Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी नेतृत्वको माओवादीमा चर्को आलोचना

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री निवास ‘सामन्तवादको केन्द्र’ भएको भन्दै केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री दाहाल र सत्तामा गएका नेताहरू परिवारवादमा फसेको आरोप लगाएका छन् । उनीहरूले पार्टी प्रणाली ध्वस्त भएको र नेतृत्वको निजी स्वार्थले संगठन लथालिंग भएको बताए । राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार सुरु बैठकमा बोल्ने १८ केन्द्रीय सदस्यमध्ये आधाले दाहालसहित नेतृत्वमा रहेका नेताहरूको खुलेर आलोचना गरे । उनीहरूले पार्टी सुधार हुन अध्यक्ष दाहालबाटै सुरुवात हुनुपर्ने मागसमेत राखे । दाहालको राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि टिप्पणी गर्ने क्रममा सदस्यहरूले मूल नेतृत्वको खुलेर आलोचना गरेका हुन् । केन्द्रीय सदस्य लक्ष्मण पन्तले मुलुकमा राजतन्त्रको अन्त्य भई संघीय गणतन्त्र स्थापना भएपछि प्रधानमन्त्री निवास बालुवाटार सामन्तवादको किल्ला बनेको तर्क गरे । उनले सत्तामा गएका नेतालाई ‘डिलिङ’ मा सजिलो हुने भएकाले आफन्तलाई निजी सहायक नियुक्त गरेको बताए । अध्यक्ष दाहालको सांगठनिक प्रस्तावमाथि टिप्पणी गर्दै अर्का केन्द्रीय सदस्य गोविन्द रोकायले माओवादीमा उमेर हद तोक्नुपर्ने माग गरे । बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेता चयन हुने अवस्था नभएसम्म पार्टीको अवस्था सुधार नहुने उनले ठोकुवा गरे । शान्ति प्रक्रियामा आएपछि लाभको पदमा बसेका नेताहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नॅपर्ने मागसमेत बैठकमा उठ्यो । केन्द्रीय सदस्य कृष्ण केसीले नेताहरू अपारदर्शी भएकाले जीवनशैली पारदर्शी हुनुपर्ने माग गरे । रोकायले नेताको सम्पत्ति राज्यका निकायले छानबिन गर्नॅपर्ने माग गरे । माओवादीले सरकारको नेतृत्व गर्दासमेत शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेको विषयले पनि बैठकमा प्रवेश पाएको छ । अध्यक्ष दाहालले बैठकको सुरुमा जीवनको उत्तरार्द्धमा सरकार र पार्टीको नेतृत्वमा रहेर राम्रो काम गर्न पूरा शक्ति लगाउने बताएका थिए । बैठकमा पार्टी नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने जोडदार माग उठेको छ । केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले अन्धभक्त र आलोचनाका लागि आलोचना गर्ने व्यक्तिबाट पार्टी नबन्ने तर्क गरे ।राजनीतिक प्रतिवेदनमा दाहालले पार्टी बन्न नसकेको स्वीकार गरेको उल्लेख गर्दै ओम शर्माले निर्मम समीक्षा नभए पार्टीको अस्तित्व नै नरहने बताए । महिला केन्द्रीय सदस्यहरूले भने पार्टीका सबै निकायमा महिलालाई बेवास्ता गरिएको गुनासो राखे ।