Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिव्यक्ति १० देखि ४० लाखसम्म उठाएर म्यानपावर सञ्चालक बेपत्ता

काठमाडौँ । नेपालमा सिन्को नभाँच्नेहरु विदेश जानका लागि लाखौं खर्च गर्छन् । नेपालमै केही गर्न सकिन्छ भन्ने सोच युवामा हराउँदै गएको छ । विदेश पुग्न पाए पैसाको रुखै भेटिन्छ जस्ता सोच युवामा बढेका बेला तिनै युवाको भावना बेचेर पैसा कमाउने दलालहरु बजारमा यत्रतत्र भेटिन थालेका छन् । अमेरिका र युरोप पठाउने भन्दै कम्तीमा ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगीको आरोप लागेका विस एचआर सेलुसनका सञ्चालक र कर्मचारी फरार भएका छन् । कम्पनीले एक जनाबाट १० देखि ४० लाख रुपैयाँसम्म लिएको खुलेको छ । पीडितमध्येका एक धर्मभक्त मानन्धरले अमेरिका पठाइदिन्छु भनेर आफूसँग १५ लाख रुपैयाँ लिएको बताए । अर्का पीडित दोर्जी शेर्पाले पनि अमेरिका पठाइदिन्छु भन्दै म्यानपावरले ४० लाख ठगी गरेको बताए । अर्का पीडित दिनेशराज बोगटीले पोल्यान्ड जानका लागि ९ लाख ४० हजार बुझाएका थिए । वैदेशिक रोजगार विभागले ठगी गरी फरार म्यानपावर कम्पनी खारेज गरी सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको धरौटी बढाउने नीति कार्यान्वयन गरेपछि ठूलो रकम ठगी गरेर सञ्चालक फरार भएको पहिलो घटना हो । सरकारले २०७५ मा धरौटी बढाएको थियो । मन्त्रालयले २ देखि ५ करोडसम्म धरौटी राख्ने नीति ल्याएको थियो । यो म्यानपावर कम्पनीले ५० लाख धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी विभागबाट वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत लिएको थियो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार म्यानपावरका अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, महाप्रबन्धक लालबहादुर पुलामी, सञ्चालक अमृत श्रेष्ठ र कर्मचारी रमेश कोइरालाविरुद्ध असोज २ गते मुद्दा दायर भएको हो । उनीहरूमाथि ३ करोड ८२ लाख बिगो, १ करोड ९१ लाख हर्जाना गरी ५ करोड ७३ लाख रुपैयाँ मागदाबी गरिएको छ । विस म्यानपावरको विभागमा राखिएको धरौटीमध्ये ३५ लाख रुपैयाँ नगद बाँकी छ । १ करोड ५० लाख बैंकको ग्यारेन्टी छ । विभागले पीडितहरूबाट बैंक भौचर, सक्कल लिखत कागज, साक्षीको कागज, बैंक चेकसमेतका आधारमा प्रमाण संकलन गरेको छ । वैदेशिक रोजगार ऐन, २०६५ को दफा ४४ अनुसार ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई तीनदेखि सात वर्षसम्म कैद हुने व्यवस्था छ । पछिल्लो समय युरोप जानेको नाममा उच्च ठगी भइरहेको छ । विशेषगरी माल्टा, रोमानिया, पोल्यान्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य मुलुकमा रोजगारी दिने बहानामा ठगी भइरहेको हो ।


सम्बन्धित समाचार