Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं । पाँच दलीय उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ। स्थानीय तहको निर्वाचन मितिलगायतका विषयमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बिहीबार बस्ने तय भए पनि तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको थियो। समन्वय समितिको बैठक स्थगित भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो। तीन नेताबीचको छलफलपछि शुक्रबार बैठक बस्ने तय भएको हो। यसअघि समन्वय समितिको बैठक मंगलबार पनि बसेको थियो। मंगलबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गरेका थिए।
निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। आयोगले सर्वदलीय बैठक बोलाएर वैशाख १४ वा २२ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचनको मिति घोषणापछि तयारीका लागि कम्तिमा १२० दिन चाहिने आयोगले बताएको छ। आयोगले सुझाव दिए पनि सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन।