Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पृथ्वीनारायण शाहको अर्ति (उपदेश)

  • योगि नरहरिनाथ

पृथ्वीका अर्ति = दिव्य उपदेशमा पृथ्वीका जीवनचरित्रको सिंहावलोकन र राष्ट्रको भावी कार्यक्रम छ । सदाचारमय, तपोमय, संघर्षमय, निर्माणमय, प्रगतिमय, एकतामय, आदर्शमय पृथ्वी जीवनका विशिष्ट घटनाहरूको संक्षिप्त उल्लेख गोरखावंशावली गोरखाधीश सैन्यवर्णन गोरखा सैनिक इतिहास भक्तविजय, विजयतिलक, कवितानिक षोपल, पृथ्वीन्द्रवर्णनोदय, पृथ्वीनारायण, दिग्विजय, पृथ्वीप्रताप संवाद, जयरत्नाकर, त्रिरत्न सौन्दर्यगाथा, राजनीति–कल्पद्रुम राजविधानसार संस्कृतसन्देश (१८ अंक) इतिहासप्रकाश (४ भाग) गोरखा मनकामना ताम्रपत्र, नुवाकोट भैरवीताम्रपत्र, कनकपत्रहरू नुवाकोट दुर्गद्वार शिलालेख, नुवाकोट माडिदरवार शिलालेख, वसन्तपुर नौतले राजप्रासादका दुइटा शिलालेख, चक्रपाणि लिखित ज्योतिष पुस्तक, प्रभृति अनेक कोरी पुस्तक, कनकताम्र शिलालेखहरूमा पनि छ र यस्ता अनेकन ऐतिहासिक ग्रन्थआदिको अनेक कारणवाट नाश भयो । शेषको पनि क्रमशः हुँदैछ । यस्ता राष्ट्रिय सम्पत्तिको सुरक्षा र सदुपयोग सबैले गर्नुपर्छ । तिष्टा, काङ्गडा, गङ्गा, दिगर्चासम्मका विशाल हिमाली गोर्खा राष्ट्रको उत्थान गर्ने ५२ वर्षका कर्मठ जीवनका ३२ वर्षका राज्यशासन र ३० वर्ष पृथ्वीको परिचयका विजय कालमा स्वयं अनुभव गरेका र एकाग्र चित्तले सम्भावना गरेका कतिपय अर्तिका कुरा ‘बुढा मरै. भाषा सरै. भनि भन्छन्, तिमिहरू सबै छेऊ सुनाइ गयाको भया. तम्रा सन्तानलाइ, सुनाउनं र. यो राजे थामि षानन्’ भन्ने उत्थानिका उठायेर पृथ्वी सबैमा सारी गयेका छन् । यस्ता दिव्य विचारधाराहरू पृथ्वीका हृदयबाट समय समयमा फुटेका छन् र श्रोताहरूले लेखि राखेका कतिपय फेला परेका क्रमशः प्रकाशमा आउने छन् । नेपाल जितेर दशै मान्न गयेका बेलामा गोर्खा मूलराजधानीमा बाँधेको धुवाँविर्ताको स्थिति तथा देवीघाटमा प्राणप्रयाणका समयमा दियेको मर्मस्पर्शी करुण अनुकरणीय र स्मरणीय दिव्य अर्ति आदि अनेक प्राप्त एवं अनुसन्धेय छन् ।

पुस्तकपरिचयः–त्रिशूलीघाट आउनु भन्दा अगाडि नुवाकोटमा भीष्मशय्याबाट क्रमशः शनैः शनैः जीवनका प्रमुख घटनाहरूको स्मृति लियेर भनेका अर्तिका कुरा सभासद्हरूमध्ये धेरैले जस्ताको तस्तो टिपि राखेका थिये । कसैले घटमा कसैले कागतमा । तिनमध्ये गोरखाली वडा वीर शिवरामसिंह वस्न्यातका सुपुत्र सुमति काजी अभिमानसिंह बस्न्यातले लेखि राखेको पाण्डुलिपि पुस्तक निजका सन्तान श्यामकाजी (वखतमानसिंह) वस्न्यातका घरमा सुरक्षित छ । यस पुस्तिकामा बलीयो नवाकोटी कागत छ । १० दश पृष्ठ छन् । पौने ११ एधार इञ्चि लम्बाइ छ । साडे ८ आठ इञ्चि चौडाइ छ । तल १ एक इश्चि चाकलो । १ १÷२ डेड इञ्चि लामु टुक्रा मुसाले काटेको छ । तर विशेष गरी अक्षर भेटन पायेको छैन । पुस्तक अर्धजीर्ण अवस्थामा छ । कालो पाको मसी छ । पुराना नागराक्षर छन् । विरामसूचक (ं) यस्ता बिन्दुहरू छन् । अनुनासिकसूचक यस्ता (ं ं) दुइटा ठाडा बिन्दु छन् । प्रसङ्ग समाप्तिसूचक (।।) यस्ता दुइ छेका छन् । (उप्रान्त ।।) भनेर नौलो धारा उठाइयेको छ । लेखता प्रत्येक धारा प्रघट्टक (पैरा) छुट्याइ लेखियेका छैनन् ता पनि छापता सबलाइ संझन सजिलो होस भनेर पृथक पृथक प्रसङ्गका कण्डिकाहरू छुटयायेर छापियेका छन् । अरु मूल जस्ताको तस्तो छापियेको छ । मुखपत्रमा आदि अन्त मध्यका र पृथ्वीको चित्र छापियेका छन् । आदि अन्तमा एक एक मड्यायका २ पत्रे आवरण पत्र लेखरक्षार्थ खाली छन् । मुखपत्रमा ‘श्रीगणेसाय नमः श्री श्री श्री पृथिनारान्सहाको किताप होः ।। स्वस्ति सर्वोपमायोग्येत्यादिसकलगुणगरिष्टराजभारासामर्थ’ यत्ति लेखियेको छ । अन्तिम पत्रमा ।। ‘श्रीगणेसाय नमः ।। ।। इस्वरौवाच ।। श्रीकालिका सहायः ।। ।। यस्तो लेखियेको छ ।

पुरुषविद्यानित्यत्वात् । भाषा परिवर्तनशील हुनाले र तेस बेलाको परिभाषामय संक्षिप्त वीरभाषा आज दुरूह भै सकेको हुनाले जनसाधारणलाइ सुबोध होस् भनेर अन्तमा अनुवाद पनि प्रकाशित गरियेको छ । तर समस्त धर्मनीतिशास्त्रहरूको सारस्वरूप पृथ्वीको अर्ति केवल अनुवादमात्रले बुझ्नु सजिलो छैन । शब्दार्थमात्र बुझेर पनि काम लाग्दैन । देश काल पात्र हेरीकन कुन ठाउँमा कुन शब्दले कुन प्राशय प्रकट गरेको छ ? त्यो कुरा पृथ्वीकै भूमिकामा नवसेर हृदयङ्गम गर्न सकिन्न । धेरै कुरामा धेरै जनालाइ ‘यसो किन भने होलान् ?’ भन्ने पनि पर्दो हो । परन्तु–आपातालनिमग्नपीवरवपुर्जानाति मन्थाचलः।
पृथ्वीका अर्तिमा प्राधान्येन–अवतरणिका । उद्देश्य । उत्थानिका । रूपक । सन्धि । रोज खोज = चुनाव । हातेमालो । पृष्ठरक्षा । वरप्राप्ति । प्रयाण । प्रथम जय । पाष्र्णिशुद्धि । परराष्ट्र नीति । युद्धनीति । गृहनीति । शैलद्गे । स्थितिरीति । ३ सहर । व्यापारनीति । कुटीरउद्योग । जनधन । कर्मचारिनीति । राष्ट्रियता । नियुक्ति । न्यायस्वरूप । सैनिकनीति । जनसैनिकराजसम्पर्क । राजाज्ञा । मौलभृत्य । मुद्रानीति । न्यायव्यवस्था । खनिजविकाश । कृषिविकाश । सिंहावलोकन । मुगलदमन । फिरङ्गिदमन । इतिहास । सैन्य विन्यास । राष्ट्ररक्षा । इत्यादि सभ्य समृद्ध राष्ट्रलाइ चाहिने कुराको सूत्ररूपमा उपदेश छ ।
पृथ्वीलाइ आफ्ना राष्ट्रको भौगोलिक स्थितिको यथावत् परिचय थियो । दुइ ढुङ्गाको तरुल भनेर लघु रूपकमा महत्वपूर्ण निर्देश गरेका छन् । पृथ्वीले आफ्ना इतिहासको सिंहावलोकन र सारोद्धार पनि गरी उपयोग गरेका थिये । मगरातको राजा मै हुँ. भनेर इङ्गित गरेका छन् । पृथ्वीलाइ देशानुकूल युद्धमा ठूलो अनुभव थियो ।

जाइकटक न गर्नु. झिकिकटक गर्नु भनेर सामरिक हानि लाभ दर्शायेका छन् । पृथ्वीले देश जनतालाइ धनधान्यसमृद्ध बनाइ राखने स्वानुरूप उपाय जानेका थिये र सर्वे भवन्तु सुखिनः भन्ने उदार भावना राखेका थिये । गोढप्रसाह देखि उभो आउन न दिनु. नमना देषाइ सधाउनु, षानि चलाउनु, अवाद गर्नु, राजाका भण्डार भन्याका रैतिहरू हुन्, प्रजा मोटा भया दरवार बलीयो रहन्छ, इत्यादि वाक्यहरू तेस वातका निदर्शन छन् । मालमा ५ पाथीको भाव छदैछ । पृथ्वीले आफ्नै जीवनमा माथिका पद्धतिले गोर्खा राष्ट्रलाइ सामथ्र्यशाली बनाइ सकेका थिये । फत्य गथ्र्या र, यो ऐश्वर्य ग¥याको हो. भनेर प्रत्यक्ष दर्शायेका छन् । भ्रष्टाचारी कर्मचारीका आडमा परचक्रीले खुट्टा टेकछन् । हरिपले दगा गर्छ । भनेर पृथ्वी न्यायपालिका र कार्यपालिकाको नियुक्ति ठुलो विवेक राखेर गर्थे । घुस दिन्या र घुस खान्या. इन दुइको ता धन जिउ गरि लियाको पनि पाप छैन. दुनिया जस देषि राजि रहन्छन्, उसैलाइ कजाइ दिनु. इत्यादि वाक्य तेस कुराका साक्षी छन् र पानमक्षाः स्त्रियो द्यूतं…. ’ अष्टौ दोषान् विवर्जयेत् । भन्ने पृथ्वीको सिद्धान्त थियो राजानः सन्ति नो कि दिशि दिशि धरणीपालवंशाब्धिजाता द्यूतस्वापाबलासु प्रणिहितमनसो दानयुद्धप्रहीणाः । पृथ्वीनारायणेशो रिपु.दव–दहन–प्रौढ–दावानलोसौ दाने मेधोपमानो जयति निज–धरा–वारित–द्यूत–दोषः ।। इत्यादि अभिलेख प्रमाण छन् । पृथ्वीमा जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । भन्ने सच्चा मातृभक्ति र मातृभूमिभक्ति थियो, फलस्वरूप मातृमातुलशिक्षाले पृथ्वीलाइ पृथ्वीनारायण बनायो । पृथ्वीनारायण र मानदेवका जीवनचरित्रमा आमाको र मामाको योगदान छ । संसारका प्रायः सबै जसो महान् व्यक्तिहरू मातृशिक्षाले फष्टायेका छन् । तेसैले मातृशिक्षा मातृभाषा मातृभूमिहरू ले गौरव पायेका हुन् । आपको कमाइ र बापकी कमाइमा अन्तर हुन्छ । पृथ्वीले गरेका राष्ट्रिय एकतामा पृथ्वीको ठुलो ममत्व थियो र. श्रात्मा वै पुत्रनामासि स जीव शरदः शतम्–भनेर राष्ट्रका सच्चा प्रतिनिधि सवै जनालाइ सम्बोधित गरेर–बुढा मरै. भाषा सरै. भनि भन्छन्. तिमिहरू सवै छेउ सुनाइ गयाको भया. तम्रा सन्तान लाइ. सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाइ सुनाउनन् यो राजे थामि षानन्. भनेर दिव्य उपदेशको पृष्ठभूमि रचेका छन् ।

राष्ट्र थामनु तथा फुलाउनु फलाउनु नै यस दिव्य उपदेशको मुख्य उद्देश्य हो । खुडालेमात्र आर्जको देशलाइ आफ्नु न ठान्नु. जुन देशमा आफ्नु स्थिति रीति (सभ्यता–संस्कृति) चल्दछ. त्यो मुलुक स्थायी हुन्छ– भन्ने रामसाहका सिद्धान्तानुसार वाह्र हजारिया गोर्खाको राम्रो स्थिति बाँधी राष्ट्रका अङ्ग प्रत्यङ्गमा एकनाश स्थायी राखने इच्छाले पृथ्वीले. रामसाहले बाध्याको स्थिति पनि हेरी सकें. ईश्वरले दियो भने म पनि वाहहजार को स्थिति वाधि जाला. आफ्ना जात विसेषको कर्म गर्नु. कुलाधर्म न छोडनु–इत्यादि भनेका छन् र उठान गरी स्वर्गे हुनेका अनुयायीहरूले बैठान गर्नु पर्छ । तर हामिहरू त्यो नीति बहादुरसाह पछि विर्सेर वसेका छौं । अझै संझौं । क्रिया केवलमुत्तरम् । पृथ्वीले मनुस्मृति शुक्रस्मृति आदि नीति शास्त्रानुसार शैलदुर्गको महत्व बुझेका हुनाले. चिस्व ढुंगो छोडेर दहचोकका डाँडालाइ औंल्यायेका छन् । ऐतिहासिक सिंहावलोकन गर्दा मानव–समाज जति तल ओर्लदै गयेको छ, उति तल ओर्लदैछ । वैदिक सभ्यता डाँडामाथि उम्रेको हो । पृथ्वी लुगा लत्ता भन्दा अन्न पानी लाइ विशेष महत्व दिन्थे । च्यांगा पांगा लाइ राज्य आज्र्य थ्यउ. कुलो काटी अवाद गर्नु. इत्यादि वाक्य स्मारक छन् । वैदिक सभ्यताले पनि–अन्नं बहु कुर्वीत तद् व्रतम्. भन्दछ । (विलासिताले देश जातिको विनाश गर्छ) भन्ने कुरा पृथ्वीले प्रत्यक्ष गरेका थिये र. राग तानको अभ्यास कसैले न गर्नु. भनेका छन् । परिमितमात्रामा स्वदेशी साहित्य सङ्गीतको अनुमति दियेका छन् । द्रव्यदोषदर्शी दूरदर्शी पृथ्वोले. अति सर्वत्र वर्जयेत्. भनेर राजानुजीवीवर्गको हुर्मत मात्रै राषि दिनु. दौलथ भयेकाले तरवारमा पसि मर्न मान सक्तैनन् र हरिपको चमक हुन्छ. भनेका छन् । हो पनि । दाल भात तर्कारी. जिउ धन सकारी भन्नेले देश जाति धर्मका निमित्त जत्तिको कम्मर कस्छ । उत्तिको धनीहरूले कस्तैनन् । उनलाइ जिउ धन वचाउनाको फिक्रि हुन्छ । स्वतन्त्रता वचाउने उत्तिको चिन्ता राखतैनन् । विरलाकोटी अपवाद हुनु अर्कै कुरा हो । प्रजा मोटा भया दरवार बलीयो रहन्छ. भन्ने पृथ्वीको विभज्यभोजी नीति हो । पृथ्वीले विधर्मी विदेशीको विरोध गरेर स्वधर्म स्वदेश राष्ट्रिय एकता– कार्य वा साधयामि. कार्य वा पातयामि. भन्ने संकल्प गरेर बाल्यावस्थै देखि भोक प्यास नींद सुख न भनेर स्याषु वढी वढी सर्वत्र धायेर आपूmजस्ता भाइभारधार द्वारा स्वयं पनि भगीरथ प्रयत्न गरी समस्त जनतामा चेतना जगायेर राष्ट्रनिर्माण गरेका हुनाले–मेरा साना दुषले आज्र्याको मुलुक होइन. सवै जातको फुलवारि हो. सवै लाइ चेतना भया यो फुलवारिको छोटा वडा चारै जात छत्तिसै वर्नले. कुलाधर्म न छोडनु. इत्यादि. भनेर राजा प्रजाका सहयोगले सच्चा प्रजातन्त्रको दृष्टान्त देखायेका छन् । हाम्रा वैदिक उदार उदात्त नीतिका अगाडी अचेलका अरु कुनै अधुरा नीति महत्व राखतैनन् । पृथ्वीलाइ–राजा सवैको साजा. यथा राजा तथा प्रजा, भन्ने आदर्श थाहा थियो र राजाले न्यायी विवेकी हुनु पर्छ भन्ने कुरामा आस्था थियो । तव राजाले ठुलो निञा निसाफ हेर्नु अन्याय मुलुकमा हुन न दिनु. भनेका छन् । किनकि राजाको अन्यायल र राज्यको पतन अन्यायले हुन्छ । राजाले प्रजालाइ दिनु पर्ने सवभन्दा ठूलो कुरा न्याय हो । प्रजाले सम्मान दिनु पर्छ । मानो हि महतां धनम् । अन्यायले प्रजा कुपित हुन्छन् र प्रकृतिकोपो हि सर्वकोपेभ्यो गरीयान् । हन्ति राष्ट्र सनायकम् । प्रजाका फुलवारीलाइ सदा फुलाइ फलाइ राखनु पर्छ । मालाकार इव प्रयोगकुशलो राजा चिरं नन्दति । राजा प्रजा र सैनिकहरू आपसमा न मिलेर टाडिदा छुल्याहा फटाहा स्वार्थीहरूले मौका छोपछन् । परचक्रीको आक्रमण भन्नु हुल उठछ । घरझगडा गृहकलह भन्नु कुल खेल मच्चिन्छ । तेसमा राजा प्रजाको संहार हुन्छ । तेस्तो न होस् भनेर पृथ्वीले संकेतमा– राजा चतुर भया सिपाहि र रैति हात हात गरि राषनु र हुल कुल हुन पाउदैन, इत्यादि भनेका छन् । पृथ्वीका एक एक अमर वाक्यमा राजनीतिधर्मशास्त्रहरूका अनेकन अध्यायको सारांश छ–
गोर्खा–दक्षिण–बाहु सैनिक भये वायाँ भुजा हुन् प्रजा गोर्खाराष्ट्र विराट वैदिक पुरुष कैलास राष्ट्रध्वजा ।
मुक्ताहार नदी वनालि कपडा राष्ट्रीयता जीवन
राजाले जनता सँगै हुनु सदा कत्तव्य हो पावन !
पृथ्वीले–स तु दोघकालनैरन्तर्यसत्कारसेवितो दृढभूमिः भने झै कुनै पनि पुरानु अभ्यास कार्यकुशल हुन्छ भन्ने कुरा बुझेर–मौलान् भृत्यान् प्रकुर्वीत–भनाइ अनुसार–घरका पुराना सेवक जाचि. घर (गृह विभाग) बलीयो राषनु. वाहिडा मान्छयाले दरवारमा विथिति गराउँछन्. इत्यादि भनेका हुन् । गुलियो खाने लाइ लुतो लाग्छ । नुन धेरै खानै सकिन्न । घूस खानु र भूस खानु एकै हो । अन्यायेनार्जितं वित्तं दशवर्षाणि तिष्ठति । प्राप्ते त्वेकादशे वर्ष समूलं च विनश्यति ।। त्यो न होस् भनेर–गुड पछि लाग्न न दिनु. नुन पछि लाउनु, भनेका छन् । अर्थात् कसैको घूस खान न दिनु । सत्यका कमाइमा लगाउनु भनेको हो । देशका निमित्त देह अर्पण गर्ने सैनिक वीरका पुण्यस्मृतिमा विवेक राखी उसका परिवारलाइ वीरता दिनु कर्मठ सैनिकको आह्वान गर्नु हो र राष्ट्रलाइ बलिष्ठ पार्नु हो भन्ने नीतिको निदर्शन पृथ्वीले यसरी गरेका छन्– लडाइमा पनि हान्न्या र. सष दिन्या. दुवै वरोवर हुन्. मन्यो भन्या. उसका छोरा षुडाहान्न्या न हुञ्ज्याल मरवट दिनु, षुडा हान्न्या भया पछि जागिरमा उकालि दिनु र. राजाले विवेक राषी दिया देस देसका सिपाहि पनि आसा राषि आउन्छन् र. यस्व भया तरवारिया सिपाहि हात लाग्छन् इत्यादि । यथा नाहरसिंह केहरसिंह अभिमानसिंह धौकलसिंह अमरसिंह प्रभृति । पृथ्वी अर्थशास्त्रका प्रयोगात्मक विद्वान् थिये । हुन पनि यस्तु क्रियावान् पुरुषः स विद्वान् । अन्यथा ज्ञानं भारः क्रियां विना । अर्थनीति असफल भयो भने घुडा टेकाउँ छ । मुद्रास्फीति गर्न सकियेन भने व्यापार अर्काका हात पर्छ । हुँदा हुँदा एक दिन घर खेत अर्काका हात पर्न जान्छ । सो नहोस् भनेर टक्सार पनि चोषो चलाउनु. भनेका हुन् । चोखो टक्सार चल्यो भने धातुतुल्य मूल्यमा सर्वत्र टक चल्दछ र कुनै अवस्थामा मुद्रास्फीति कुण्ठित हुदैन । धातुप्राप्तिका निमित्त खानि चलाउनु पर्छ । हाम्रा देशमा खानिका अखण्ड भण्डार छन् । यसवारेमा पृथ्वीले– षानि भयाका ठाउमा गाउ भया पनि गाउँ अरु जगामा सारि कन पनि पानि चलाउन–भनेका छन् र स्वयं यसै गरेका थिये । यसो गरियो भने कहिले पनि देश दरिद्र हुदैन । पृथ्वीले न्यायको गुण तथा अन्यायको दोष जानेका थिये । अन्यायको डडेलो सबैलाइ पोल्छ । प्रथम प्रजा पोलिन्छन् । अनि झिंजाले मुडा सल्काउँछन् । तस्मात्–निञासास्त्र वमोजिम अदालत चलाउनु. अदालतका पैसा दरवार भित्र नहालनु. यस्व भया असत्यको दोष लाग्देन तव राजाले ठुलो निञा निसाफ हेर्नु. अन्याय मुलुकमा. हुन नदिनु इत्यादि भनेका छन् । पृथ्वीले देशानुकूल खेती वढाउन जानेका थिये । समतल भूमिको देखासिखि गरेर अलिकति थाइलो पायो कि ठूल्ठूला क्याम्पा र अनावश्यक प्रपञ्च फैलायेर कृषियोग्य भूमि रोकेर अनिकाल डाक्ने नीति थियेन । आकाश जति उछिन्न सके पनि हुन्छ । यस सिद्धान्तका प्रत्यक्ष प्रमाण नुवाकोटदुर्ग र वसन्तपुर कैलास प्रभृति छन् । आकाशमा सात तला नौ तला जति भये पनि कृषियोग्य समथर भूमि न मासियोस् भन्ने विचारले गहो वन्न्या जग्गामा घर भया पनि. घर अरु जग्गामा सारि. कुलो काटि षेत वनाइ अवाद गर्नु. भनेका छन् र खिञ्चेत आदिमा गरेका पनि छन् । अन्न प्रशस्त छ भने गुफामा र डाँडाँमा वसेर खाये पनि हुन्छ । पृथ्वीका सिद्धान्तमा यथासाध्य जल वायु स्वच्छ भयेका रमाइला डाँडा काँडामा वसति गर्नु. पानी लाग्ने खेती हुने ठाउँ न रोकनु भन्ने छ । परन्तु अचेल विपरीत चलेको हुनाले यो हालत छ । आर्थिक दृष्टि र चरित्रका दृष्टिबाट राष्ट्र तथा समाजको हानि गर्ने कुनै वस्तुको आयातनिर्यात (निकासी पैठारी) न गर्ने नीति थियो । जसका प्रभावले पृथ्वी भन्थे–यो ऐश्वर्य ग¥याको हो।
दिव्य उपदेशलाइ पृथ्वीको अर्ति भन्न सकिन्छ. जीवनचरित्र भन्न सन्किन्छ, राष्ट्रनिर्माणपद्धति भन्न सकिन्छ, राष्ट्र सञ्चालन सञ्चालनविधान भन्न सकिन्छ र धर्मानुशासन भन्न सकिन्छ । यस्ता कुराको अध्ययन सवैले गम्भीरतापूर्वक गरेर सारग्रहण गरी सदुपयोग गर्नु राम्रो छ ।
गोरक्षाधीशरक्ष्यामरवरनगरप्रोद्यदुद्दामधाम
ग्रामग्रावाभिरामावनिधरनिकटस्थायिगोर्षापुरीशः ।
नेपालाधीशभालास्थिततिलकमपाकृत्य संप्रीतचेताः
पृथ्वीनारायणाख्यः क्षितिपकुलमर्णिर्वृतीतिस्म लोके ।।
(नुवाकोटभैरवीकनकपत्रमा)
योगी नरहरिनाथ सिद्धाचल मृगस्थली गोरक्षपीठ काठमाँडु शाके १८८१ शिवरात्रि
(दिव्य उपदेश – पृथ्वीको अर्तीबाट)