Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणा देउवा नयाँ दिल्लीबाट सोमबार स्वदेश फर्किने भएकी छन् । अपोलो अस्पतालमा नियमित स्वास्थ्य जाँच गरेकाले आइतबारसम्म रिपोर्टका लागि प्रतीक्षा गर्नुपर्ने हुँदा सोमबार मात्र फर्किने तयारी रहेको उनीनिकट स्रोतले बताएको छ । नयाँ दिल्लीको म्याक्स हस्पिटलमा १४ चैत २०७४ मा आरजुको हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया गरिएको थियो । त्यसैले दिल्ली आउँदा आरजुले स्वास्थ्य जाँच गराउने गरेको उनी निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणबाट फर्किएलगत्तै आरजु नेदरल्याण्ड्सको हेग गएकी थिइन् । त्यहाँ उनी जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरुको दायित्वबारे ९० देशको कार्यक्रममा सहभागी भएकी थिइन् । फर्किँदा उनी सिधै काठमाडौं नगइ दिल्ली आइन् । दिल्लीमा उनले शुक्रबार नेपाल भारत आर्थिक सम्मेलनलाई समेत सम्बोधन गरिन् । सम्मेलनमा उनले भारतका निजी क्षेत्र र व्यवसायीलाई नेपालमा लगानी गर्न अनुरोध गरिन् । उनले नेपालको लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा साथ दिन भारतका निजी वायुसेवा प्रदायक कम्पनीलाई पनि आग्रह गरिन् । दिल्लीमा रहँदा उनले राजनीतिक भेटघाट समेत गर्नसक्ने अनुमान गरिए पनि हालसम्म त्यस्तो भेटको कुनै कार्यतालिका नरहेको दिल्लीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि, उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई भने भेट्ने उनी निकट स्रोतले बताएको छ । पहिले देउवाले रक्षा बन्धनको अवसर पारेर उनलाई राखी समेत बाँधिदिएकी थिइन् । भारतका विदेशमन्त्री एस जयशंकरलाई नेपाल(भारत आर्थिक सम्मेलनमा निमन्त्रणा गरिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबारदेखि सुरु कुवेत लगायतका खाडी मुलुकको भ्रमणका कारण उनको उपस्थितिबारे सकारात्मक जवाफ आएन । टाइम्स अफ इण्डियाका अनुसार, भारतबाट ४३ वर्षपछि प्रधानमन्त्री स्तरमा खाडी मुलुकमा भ्रमण भएको हो । ‘यस्तोमा अरु राजनीतिक भेटघाटको अवस्था पनि थिएन र चार महिना पहिले मात्र उच्चस्तरमा कुराकानी भएकाले फेरि भेटघाटका लागि थप औपचारिक एजेण्डाका विषय पनि थिएनन्’, एक अधिकारीले भने । परराष्ट्रमन्त्री देउवालाई आर्थिक सम्मेलनमा पुगेका सञ्चारकर्मीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमणबारे समेत प्रश्न सोधेका थिए । उनले ‘भारतबाट निमन्त्रणा आएलगत्तै भ्रमण’ हुने औपचारिक प्रतिक्रिया दिएकी थिइन् ।
२०८१ पुष ८
ताजा नेपाल
२०८१ पुष ८
ताजा नेपाल
२०८१ पुष ८
ताजा नेपाल