Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नौ दिनमा दुई लाखभन्दा बढी यात्रु बाहिरिए

काठमाडौं । बडादसैँ नजिकिएसँगै राजधानी काठमाडौं छाडेर आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिस दसैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन्।

नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन घर फर्किनेको सङ्ख्या बढेसँगै बसपार्कमा यात्रुको भीड देखिन थालेको छ।

नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँ बसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन्।

उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका हुन्।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा पनि चुनौती थपिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन सञ्चालन तथा यात्रु व्यवस्थापनमा समस्या भइरहेको बताए।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन अवरुद्ध भएको थियो। त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यातायात व्यवस्थापन थप प्रभावित भएको महासङ्घले जनाएको छ।

महासङ्घले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

दसैँ परिवार, आफन्त र समुदायबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस हरेक वर्ष चाडपर्व मनाउन आफ्नो घरगाउँ फर्किने गर्छन्।