Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पराई भन्दा आफ्नैका डर

काठमाडौं । स्थानीय तह निर्वाचनका बेला पाँचदलीय गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र चर्को विरोधको सामना गर्नुपर्‍यो। संस्थापन इतरका नेता शेखर कोइला पक्ष गठबन्धन गरेर चुनावमा जाने देउवाको निर्णयलाई पार्टीहितविपरित भनिरहे। यो निर्णयका कारण कांग्रेसको संगठन नै भताभुङ हुने आरोप यो पक्षको थियो। देउवाले मानेनन्। आफ्नो निर्णयमा दृढ उनले गठबन्धन गरेर स्थानीय चुनावमा जाने त्यो निर्णयलाई केन्द्रीय समितिको बैठकबाट अनुमनोदन गर्न लगाए।
स्थानीय तह निर्वाचनको ८ महिनापछि मंसिर ४ गते आम निर्वाचन हुँदैछ। प्रतिनिधिसभा र प्रदेससभा सदस्यका लागि हुन लागेको यो निर्वाचनमा पनि गठबन्धन दलहरू तालमेल गरेर अगाडि बढिसकेका छन्। फरक के छ भने स्थानीय तह निर्वाचनमा गठबन्धनको विरोध गरिरहेका कांग्रेस नेताहरू अहिले मौन छन्। देउवाको विरोधमा उत्रिएका छैनन्। बरू गठबन्धनका उम्मेदवारहरूलाई जिताउन ‘दुहाइ’ दिइरहेका छन्। पार्टीकै नेता–कार्यकर्ताबाट त्यतिबेला गठबन्धनको विरोध भइरहँदा हरेकजसो कार्यक्रममा देउवाले भन्ने गरेका थिए– गठबन्धनलाई चिढाउने काम नगर्नुस्।
यतिबेला देउवालाई पार्टीका नेता–कार्यकर्ताको त्यो विरोधको सामना त गर्नु परिरहेको छैन। तर, एकखाले ‘डर’ उनको मनमा देखिएको छ। त्यो हो–चुनावका बेला हुनसक्ने धोका। अन्तर्घात। देउवाको त्यो भयलाई प्रष्ट्याउँदै गइरहेको छ केही दिनयताका उनीबाट व्यक्त भएका अभिव्यक्तिहरूले। प्रायः कम बोल्ने देउवाको स्वभाव छ। सार्वजनिक कार्यक्रमहरूमा पनि अरू नेताहरू जस्तो लामो भाषण देउवाले गर्दैनन्। मंसिर ४ गते हुने निर्वाचनलक्षित कार्यक्रमहरूमा उनी निरन्तर भाग लिइरहेका छन्। ती कार्यक्रमहरूमा पनि उनको सम्बोधन छोटो नै हुने गरेको छ।
तर, आफ्ना ती छोटा भाषणहरूमा देउवाले कार्यकर्ताहरूलाई निर्देशन दिइरहन्छन्– गठबन्धनका उम्मेदवारलाई जसरी पनि जिताउनुस्। गठबन्धन नजिते संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि खतरा पुग्ने डर कार्यकर्ताहरूलाई दखाइरहेका छन्, देउवाले। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा भंग गरेपछि पाँचदलीय गठबन्धनको उदयभयो। ओलीको त्यो कदमलाई ‘प्रतिगमन’ भनेर कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा गोलबन्द भए।
‘ओली–कदम’ संघीयता र संविधानमाथिको आक्रमण भनेको जसपा अहिले पाँचदलीय गठबन्धनबाट बाहिरिएर एमाले कित्तामा पुगिसकेको छ। प्रतिनिधिसभा र प्रदेससभामा केही सिट बढी लिएर। त्यतिबेला प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ ठहर गरेको जसपा अहिले एमालेसँग गठबन्धन गरेपछि ओलीको त्यो कदम सचिएको हो भनेर कतिपयले प्रश्न गरिरहेका छन्।
केही दिन अघिसम्म एउटै गठबन्धनमा रहेको जसपाको नजरमा दुई वर्षअघि भएको ‘प्रतिगमन’ सचिएको हो भने देउवा र प्रचण्डहरूका लागि कसरी ज्यूँकात्यूँ छ ? कांग्रेस सभापति देउवा भने ठूलो लडाइँपछि प्राप्त भएको संघीयता, गणतन्त्र, संविधान, समावेशीताजस्ता महत्वपूर्ण उपलब्धिहरू समाप्त पार्ने प्रयास अझै भइरहेको बताउँछन्। यो प्रयास कसले गरिरहेको छ भनेर उनले भनेका छैनन्। तर, यी उपलब्धिहरू जोगाउनकै लागि गठबन्धन अपरिहार्य रहेको भनेर नेता–कार्यकर्ताहरूलाई सम्झाउने प्रयास गरिरहेका छन्।
गठबन्धन गरेर चुनावमा जाने निर्णयलाई लिएर पार्टीभित्र विरोधको सामना गर्न नपरे पनि कतिपय ठाउँमा कांग्रसकै बागीहरू आधिकारी उम्मेदवारविरूद्ध मैदानमा उत्रिएका छन्। गठबन्धनभित्र सिटबाँडफाँटलाई लिएर असन्तुष्ट भएका कैयौं कांग्रेस नेताहरूले आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएका छन्।
त्यस्ता ‘विद्रोही’ हरूलाई उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसले दुई–दुईपटक अपिल गरिसकेको छ। केहीले उम्मेदवारी फिर्ता लिएका छन्। केहीले निष्क्रिय पारेका छन्। तर, चुनावकै मैदानमा रहेका ‘विद्रोही’ उम्मेदवारका कारण गठबन्धनका आधिकारिक उम्मेदवारले पराजय भोग्नसक्ने डर देउवालाई देखिएको छ।
त्यो डर देउवालाई मात्रै नभएर गठबन्धनका दोस्रो सबैभन्दा ठूलो घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा पनि छ। त्यसैले दुवै नेता गठबन्धनका तर्फबाट आयोजना भइरहेका चुनावी कार्यक्रमहरूमा निरन्तर भनिरहेका छन्– गठबन्धनका उम्मेदवार नजिते हामी सबैको हार हुनेछ। यहाँसम्म कि विचार र सिद्धान्तका आधारमा चुम्बकको ‘दक्षिण र उत्तर धु्रव’ समान दुवै पार्टीका शीर्ष नेताहरू ‘आफूहरू एक भइसकेको’ ढाढ्स कार्यकर्ताहरूलाई बाँडिरहेका छन्।
सिट बाँडफाँट र पार्टीका विचारप्रति कटिबद्ध कार्यकर्ता तथा मतदाताहरूको भोट गठबन्धनको पक्षमा नआउने हो भन्ने ‘डर’ देउवा र प्रचण्ड दुवै नेतालाई भएको छ। र, त शुक्रबार गठबन्धनले पोखरामा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिँदै देउवाले भने,‘गठबन्धनका सबै शीर्ष नेताहरू मिलिसकेका छौं। तपाईंहरू तल झन् बढी मिल्नुस्। हिजोको कुरा गरेर केही हुनेवाला छैन। गठबन्धनका उम्मेदवारलाई जिताउनुस्।’
यहाँसम्म कि चुनावपछि गठबन्धनकै सरकार बन्ने र त्यसपछि प्रधानमन्त्री बन्ने पालो सबैको आउने भनेर कार्यकर्ताहरूलाई फकाइरहेका छन् गठबन्धनका शीर्ष नेताहरूले। ‘हिजोको कुरा सम्झिएर केही हुनेवाला छैन। गठबन्धन बन्दै गए सबैको पालो आउँछ,’ देउवाले भने,‘आज देउवा प्रधानमन्त्री छ, भोलि प्रचण्ड, माधवजी हुनुहोला। हिजोको कुरा गरेर काम छैन।’ देउवाकै शब्दमा – कुनै एक दलको बहुमत आउने अवस्था छैन। त्यसैले गठबन्धन जरूरी छ।
त्यसो भए व्यवस्थाको रक्षा र ‘प्रतिगमन’ अन्त्यका लागि गठबन्धन बनेको हो वा एमालेलाई रोकेर फेरि सरकारको नेतृत्वसम्म पुग्नरु कतिपयले प्रश्न गर्न थालेका छन्। देउवा भने संविधान, संघीयता, समावेशीता बचाउनकै लागि गठबन्धन बनेको र यो आवश्यक रहेको दाबी गर्छन्। र, राजवादीहरू आफूलाई राष्ट्रवादी भनेर गठबन्धनको विरोध गरिरहेको बताए। ‘अहिले भन्न थालिसके, राजावादी तागत नै राष्ट्रवादी हो भन्न थालिसके। हद हुन्छ नि१ हामी को अर्राष्ट्रिय छौं यहाँरु राजावादी नै राष्ट्रवादी भन्ने होइन। असली मानेमा राष्ट्रवादी पनि हामी हौं। प्रजातन्त्रवादी पनि हामी हौं,’ उनले भने,‘त्यसैले जय नेपाल पनि हामी हौं, अभिवादन पनि हामी हौं।’
देउवाको संकेत राप्रपासँग चुनावी तालमेल गरेको एमालेतर्फ थियो। चुनावको सम्भावित परिणामलाई लिएर देउवाभन्दा कम डर प्रचण्डलाई पनि छैन। कांग्रेसका मतदाताहरूले ‘हँसिया हथौडामा कसरी भोट दिने’ भनिरहेको विषयले प्रचण्डमा डर देखिएको छ। त्यसैले कांग्रेसका त्यस्ता मतदाताहरूलाई १२ बुँदे समझदारी गरेकै बेला आफूहरू एक भइसकेको उनले भन्न थालेका छन्। ‘गिरिजाबाबु र आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेकै बेला रूख र हँसिया हथौडा एक भइसकेको बिर्सन हुँदैन’ भनेर कांग्रेस कार्यकर्ताहरूलाई स्मरण गराइरहेका छन्, प्रचण्ड। हँसिया हथौडामा भोट हाल्न हात नकमाउन आग्रह गर्दै गणतन्त्रलगायतका उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन उनी निरन्तर मतदाताहरूलाई अनुरोध गरिरहेका छन्। यहाँसम्म कि चुनाव सकेर प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन ररिहरने नेता–कार्यकर्तालाई उनले भनिरहेका छन्।
‘चुनाव सकिएपछि गठबन्धन सकिन्छ भनेर हामी कसैले नसोचौं, अनि मेरो पार्टीलाई जिताउँछु अरू जेसुकै गरून् भन्ने नसोचौं,’ शुक्रबार बुटवलमा गठबन्धनको कार्यक्रममा प्रचण्डले भने,‘त्यसरी सोच्यो भने आत्मघाती हुनेवाला छ। हामी एउटै डुंगामा छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौं।’