Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्कटल्याण्डको डन्डीमा जारी आईसीसी पुरुष विश्वकप लिग( सिरिजमा नेपालले आयोजक राष्ट्र स्कटल्याण्डविरुद्ध एक अविश्वसनीय खेल खेलेको छ। ३ सय २४ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल जितको नजिक पुगेर पनि मात्र २ रनले पराजित हुन पुग्यो। नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २१ रन मात्र बनाउन सक्यो। यद्यपि, नेपाली क्रिकेटका लागि केही कीर्तिमान भने बनेका छन्। स्कटल्याण्डविरुद्धको आइतबारको खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो सर्वाधिक ठूलो स्कोर बनाएको छ। यसअघि सन् २०२३ मा कीर्तिपुरमा ओमानविरुद्ध बनाएको ३ सय १० रनको रेकर्डलाई आज नेपालले तोड्दै ३ सय २१ रनको नयाँ रेकर्ड बनाएको हो। खेलको अन्तिमतिर आशा जगाउँदै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एकदिवसीय क्रिकेटमा सातौं विकेटका लागि नेपालकै सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाए। उनीहरूले मात्र ६५ बलको सामना गर्दै १०५ रनको विष्फोटक साझेदारी गरे। दीपेन्द्रले ५१ बलमा ५६ रन बनाए भने सोमपालले झनै आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ६७ रन जोडे। उनीहरूको यो साझेदारीले यसअघि आरिफ शेख र गुल्सन झाले बनाएको ६८ रनको रेकर्ड तोडेको छ। आइतबारको खेल जितेको भए नेपालले दुई दिनअघि मात्र स्कटल्याण्डले दिएको २ सय ९७ रनको लक्ष्य सफलतापूर्वक पछ्याएर बनाएको सर्वाधिक ठूलो लक्ष्य पछ्याएको आफ्नै रेकर्डलाई समेत तोड्ने अवसर पाउँथ्यो। तर, २ रनको झिनो अन्तरले त्यो सम्भव भएन। यो खेलले अर्को एक रोचक रेकर्ड पनि बनाएको छ। दुई टोलीबीच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रियमा बनेको यो सबैभन्दा ठूलो समग्र स्कोर हो। आज नेपाल र स्कटल्याण्डले कुल ६ सय ४४ रन जोडे, जुन यसअघि सोमबार यही शृङ्खलामा दुई टोलीले जोडेको ५ सय ९३ रनभन्दा बढी हो। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले कप्तान रिची बेरिङटनको १०२ रनको उत्कृष्ट शतक र माइकल लिस्कको तीव्र ९६ रनको मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २४ रनको विशाल योगफल तयार पारेको थियो। बेरिङटन र लिस्कबीच छैटौं विकेटका लागि भएको १२५ रनको साझेदारी पनि स्कटल्याण्डका लागि कीर्तिमानी थियो।
२०८२ असार १
ताजा नेपाल
२०८२ असार १
ताजा नेपाल
२०८२ असार १
ताजा नेपाल