Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पोर्न स्टार मुद्दामा ट्रम्पको सजाय राष्ट्रपति चुनावपछि तोकिने

एजेन्सी । पोर्न स्टार मुद्दामा दोषी ठहर भएका अमेरिकी रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनावपछि सजाय सुनाइने भएको छ। मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय नोभेम्बर २६ मा घोषणा गरिने बताए। अमेरिकामा नोभेम्बर ५ मा निर्वाचन हुँदैछ। ट्रम्पलाई सेप्टेम्बर १८ मा न्यायाधीश मुद्दामा सजाय सुनाइने भनिए पनि अब भने लगभग ६८ दिन पछिलाई सारिएको छ। यसका साथै ट्रम्पले राष्ट्रपति पदका उम्मेदवार भएका कारण आफूलाई दोषी ठहर गरेको मुद्दा अन्त्य गर्न पनि सर्वोच्च अदालतसमक्ष माग गरेका छन्। राष्ट्रपति चुनावको सन्दर्भमा न्यायाधीश मार्चेनले भने, सेप्टेम्बर १८ मा सजाय सुनाइए मानिसहरूले यो सजायको उद्देश्य नोभेम्बरमा हुन लागेको निर्वाचनलाई प्रभाव पार्ने हो भन्ने महसुस गर्नेछन्। न्यायाधीशले भने, सजायको मिति सार्दा निर्वाचन प्रभावित हुने सम्भावना समाप्त भएको छ। सर्वोच्च अदालतले नोभेम्बर २६ मा मुद्दा वा सजायमध्ये एक अन्त्य गर्ने ट्रम्पको मागलाई स्वीकार गर्छ कि गर्दैन भन्ने सन्दर्भमा समेत टुङ्गो लगाउनेछ। मे ३० मा अदालतले ट्रम्पलाई पोर्न स्टार स्टर्मी डेनियललाई मौन गराउन पैसा तिरेको र चुनावी अभियानको क्रममा व्यापारिक रेकर्डहरू फ्रड गरेकोमा दोषी ठहर गरेको थियो। डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्। न्यूयोर्कमा करिब ६ हप्तासम्म चलेको सुनुवाइमा पूर्व राष्ट्रपतिलाई ३४ आरोपमा दोषी ठहर गरिएको थियो, यो मुद्दा उनी सन् २०१६ मा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुअघिको हो। अमेरिकी इतिहासमा पहिलो पटक राष्ट्रपतिविरुद्ध फौजदारी मुद्दा दायर भएको हो।