Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल प्रहरी प्रमुखमा धिरजको बाजी

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिएका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी धिरजप्रताप सिंह नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणको असहमतिका बाबजुद सिंहले बाजी मारेका हुन् । वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा गृहमन्त्री थिए । तर अन्तिममा बालुवाटारकै अडानका अगाडि खाँण गलेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो । आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएका थिए । गृहमन्त्री बालकृष्ण खाँण पनि वरियताक्रम अनुसार नै आईजीपी नियुक्त गर्नुपर्ने पक्षमा थिए । तर प्रधानमन्त्री देउवाले आईजीपी नियुक्तिबारे छुट्टै परामर्श गरेका थिए । विवादका कारण ११ बजे बस्ने भनेको मन्त्रपरिषद् बैठक दिउँसो १ बजे मात्रै सुरु भएको थियो ।
दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए । तर वैकल्पिक सूचीमा परे र २०४९ चैतमा नियुक्ति लिए । ३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् ।