Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने चीन भ्रमणमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा बेइजिङ जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र उनका चिनियाँ समकक्षीबीच नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य तथा साझा हितका विषयमा उच्चस्तरीय वार्ता हुनेछ।

वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार, पूर्वाधार, कनेक्टिभिटी तथा अन्य आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ। साथै, समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि वार्ताको एजेन्डामा रहनेछन्।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग समेत शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यस भ्रमणलाई नेपाल–चीन सम्बन्ध, बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) कार्यान्वयन, व्यापार सन्तुलन, कनेक्टिभिटी विस्तार तथा नेपालको कूटनीतिक सन्तुलनका दृष्टिले महत्वपूर्ण मानिएको छ।

चीन भ्रमणका क्रममा मन्त्री खनालले लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रम तथा इन्भेष्टमेन्ट कन्फरेन्समा पनि सहभागिता जनाउनेछन्। सो अवसरमा उनले चिनियाँ व्यवसायी तथा लगानीकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असार ३ गते स्वदेश फर्किनेछन्।

उल्लेखनीय छ, मन्त्री खनालले यसअघि जेठ २२ देखि २४ गतेसम्म भारत को औपचारिक भ्रमण गरेका थिए।