Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार निर्णायक बार्ता हँुदै छ ।
राष्ट्रपति निर्वाचनमा उम्मेदवार टुंगो लगाउन तथा सहमति नजुटिरहेको बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णय वार्ता हुन लागेको हो । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख दलका शीर्ष नेताहरू बहुपक्षीय छलफल गरिरहेको भए पनि कुनै सहमति जुट्न सकिरहेको छैन ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको बिहीबार छलफलपश्चात् प्रधानमन्त्री प्रचण्डले शुक्रबार एमाले अध्यक्ष ओलीसँग निर्णाय वार्ता गर्ने बताए । ‘छलफल चलिरहेको छ, शुक्रबार एमाले अध्यक्षसँग कुरा हुन्छ’ प्रधानमन्त्री प्रचण्डले भने ।
राष्ट्रपतिकै विषयमा उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग छलफल गरेका थिए । उनले बुधबारको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आश्वासन दिएका छन् । साथै बिहीबार जसपासँगको छलफलमा उनले उपराष्ट्रपति जसपालाई दिने विषयमा आफू सकारात्मक भएको बताए ।
बिहीबार साँझ सिंहदरबारमा गत आमनिर्वाचन ताकाको चुनाबी गठबन्धन ब्युँताउने विषयमा छलफल गर्न एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच छलफल भएको थियो । तर, बैठक बिना निष्कर्ष टुंगिएको छ । उक्त बैठक शुक्रबार पनि बस्ने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पुनः छलफल गरेका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर यतिबेला प्रचण्डले सरकारमा रहेका र बाहिर रहेका सबै दलसँग राष्ट्रिय सहमतिका लागि भन्दै दैनिक छलफल गरिरहेका छन् । तर, सहमति जुट्न सकिरहेको छैन ।
माधव नेपाललाई राष्ट्रपति बनाउन माग
यसैबीच एकीकृत समाजवादीले वाम–समाजवादी मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गर्दै राष्ट्रपतिमा दाबी गरेको छ । बिहीबार बसेको तीन दलीय बैठकमा एकीकृत समाजवादीले यस्तो प्रस्ताव गरेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए ।
बैठकपछि ज्वालाले भने, हामीले चुनावअघि पनि यस विषयमा कुरा गरेका थियौं । अहिले पनि त्यसमै केन्द्रित भएर छलफल गरेका छौं । सकभर वाम समाजवादी मोर्चा बनाएर जाऔं भनेर छलफल गरेका छौं ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने कुरा गरिरहेको र आफ्नो पार्टी अध्यक्ष नेपालमा त्यस्तो सहमति जुट्ने वातावरण बनेकाले अन्य पार्टीसँग पनि छलफल गर्ने कुरा भएको उनले बताए ।
उनले थपे, सम्मानीय प्रधानमन्त्रीज्यूले राष्ट्रपतिको उम्मेदवार सर्वसम्मतरूपमा चयन गरौं भनेका छन् । हाम्रो अध्यक्ष र पार्टीलाई त्यो अवसर प्राप्त हुँदा अस्वीकार गर्ने कुरा भएन । अध्यक्ष माधव नेपाल०लाई त्यसका लागि अघि सार्ने दाबी र अनुरोध छ ।
पुरानो गठबन्धन ब्यूँताउने विषयमा भने छलफल नभएको दावी उनले गरे । तीन दलको छलफल निष्कर्षविहीन भएपछि सो विषय तत्कालका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रपतिका विषयमा छलफल भएको तर, कुनै ठोस निर्णयमा पुग्न भने नसिकएको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए । शुक्रबारसमेत बैठक बसेर टुंगोमा पुगिने उनले बताए ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी थिए । यसैगरी, जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ थिए भने एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी थिए ।
यता एमालेले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको छ । एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले नेपालसँग भेटेर पार्टी एकतासहित राष्ट्रपति बनाउन सहयोग गर्न सकिने बताएका हुन् । केही दिनअघि अध्यक्ष ओलीले पनि उक्त प्रस्ताव गरेका थिए ।
यसैबीच एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ । राष्ट्रपति निर्वाचनका लागि मनोनयअघि एमालेले सचिवालय बैठक बोलाएको हो ।
राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनभित्र खटपट भइरहेकाले १० पुसको सहमति पालना नगरे सरकारबाट बाहिरिने चेतावनी एमालेले दिएको छ । एमालेका सचिव योगेश भट्टराईले रुकुम पश्चिममा पुगेर माओवादीले १० पुसको सहमति पालना नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
राष्ट्रपति निर्वाचनको मिति नजिँक्दै जाँदा शीर्ष नेताहरूको आन्तरिक छलफल तिब्ररुपमा भईरहेको छ । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हँुदै छ । प्रमुख दलका शीर्ष नेता आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्दा सहमति जुट्न सकिरहेको छैन ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल