Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल–खनाल भेला आज, प्रधानमन्त्रीले दिए यस्तो चेतावनी

काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूताइदिए पनि पार्टीभित्रको विवाद मिल्न नसक्दा पार्टी फेरि दुई चिरा हुने छाँटकाट देखिँदैछ । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आज राष्ट्रिय कार्यकर्ता भेला गर्दैछन् । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेपाल–खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ । भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिए ।
पत्रकार सम्मेलनमा एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले एमाले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको आरोप लगाए । उनले आफ्नो पक्ष एमाले एकताकै पक्षमा रहेको र त्यसको पुष्टि गर्न भेला बोलाइएको बताए । ‘पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था गरिको छ’, पाण्डेको भनाइ छ । उता, प्रधानमन्त्री केपी शर्मा ओलीले भने भेलामा सहभागी हुनेहरूलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

गुट भेला गर्नेलाई कारबाही गर्ने ओलीको चेतावनी
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अराजकता, अनुशासनहीनता र उच्छृंखलतालाई छुट नभएको बताएका छन्। विधि विधानविपरीत हिँड्न खोज्नेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री ओलीले दिएका छन्। पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। ओलीले २८ फागुनमा एकलौटी रूपमा आफ्ना पक्षका नेताहरूको जिम्मेवारी खोस्ने, केन्द्रीय कमिटीमा नेताहरू थप्नेलगायत निर्णय गरेको भन्दै नेपाल र खनाल पक्ष आक्रोशित देखिएको छ। उनीहरूले मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गरेका छन्। ओलीले नेपाल र खनाल पक्षका नेतातर्फ संकेत गर्दै एमालेमा बसेर अराजकता मच्चाउने छुट अब कसैका लागि पनि नभएको बताएका हुन्।  ‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने रु लोकतान्त्रिक मूल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलव छैन। अहंकार स्वेच्छाचारिता। अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्। निहुँ खोजिरहेका छन्’, ओलीले भने, ‘७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। उहाँहरू भोलि राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे। राष्ट्रिय भेलाबाट के–के समानान्तर कमिटी बनाउने अरे। समानान्तर होइन अर्को कमिटी बन्ला। कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ?’ र, यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलताजस्ता कुराहरू, विधि विधानविपरीतका कामकारबाहीहरू, पार्टीको एकताविरोधी क्रियाकलापहरूमा छुट नहुने ओलीले स्पष्ट पारे।


सम्बन्धित समाचार