Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेश सरकारको भागबण्डा टुंग्याउन ओली, प्रचण्ड र नेपालबीच छलफल हुने

काठमाडौं । प्रदेश सरकारमा संयुक्त रूपमा सरकार गठन गर्ने सहमति गरेका नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरू साझेदारीको मोडालिटी र भागबण्डा टुंग्याउन निर्णायक छलफलमा बस्ने भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच प्रदेश सरकार गठन, नेतृत्व बाँडफाँट र आगामी सहकार्यको खाका तय गर्ने विषयमा छलफल हुन लागेको हो।

यसअघि शुक्रबार नै तीन नेताबीच भेट हुने तयारी भए पनि पुष्पलाल श्रेष्ठ स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी हुनुपरेकाले बैठक स्थगित भएको थियो। कार्यक्रममा प्रचण्ड, माधव नेपाल, एमालेका प्रदीप ज्ञवाली तथा नेकपा मसालका मोहनविक्रम सिंहलगायत नेताहरू सहभागी थिए।

नेकपाका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीका अनुसार शीर्ष नेताहरूबीच निरन्तर संवाद भइरहेको छ र अब प्रदेश सरकारको नेतृत्व, मन्त्रालयको भागबण्डा तथा सहकार्यको मोडालिटीलाई लिखित रूपमा टुंग्याउने गरी बैठक बस्ने तयारी छ।

यस्तै, एमाले अध्यक्ष ओलीको सचिवालयले पनि दुवै दलबीच नियमित संवाद भइरहेको जनाएको छ। सचिवालयका अनुसार एक–दुई दिनभित्र प्रदेश सरकारको नयाँ समीकरणबारे सहमति जुट्ने अपेक्षा गरिएको छ।

कांग्रेससँग पनि संवाद जारी

प्रदेश सरकारको नयाँ समीकरणबारे एमाले र नेकपाबीच छलफल भइरहे पनि नेकपाले नेपाली कांग्रेससँगको संवाद भने रोकिएको छैन। नेकपाका नेता प्रमेश हमालले सकेसम्म तीन दलको सहकार्यबाट प्रदेश सरकार गठन भए सकारात्मक सन्देश जाने भन्दै कांग्रेससँग पनि छलफल जारी रहेको बताए।

तर, कांग्रेसले भने यस्तो प्रस्ताव स्वीकार नगरेको नेताहरूको भनाइ छ।

प्रदेशमा फेरिँदै सत्ता समीकरण

हालै सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको छ। बागमती प्रदेशमा एमालेका मन्त्रीहरूले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएका छन् भने कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएर मुख्यमन्त्री यमलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

यद्यपि, लुम्बिनी, कोशी र गण्डकी प्रदेशमा कांग्रेस–एमाले गठबन्धन अझै कायम छ। बदलिँदो राजनीतिक समीकरणबीच एमाले र नेकपाले प्रदेश सरकार पुनर्गठनको तयारी अघि बढाएका छन्।

नेतृत्वमा अझै सहमति छैन

एमालेले कोशी, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशको नेतृत्वमा दाबी कायम राखेको छ। उता नेकपाले आफूका सांसद संख्या बढी भएका प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ।

प्रदेश सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटबारे अन्तिम निर्णय गर्न एमालेबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेल तथा नेकपाबाट प्रचण्ड, माधव नेपाल, वर्षमान पुनलगायत नेताहरूबीच थप छलफल हुने बताइएको छ।

नेकपाका वरिष्ठ नेता जगन्नाथ खतिवडाले स्थानीय तहदेखि केन्द्रसम्म एमालेसँग कार्यगत एकता गर्दै भविष्यमा पार्टी एकतासम्म पुग्ने लक्ष्यअनुरूप प्रदेश सरकारमा पनि सहकार्य गर्ने सहमति भएको बताएका छन्।