Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले कहाँ भेट्लान सुरक्षा

काठमाडौं । मुलुक आफ्नै एजेन्डामा अघि बढे पनि माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई सुरक्षित स्थान भेटेका छैनन् जनताका अगाडि चुनावी मैदानमा उत्रिनका लागि ।
माओवादी जनयुद्ध सकिएलगत्तै २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पा र काठमाडौंबाट चुनाव लडे। जनयुद्धको केन्द्र नै रहेको रोल्पाबाट प्रचण्ड चुनाव जित्ने लगभग पक्का नै थियो। संशय देखिएको काठमाडौंले पनि उनलाई पत्यायो। र, प्रचण्ड दुवै ठाउँबाट चुनाव जिते। त्यो चुनावमा प्रचण्ड दुई ठाउँबाट चुनावमात्रै जितेनन्, माओवादी पहिलो संविधानसभाको सबैभन्दा ठूलो दल नै बन्यो।
संविधान बनाउने अभिभारा पूरा नै नगरी पहिलो संविधानसभाको ‘अवसान’ भयो। र, फेरि अर्को संविधानसभा निर्वाचन घोषणा भयो। ६ वर्षपछि २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्ड फेरि दुई ठाउँबाट चुनाव लडे। त्यो थियो– काठमाडौं र सिरहा। अघिल्लोपटक चुनाव जिताएर संविधानसभासम्म पुर्‌याएको रोल्पालाई उनले छाडिदिए।
दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंका मतदाताले उनलाई पत्यानेन्। यहाँबाट प्रचण्ड पराजित भए। तर, सिरहाका मतदाताले उनलाई चुनाव जिताएर दोस्रोपटक संविधानसभामा पठाए। सिरहाबाट चुनाव जितेपछि प्रचण्डले भनेका थिए– मधेससँग मलाई ‘लभ’ परेको छ। प्रचण्डले भनेको त्यो कुरा अहिलेसम्म चर्चाको विषय बनिरहेको छ। यद्यपि मधेससँगको त्यो ‘लभ’ लाई प्रचण्डले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ‘बिसाइ’ दिए, गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ बाट चुनाव लडेर।
त्यो चुनावमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो। प्रचण्ड चितवनबाट भारी मतका साथ निर्वाचित भए। अहिलेको कानुनले दुई स्थानबाट चुनाव लड्न रोक लगाइदिएको छ। प्रचण्डमात्रै होइन अरू कोहीलाई पनि एकभन्दा बढी स्थानबाट चुनाव लड्ने सुविधा अब प्राप्त छैन। त्यसैले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको घोषणा भएसँगै नेता र कार्यकताहरू चुनावी जोडघटाउ सुरू गरिसकेका छन्। शीर्ष नेताहरूको उम्मेदवारीलाई चासोका साथ हेर्न थालिएको छ।
त्यसैमध्येका एक हुन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। करिब साढे ३ महिनापछि हुने प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डका लागि सुरक्षित ठाउँ कुन हुने भन्ने विषयमा उनीनिकट नेता कार्यकर्ताहरूले जोडघाटाउ सुरू गरिसकेका छन्। प्रचण्डको निर्वाचन क्षेत्रलाई लिएर विभिन्नखाले विश्लेषण सुरू भएपछि चुनावी अंक गणितको जोडघटाउ गरेका नेताहरूले आ–आफ्नो जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरिरहेका छन्।
गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव आएको छ। यो प्रस्ताव त्यस क्षेत्रका माओवादी सांसद हरि अधिकारीले गरेका हुन्। सिन्धुली क्षेत्र नम्बर २ बाट पनि चुनाव लड्न प्रचण्डलाई प्रस्ताव छ। स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र केन्द्रीय सदस्य राजन दाहालले प्रचण्डलाई सिन्धुलीबाट चुनाव लड्न प्रस्ताव गरेका छन्।
यस्तै अर्का स्थायी कमिटी सदस्य मातृका यादवले आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेका छन्। आफू निर्वाचित भएको धनुषा क्षेत्र नम्बर १ बाट चुनाव लड्न प्रचण्डलाई मातृकाको प्रस्ताव छ। सिरहाबाट प्रतिनिधित्व गर्ने सांसद अजयशंकर नायक र महेन्द्र पासवानलगायतले पनि प्रचण्डलाई सिरहाबाट चुनाव लड्न सुझाव दिएका छन्।
निकटका नेताहरूले आ–आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरिरहे पनि प्रचण्डले ठोस जवाफ दिएका छैनन्। आफ्नो पुरानो क्षेत्र चितवन ३ बाटै चुनाव लड्न चाहेका छन्, उनी। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा पाँच दल गठबन्धन गरेर चुनाव लडेको थियो। पाँचदलीय गठबन्धनका बाबजुद प्रचण्डकी छोरी रेणु दाहाललाई मेयरमा जित निकाल्न हम्मे पर्‍यो। कांग्रेसकै जगन्नाथ खतिवडाले बागी उम्मेदवारी दिएपछि रेणुले एमालेका प्रतिस्पर्धीबाट कडा चुनौतीको सामना गर्नुपर्‍यो। रेणुले जित त निकालिन्। तर, संघर्षपूर्ण तरिकाले। पाँचदलीय गठबन्धन एकै ठाउँमा उभिए पनि रेणुका लागि त्यो जित सोचेअनुसार सहज भने भएन।
स्थानीय तह निर्वाचनमा एमालेले दिएको कडा चुनौतीका कारण पनि चितवनबाट प्रचण्डले चुनाव लड्ने नलड्ने हिसाब किताब सुरू भएको हो। आगामी प्रतिनिधिसभा निर्वाचनमा उनको सहज जितका लागि माओवादी केन्द्रका नेताहरूले आ–आफ्नो ठाउँबाट चुनाव लड्न प्रस्ताव गरिरहेका छन्। तर, प्रचण्डनिकट स्रोतका अनुसार उनी चितवनबाटै चुनाव लड्ने ‘मुड’ मा देखिएका छन्। स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारले वडा तहमा पाएको मतलाई प्रतिनिधिसभा निर्वाचनका लागि विश्लेषणको आधार मान्ने हो भने चितवनबाट चुनाव जित्न पाँचदलीय गठबन्धन अपरिहार्य देखिन्छ। माडी नगरपालिकाको वडा नम्बर ३ देखि ९ र भरतपुर महानगरपालिकाको १३ देखि २८ वटा वडा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा समावेश गरिएको छ।
माडीको ९ र भरतपुरको १४ गरी प्रचण्डले कूल २३ वटा वडामा प्रतिस्पर्धीसँग चुनावमा भिड्नुपर्ने देखिन्छ। ती वडाहरूमा गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका वडाध्यक्षहरूले पाएको मत विश्लेषण गर्दा एक्लै चुनाव लड्दा प्रचण्डलाई चुनाव निकाल्न सकस पर्ने देखिन्छ। माडी नगरपालिकाको वडा नम्बर ३ मा एकीकृत समाजवादीले ७९२ मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित भएका छन्।
त्यस वडामा एमालेका उम्मेदवारले ६२१, नेपाली कांग्रेसले ५२४ र राप्रपाले १९४ मत पाएको छ। त्यहाँ माओवादी केन्द्रले आफ्नो उम्मेदवार दिएको थिएन। वडा नम्बर ४ मा ९२३ मत प्राप्त गरेर माओवादी केन्द्रका उम्मेवार निर्वाचित भएका छन् भने एमालेले ७४८ र राप्रपाले ८ मत प्राप्त गरेको छ। त्यस वडामा कांग्रेसले उम्मेदवारी दिएको थिएन। त्यस्तै वडा नम्बर ५ मा पनि माओवादी केन्द्रकै उम्मेवार निर्वाचित भएका छन्। माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवारले १ हराज २५७ मत प्राप्त गर्दा एमालेले ३१२ र राप्रपाले ९५ मत ल्याएको छ। यहाँ पनि कांग्रेसले आफ्नो उम्मेदवार खडा गरेको थिएन। माडीको वडा नम्बर ६ मा भने एमाले विजयी भएको छ। निकटतम प्रतिद्वन्द्वी कांग्रेसलाई पराजित गरी त्यहाँ एमाले विजयी भएको हो।
वडा नम्बर ७ मा एकीकृत समाजवादी झिनो मतान्तरले एमालेलाई पराजित गरेको छ। एकीकृत समाजवादीले ७९६ मत ल्याउँदा एमालेको ७६१ मत छ। जबकि त्यहाँ कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिएको थिएन। त्यस वडामा राप्रपाको ७११ मत छ।
वडा नम्बर ८ मा ६५४ मत प्राप्त गरेर राप्रपा विजयी भएको छ। एमालेको ५८९ र कांग्रेसको जम्मा ८७ मत छ। त्यस वडामा गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादी दुवैले उम्मेदवारी दिएको थिएन। एमालेले १ हजार ६२ मत प्राप्त गर्दा कांग्रेसले १ हजरा २७ मत ल्याएको छ। राप्रपाको १७१ मत छ। त्यस वडामा माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन। वडा नम्बर ९ मा १ हजार १८ मत ल्याएर माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्। एमालेले ५०८ मत ल्याउँदा राप्रपाको ४६९ मत छ। त्यस वडामा कांग्रेस र एकीकृत समाजवादीको उम्मेदवारी परेको थिएन।
अब हेरौं प्रचण्डको निर्वाचन क्षेत्रभित्र पर्ने भरतपुर महानगरपालिकाका वडाहरूको मत विवरण। भरतपुर १३ मा माओवादी केन्द्रले १ हजार ५४७ मत प्राप्त गरेको छ। त्यहाँ एमालेका उम्मेदवारले १ हजार २४३ मत ल्याएका छन्। कांग्रेस र एकीकृत समाजवादीले त्यस वडामा उम्मेदवार खडा गरेको थिएन। वडा नम्बर १४ मा २ हजार ९ मत ल्याएर कांग्रेस विजयी भएको छ। त्यस वडामा एमालेले १ हजार ६४८ मत ल्याएको थियो। माओवादी केन्द्र र एकीकृत समाजवादीले भने उम्मेदवारी दिएको थिएन।
वडा नम्बर १५ मा पनि कांग्रेस नै विजयी भएको छ। कांग्रेसको वडाध्यक्षका उम्मेदवारले २ हजार ४८९ मत ल्याएका थिए। दोस्रो भएका स्वतन्त्र उम्मेदवारको ९६६ मत थियो भने राप्रपाले ६९५ मत प्राप्त गरेको थियो। भरतपुर १६ मा पनि कांग्रेसकै उम्मेवार निर्वाचित भए। कांग्रेसले ४ हजार १०३ मत ल्याउँदा एमालेका उम्मेदवारले १ हजार २७३ मत प्राप्त गरेका थिए। राप्रपाको ३८५ मत थियो।
वडा नम्बर १७ मा कांग्रेसका उम्मेदवार १ हजार ६१४ मत प्राप्त गरेर निर्वाचित भएका थिए। निकटतम प्रतिद्वन्द्वी एमालेले १ हजार २४३ मत ल्याएको थियो। भरतपुर १८ मा भने एमाले निर्वाचित भएको छ। एमालेले १ हजार ६६७ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले १ हजार ५ सय मत प्राप्त गरेका थिए। वडा नम्बर १९ मा पनि एमाले निर्वाचित भएको छ। एमालेले १ हजार ८७४ मत ल्याउँदा कांग्रेसले १ हजार १३५ मत प्राप्त गर्‍यो। महानगरको वडा नम्बर २० मा २ हजार ७० मत ल्याएर कांग्रेसका उम्मेवार निर्वाचित भएका छन्। दोस्रो भएका एमाले उम्मेदवारको १ हजार १८३ मत छ।
वडा नम्बर २१ मा पनि कांग्रेस निर्वाचित भएको छ। कांग्रेसले २ हजार २६ मत ल्याउँदा एमालेले १ हजार २८३ मत प्राप्त गरेको थियो। भरतपुर २२ मा भने एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन्। एकीकृत समाजवादीले १ हजार ३३६ मत ल्याउँदा निकटम प्रतिस्पर्धी दल एमालेको १ हजार १८५ मत छ। वडा नम्बर २३ मा १ हजार ३३४ मत ल्याएर कांग्रेस निर्वाचित भएको छ। निकटतम प्रतिद्वन्द्वी एमालेको १ हजार ३०६ र राप्रपाको ४१८ मत छ। महानगरको वडा नम्बर २४ मा माओवादी केन्द्र निर्वाचित भयो। माओवादी केन्द्रले १ हजार ३८ मत ल्याउँदा एमालेले ८१६ मत प्राप्त गरेको थियो। त्यस वडामा राप्रपाले २६५ मत ल्याएको थियो। वडा नम्बर २५ मा स्वतन्त्र उम्मेदवारले जित निकालेका थिए। वडाध्यक्षका स्वतन्त्र उम्मेदवारले १ हजार ४२३ मत ल्याउँदा एमालेले १ हजार ३८३ मत प्राप्त गरेको थियो। माओवादी केन्द्र भने १ हजार १४९ मत ल्याएर तेस्रो स्थानमा खुम्चिएको थियो। वडा नम्बर २६ मा भने माओवादी केन्द्र २ हजार १७ मत ल्याएर निर्वाचित भएको थियो। त्यस वडामा उसको प्रतिस्पर्धा कांग्रेससँग भएको थियो। कांग्रेसले १ हजार ७०१ मत ल्याउँदा एमालेले ३९६ मत प्राप्त गरेको थियो।
महानगरको वडा नम्बर २७ मा २ हजार २७ मत ल्याएर कांग्रेस निर्वाचित भएको छ। त्यस वडामा एमालेको १ हजार ३५५ मत छ। वडा नम्बर २८ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। एमालेले १ हजार ४६९ मत पाउँदा दोस्रो स्थानमा रहेको माओवादीले १ हजार ३४९ मत ल्याएको थियो। चितवन क्षेत्र नम्बर ३ का सबै वडाहरूमा माओवादीका उम्मेदवारले पाएको मत जोड्दा १० हजार ९४० हुन्छ। पहिलो स्थानमा रहेको एमालेले २९ हजार ७७१ र कांग्रेसले २९ हजार ३४३ मत ल्याएको छ। माओवादी एक्लै चुनावमा जाँदा चितवनबाट प्रचण्डको जित सुनिश्चित देखिँदैन। आफ्नो पुरानो क्षेत्रमा चुनाव जित्न प्रचण्डलाई कांग्रेस र एमालेमध्ये एकको सहारा अनिवार्य देखिन्छ। त्यसैले प्रचण्ड कम्तिमा आगामी निर्वाचनसम्म पाँचदलीय गठबन्धनको निरन्तरता चाहिरहेका छन्। गठबन्धन गरेर जाँदा कांग्रेसका साथै एकीकृत समाजवादीको मत पाउने र जित निकाल्न सहज हुने विश्लेषण माओवादीको छ। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनले पनि यसको पुष्टि गरिसेको छ।