Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डसहित सबै नेतालाई श्रममा लगाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन् । काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर आएको बताएका हुन् । उनीहरू सरकारबाहिर रहँदाको खाली समयमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सोमबारको बैठकमा पार्टी महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांश नेताहरूले जोड दिएका छन् । उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए । सोमबार बोल्ने केन्द्रीय सदस्यहरूले अध्यक्ष प्रचण्डसहित सबै नेताहरू अनिवार्य श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव दिएका छन् । नेताहरूले श्रममा जोडिन सके मात्रै पार्टी पनि जनतामाझ बलियोसँग फैलिने बताउनु भएको छ, सापकोटाले भने, अनिवार्य श्रमको नियम माथिदेखि तलैसम्म लगाउनुपर्ने कुरा बैठकमा उठेको छ । अर्कातिर संघीय संसद्को हिउँदे आह्वानका लागि अन्य दलसँग मिलेर दबाब सिर्जना गर्नुपर्ने सुझावसमेत आएको प्रवक्ता सापकोटाले बताएका छन् । बैठकमा १८० जनाले बोल्न नाम टिपाएको थिए । दोश्रो दिन ८० जनाले धारणा राखे । बैठक मंगलबार बिहान ११ बजेसम्मलाई स्थगित भएको प्रवक्ता सापकोटाले बताएका छन् ।


सम्बन्धित समाचार