Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदीप, आर्यन र पललाइ लिएर नयाँ चलचित्र बन्दै

काठमाडौं । निर्देशक दिनेश राउत नयाँ चलचित्र पूजार सार्की निर्माणको तयारीमा छन् । एक महिनापछि छायांकनमा जाने चलचित्रको यही पुस १५ गतेबाट वर्कसप हुँदै छ । अहिले निर्माण पक्षले चलचित्रको गीत रेकर्डिङ गराइरहेको छ ।

चलचित्रका लागि उनले प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहलाई अनुबन्ध गराइसकेका छन् । अञ्जना बराइली र परीक्षा लिम्बू पनि अनुबन्ध भइसकेका छन् ।

एउटै चलचित्रमा यति धेरै स्टार किन निर्देशक राउत भन्छन्, स्टार लिएको भन्दा पनि कथाले मागेका पात्र चलचित्रमा अनुबन्ध गरिएको हो ।
पूजार सार्की तीनजना व्यक्तिको संघर्षको कथा भएको र तिनै तीन पात्रमा प्रदीप, आर्यन र पल अनुबन्ध भएको उनी बताउँछन् ।

पूजार सार्की तीनवटा पात्रको कथा हो । तीनैजनाको आ–आफ्नै कथा छ । तीनैजना पात्र एउटै मुद्दामा लड्छन्, निर्देशक दिनेश भन्छन्, त्यसैले यी कलाकारलाई एउटै सिनेमामा अनुबन्ध गरिएको हो ।

एउटै सिनेमामा तीनजना स्टार कलाकार आवद्ध हुँदा राम्रो सन्देश पनि जाने उनको जिकिर छ । नेपाली सिनेमा उद्योगमा कलार मिलेर काम गर्न सक्दैनन् भन्ने हल्ला छ, त्यसलाई चिर्न पनि यसले सहयोग गर्ने उनी बताउँछन् । वास्तवमा नेपाली उद्योग आफैँमा सानो छ, थोरै मेकर र थोरै कलाकार छन् । भएका कलाकार पनि आपसमा मिल्दैनन् भन्ने आरोप छ, उनी अगाडि थप्छन्, तर मेकरले चाह्यो भने मिलेर काम गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश जाओस भन्ने पनि हो ।

यद्यपि, योसँगै कमर्सियल भ्यालुलाई पनि आफूले नकार्न नसक्ने उनको भनाइ छ । तीनजना कलाकार नै स्टार भएकाले उनीहरूको आआफ्नै फ्यान फलोइङ छ, त्यसले निश्चय पनि कमर्सियल पाटो पनि जोडिन्छ, दिनेश भन्छन् ।

पूजार सार्कीको हिरो को हो प्रदीप, आर्यन र पलमध्ये सबै प्रोटागोनिष्ट हो । सबैको आआफ्नै कथा छ । त्यसैले को हिरो भन्ने नै छैन, जवाफमा दिनेश भन्छन् ।

कथा समानान्तर हिसावले अगाडि बढे पनि स्क्रिन टाइमका आधारमा पनि यो मुख्य पात्र अथवा हिरो भनेर छुट्याउन सकिँदैन स्क्रिन टाइमभन्दा पनि कसको रोल कति महत्वको छ भन्ने कुराले अर्थ राख्छ, दिनेश अगाडि जवाफमा भन्छन् ।

आफ्नो चलचित्रमा एन्टागोनिष्ट भिलेन पनि कोही नरहेको उनी स्पष्ट पार्छन् । भन्छन्, समाज नै मेरो सिनेमाको एन्टागोनिष्ट हो ।


सम्बन्धित समाचार