Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलहरू चुनावी तयारीमा जुटेका छन् । निर्वाचन आयोगले औपचारिक चुनावी कार्यक्रम फागुन ४ गतेपछि मात्रै गर्न पाउने व्यवस्था गरे पनि दलहरू मतदाता भेटघाट, आन्तरिक भेला र छलफलमा सक्रिय छन् । यसैक्रममा नेकपा एमाले सिन्धुपाल्चोक–१ ले शहीदभूमि पिस्करबाट औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेको छ । शहीद दिवस तथा ४२औँ पिस्कर स्मृति दिवसको अवसरमा पिस्करस्थित शहीद पार्कमा आयोजित सम्मान कार्यक्रमलाई एमालेले चुनावी अभियानसँग जोड्दै कार्यक्रम सम्पन्न गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचन परिचालन कमिटी संयोजक कमल नेपालका अनुसार पवित्र शहीदभूमिबाट अभियान सुरु गर्नु ऐतिहासिक र प्रतीकात्मक सन्देश हो । ‘२०५१ पछि हराएको एमालेको विरासत यो क्षेत्रमा पुनः फर्काउने संकल्पसहित हामी चुनावी मैदानमा उत्रिएका छौं, नेपालले भने । कार्यक्रममा एमालेका पुराना तथा नयाँ नेता–कार्यकर्ता उल्लेख्य संख्यामा सहभागी भएका थिए, २०४८ को पहिलो आम निर्वाचनका उम्मेदवार तथा पूर्व सांसद अमृतकुमार बोहरा, २०६४ र २०७० का संविधानसभा उम्मेदवार अरुण नेपाल तथा वर्तमान उम्मेदवार सरेश नेपाललगायतका नेता पिस्करमा उपस्थित भई यसपटक क्षेत्र नम्बर १ मा एमालेको जित सुनिश्चित गर्ने संकल्प गरेका थिए । एमालेले यो क्षेत्रबाट २०४८ र २०५१ मा जित हात पारेको थियो । तर २०५६ पछि लगातार पराजय बेहोर्दै आएको छ । २०६४ मा अरुण नेपाल पराजित भए भने २०७० मा उनी ३२ मतले मात्रै पराजित भएका थिए । २०७४ मा बाम गठबन्धन हुँदा माओवादी केन्द्रका अग्नि प्रसाद सापकोटाले जिते पनि एमाले एक्लैले २०५१ पछि यो क्षेत्र जित्न सकेको छैन । यो पटक हामी २०५६ पछि सुरु भएको हारको श्रृंखला तोड्छौं, उम्मेदवार सरेश नेपालले भने, यो निर्वाचन व्यक्तिको मात्र होइन, सिंगो पार्टीको प्रतिष्ठासँग जोडिएको छ। एमाले नेता अमृतकुमार बोहराले पार्टीभित्र केही असन्तुष्टि भए पनि अहिले एक ढिक्का भएर चुनावमा लाग्न आग्रह गरे। ‘असन्तुष्टि भए चुनावपछि समीक्षा गरौंला, अहिले जित हाम्रो मुख्य लक्ष्य हो, उनले भने। पूर्व पोलिटब्युरो सदस्य अरुण नेपालले पनि पार्टीभित्रका समस्या समाधान गर्न सकिने भए पनि अहिले सबै नेता–कार्यकर्ता चुनावमा केन्द्रित हुनुपर्ने धारणा राखे।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल