Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानन्यायाधीश भारत भ्रमणमा, सपना प्रधान मल्ललाई पुनः कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई दिइएको छ।

सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश शर्मा भारतका सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तको निमन्त्रणामा बिहीबार भारत प्रस्थान गरेका हुन्। भ्रमण अवधिभर सर्वोच्च अदालतको नेतृत्व मल्लले सम्हाल्नेछिन्।

मल्ल यसअघि पनि लामो समय कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकी थिइन्। तर प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा आफूलाई नियुक्त नगरी चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई नियुक्त गरिएपछि उनी असन्तुष्ट बनेकी थिइन्।

त्यतिबेला मल्ल प्रधानन्यायाधीशको पदभार ग्रहण कार्यक्रममा समेत अनुपस्थित भएकी थिइन्। त्यसलगत्तै उनले २० दिनको बिदा लिएकी थिइन्। यद्यपि, बिहीबार भारत प्रस्थानअघि प्रधानन्यायाधीश शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेकी छन्।

गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यसपछि जेठ ५ गते उनी प्रधानन्यायाधीश नियुक्त भएका थिए।

प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्च अदालतभित्र वरिष्ठ न्यायाधीशहरूसँगको सम्बन्धलाई लिएर पनि चर्चा भएको थियो। संवैधानिक इजलास गठनका क्रममा प्रधानन्यायाधीश शर्माले वरिष्ठतम् तीन न्यायाधीशलाई समावेश नगरी आफैं इजलास गठन गरेका थिए, जसले न्यायालयभित्रको आन्तरिक सम्बन्धबारे प्रश्न उठाएको थियो।

भारत भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतीय सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै न्यायिक सहकार्यसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा उनकी पत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेती पनि सहभागी छन्।

सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश शर्मा साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।