Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले किन दिएनन् राजीनामा ?

काठमाडौं । उथलपुथलका नायक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यस पटक भने च्यापिन पुगेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले सोमबार बेलुकादेखि सत्ता समीकरण परिवर्तनको कोसिस गरिरहेका छन् । सोमबार मध्यराति सहमति गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारबाट बिदा गर्ने उनीहरूको निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । यी दुई दलले आफ्नो सहमति सार्वजनिक गर्नसमेत सकेका छैनन् । कांग्रेस(एमाले मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन दबाब परिरहेको छ । एमालेले कांग्रेससँग सहयात्रा थालेपछि प्रधानमन्त्री दाहाल प्राविधिक रुपमा अल्पमतमा परिसकेका छन् । यसबीचमा कांग्रेस र एमालेले प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताइरहेका छन्। दुवैले यसलाई पार्टीको औपचारिक धारणा नै बनाएका छन् । कांग्रेसका एकजना शीर्ष नेता एवम् राष्ट्रिय सभामा संसदीय दलका कृष्णप्रसाद सिटौला पनि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुलाई उपयुक्त विकल्प भन्छन् । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि प्रधानमन्त्री दाहालले राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खोलिदिनुपर्ने तर्क गर्छिन्। मङ्गलबार च्यासलमा बसेको एमाले सचिवालय बैठकले पनि बुधबार बेलुकासम्म प्रधानमन्त्रीले बाटो खोलिदिन आग्रह गरेको थियो। तर प्रधानमन्त्री प्रचण्डले सरकारलाई सघाएका दिएका दलहरूले समर्थन फिर्ता नलिएको र मन्त्रीहरूको पनि बहिर्गमन नगराएको भन्दै राजीनामा नदिने मुडमा छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य प्रचण्डले संविधानअनुसारै ३० दिनभित्रमा विश्वासको मत लिने बताउँछन्। उनले यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई पनि गराइसकेको बताए । आचार्यले ३० दिनभित्रमा प्रधानमन्त्रीले विश्वासको मत पाउने दाबी गरे । संविधानअनुसार नजाँदा विधि प्रक्रिया र पद्धतिको पनि बर्खिलाप हुने भन्दै उनले प्रधानमन्त्रीले यस्तो कदम नचाल्ने बताए । मङ्गलबार दिउँसो रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेसँग पनि प्रधानमन्त्रीले यही अडान राखेका छन् । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । रास्वपाबाट मन्त्री भएकाहरू अहिले मन्त्रालयमै सक्रिय छन् । यद्यपि बुधबार रास्वपाको केन्द्रीय समिति बैठक बसिरहेकाले थप निर्णय आउन सक्ने छ । एमाले प्रमुख सचेतक महेश बर्तौला आजसम्मको समय प्रधानमन्त्रीलाई दिएको बताउँछन् । आजसम्म प्रधानमन्त्रीले राजीनामा नदिए कुनै न कुनै प्रक्रिया अगाडि बढाउने उनी बताउँछन् ।
प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री भएका थिए। त्यसदेखि यहाँसम्म आइपुग्दा उनले चार पटक विश्वासको मत लिइसकेका छन्। तर यस पटक दुई ठुला पार्टी कांग्रेस(एमाले मिलेर बहुमत जुटाएकाले उनलाई विश्वासको मत मिल्ने अवस्था छैन। कांग्रेसको ८८ र एमालेको ७९ गर्दा जम्मा १६६ सिट हुन्छ। कुनै नाटकीय परिवर्तन नभए प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने छैनन् । दाहालले संसद्‍मा बोल्न चाहेका छन् । उनले आफ्ना कुरा रेकर्ड हुनुपर्ने भन्दै राजीनामा नदिने अडान लिएको उनको सचिवालयको भनाइ छ । संविधानविद् डा। भीमार्जुन आचार्य एमाले(कांग्रेसले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क गर्नु संविधानसम्मत नभएको बताउँछन्।


सम्बन्धित समाचार