Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल र भारतबीच आधा दर्जन सम्झौता

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सोमबार नेपाल–भारतबीच ६ वटा समझदारी र सम्झौता भएका छन् । काठमाडौं, त्रिभुवन तथा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच शैक्षिक क्षेत्रसँग सम्बन्धित चार समझदारी र एउटा सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच संखुवासभास्थित अरुण–४ अर्ध जलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्ने सम्झौता भएको छ । नेपालको काठमाडौं विश्वविद्यालय र आईआईटीएमबीच स्नातकोत्तर तहमा संयुक्त शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । आईआईटीएमसँग सहयोगको समझदारीपछि इन्जिनियरिङ संकायमा संयुक्त रूपमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरिएको केयूका उपकुलपति भोला थापाले जानकारी दिए । उनका अनुसार केयूको स्कुल अफ इन्जिनियरिङ र आईआईटीएम मिलेर नेपालमा ऊर्जा प्रणाली विषयमा इन्जिनियरिङको कक्षा सञ्चालन गरिनेछ । यसै शैक्षिक सत्र पठनपाठन सुरु गर्न आईआईटीको टोली मंगलबारै काठमाडौं विश्वविद्यालयको भ्रमणमा आउँदै छ ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् आईसीसीआर र त्रिभुवन विश्वविद्यालयको एसियाली अध्ययन केन्द्र सिनास बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने समझदारी भएको छ । यो समझदारीले नेपाल–भारतबीचको सम्बन्धबारे अध्ययन गर्न सहयोग पुग्ने सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले बताए । अध्ययन कार्यका लागि भारतबाट अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक नेपालमा नै बसेर सहयोग गर्ने सिनासले जनाएको छ । सिनासले १९८४ देखि नै एसियाली देशहरूको अध्ययन गर्दै आएको छ । पछिल्लो पटक राजनीतिकशास्त्रका प्राध्यापक अञ्जुशरण उपाध्यायले दुई देशको सम्बन्धबारे अध्ययन गर्न अध्यक्षता गरेका थिए । समझदारीपछि फेरि सिनासको खर्चबिनै भारतीय प्राध्यापकले सहयोग गर्ने कार्कीले जनाए । त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालय र आईसीसीआरबीच बौद्ध अध्ययन गर्न डा। अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भारतको बौद्ध अध्ययन संस्कृतिको अनुसन्धान गर्न उक्त सम्झौता गरिएको बौद्ध विश्वविद्यालयका सूचना अधिकारी चन्द्रमणि पोखरेलले जानकारी दिए ।

सतलजलाई अरुण–४
नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच संखुवासभास्थित अरुण–४ अर्ध जलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्ने सम्झौता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरेका छन् ।मोदीको लुम्बिनी भ्रमणका क्रममा भएको सम्झौताअनुसार आयोजना निर्माण गर्न प्राधिकरण र सतलजको संयुक्त लगानीमा एक कम्पनी स्थापना गरिनेछ । कम्पनीमा प्राधिकरणको ४९ र सतलजको ५१ प्रतिशत सेयर स्वामित्व रहनेछ । प्राधिकरणले पाउने ४९ प्रतिशत सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित जिल्लावासी र १५ प्रतिशत देशभरका सर्वसाधारणलाई निष्कासन गरिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।