Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चलचित्र ‘परदेशी– २’ को शुभमुहूर्त गरिएको छ । शुक्रवार चलचित्रका प्रमुख कलाकारहरूको उपस्थितिमा वैदिक विधिअनुसार ललितपुरको कार्यविनायक मन्दिरमा पूजाअर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो । कार्यविनायक मन्दिरमा पूजा सम्पन्न भएलगत्तै शुक्रवार नै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको थियो । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी– २’ को शुभमुहूर्त सम्पन्न गरेका हुन् । ‘गोर्खा पल्टन’देखि नै नारायण रायमाझीसँग लगातार सहकार्य गर्दै आएका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरेका अनुसार यसअघिका चलचित्रहरूको मुहूर्तपश्चात् दक्षिणकालीमा पनि यसै गरी पूजा गरिँदै आएको थियो । ‘परदेशी– २’ मुभिज डटकमको व्यानरमा निर्माण हुने चौथो चलचित्र हो । यसअघि यस व्यानरमा ‘कोही मेरो’, गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण भइसकेका छन् । ‘परदेशी’ चलचित्र निर्माण गरिसकेपछि परदेशका अरू धेरै कथा–व्यथा पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छट्पटी भइरहेको बताउँदै ‘परदेशी– २’ यस्तै धेरै कथाहरूमध्येको एक कथा भएको कुरा चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी गराए ।
‘हामीले सुरुदेखि नै चलचित्र समाजको दर्पण हो भन्दै आएका हौँ र सकारात्मक परिवर्तनका लागि सन्देशमूलक चलचित्र निर्माण गरिरहेका छौँ’– रायमाझी भन्छन् । उनका अनुसार ‘परदेशी– २’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो । नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपना बोकेर परदेसिएका तमाम नेपाली युवा र उनीहरूको सङ्घर्षमय जीवनको कथा हो । बाध्यता या रहरले विदेसिएका युवा र तिनका अभिभावकहरूले देखेको मीठो सपना अनि वास्तविक भोगाइ र कठिनाइहरूको यथार्थ कथा हो । अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली–ओराली र सिङ्गो देशको यादले सताएको कथा हो । नारायण रायमाझीद्वारा निर्देशित पहिलो चलचित्र ‘गोर्खा पल्टन’मा लाहुरे परिवारको वैभवताभित्रको कहालीलाग्दा पीडाहरूलाई यथार्थरूपमा उजागर पारिएको थियो । जसको कथावस्तु र प्रस्तुति त सशक्त थियो नै, सङ्गीत पक्ष पनि सबल रहेकाले चलचित्र ऐतिहासिक रूपमा सफल भएको थियो । चलचित्रको लोकप्रियता यसरी चुलियो कि चालू रहेका हलले दर्शकको मागलाई धान्न नसकेपछि धेरै ठाउँमा वर्षौंदेखि बन्द रहेका सिनेमा हल पुनः सञ्चालनमा आएका थिए भने मुस्किलले १–२ शो मात्र चलिरहेका कतिपय हलमा चार शोसम्म चलेको थियो । यसै गरी रायमाझीको दोस्रो चलचित्र ‘परदेशी’ले भारतीय नाकाबन्दीका बाबजुद, अझ भनौँ अधिकांश नेपालीको चुलोमा आगो बल्न बन्द भएको अवस्थामा पनि अकल्पनीय सफलता हासिल गरेको थियो ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल