Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वप्रधानमन्त्री देउवा बिहीबार नेपाल फर्किँदै, राष्ट्रिय भेलामा सहभागी हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका क्रममा हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका छन्। उनी अब बैंककबाटै आगामी बिहीबार नेपाल फर्किने भएका छन्।

देउवा निकट नेताहरूका अनुसार उनी शुक्रबार हङकङबाट बैंकक पुगेका हुन्। यसअघि साउन २६ गते नेपाल फर्किने कार्यक्रम तय भए पनि बैंकक गएपछि उनको स्वदेश फर्किने समय दुई दिन पर सरेको हो।

देउवा साउन २८ गते बिहीबार थाइ एयरवेजको विमानमार्फत काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ। उनी बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

यसैबीच, कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलामा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ता काठमाडौं आउने क्रम सुरु भएको छ। देउवा पनि राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा काठमाडौं फर्किने भएकाले विमानस्थलमै उनको स्वागत गर्ने तयारी गरिएको नेताहरूले बताएका छन्।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुनुका साथै देउवा दम्पतीमाथि समेत आक्रमण भएको थियो। त्यसपछि केही समय नेपालमै उपचार गराएपछि थप उपचारका लागि उनीहरू सिंगापुर गएका थिए।

उपचारपछि नेपाल फर्किएका देउवा फलोअपका लागि गत फागुन १३ गते पुनः सिंगापुर गएका थिए। पछि थप उपचारका लागि पत्नी आरजु राणा देउवासँगै हङकङ पुगेका उनी लामो समय त्यहाँ बसेपछि शुक्रबार बैंकक पुगेका हुन्।

देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसभित्रको आन्तरिक विवाद, सर्वोच्च अदालतमा विचाराधीन पार्टी आधिकारिकता विवाद तथा संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई लिएर राजनीतिक गतिविधि थप तीव्र हुने देखिएको छ।


सम्बन्धित समाचार