा प्रस्तुत गर्दै नेपालले निरन्तर देखाउँदै आएको समर्थनको प्रशंसा गरेको जनाएको छ।
त्यसैगरी, चिनियाँ कम्पनीहरूको नेपालमा लगानी तथा व्यापार विस्तारका लागि सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो। चीनले नेपालमा लगानीकर्तामैत्री, निष्पक्ष र पारदर्शी व्यावसायिक वातावरणको अपेक्षा गरेको जनाएको छ।
जवाफमा परराष्ट्रमन्त्री खनालले नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याएका छन्। ताइवान र तिब्बतसम्बन्धी विषय चीनको आन्तरिक मामिला भएको उल्लेख गर्दै उनले चीनको पूर्ण पुनर्एकीकरणप्रति नेपालको समर्थन रहने बताएका छन्।
खनालले नेपालको भूमि कुनै पनि छिमेकी राष्ट्रको हितविपरीत प्रयोग हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नेपालको असंलग्न परराष्ट्र नीति, जनताकेन्द्रित विकास र छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्धलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
उनले बीआरआईअन्तर्गतका परियोजनामा सक्रिय सहभागिता, कनेक्टिभिटी विस्तार तथा चिनियाँ लगानीकर्ताका लागि कानुनसम्मत र मैत्रीपूर्ण वातावरण निर्माण गर्न नेपाल तयार रहेको उल्लेख गरेका छन्। साथै, चीनले अघि सारेका विभिन्न विश्वव्यापी पहल तथा साझा भविष्यको समुदाय निर्माणसम्बन्धी अवधारणामा नेपालको सकारात्मक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल