Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको जवाफबारे विपक्षी दलहरूबीच रस्साकस्सी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले विपक्षी दलहरूसँग सरकारको जवाफदेहितासम्बन्धी विषयमा संवाद जारी राखेका छन्।

छलफलमा प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित भएर प्रत्यक्ष जवाफ दिनुपर्ने विपक्षी दलहरूको अडान कायमै छ। प्रधानमन्त्री उपस्थित हुन नसके लिखित जवाफ मात्र स्वीकार गर्नुपर्ने र त्यसलाई परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा वाचन गर्नुपर्ने प्रस्ताव पनि विपक्षीबाट अघि सारिएको छ।

तर रास्वपा पक्षले प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्रीले नै जवाफ दिने व्यवस्था उपयुक्त हुने अडान राखेको छ। यसमा विपक्षी दलहरूले लिखित रूपमा आधिकारिक जवाफ नआएसम्म परराष्ट्रमन्त्रीलाई बोल्न अनुमति नदिने अडान दोहोर्‍याएका छन्।

छलफलमा हालसम्म कुनै सहमति जुट्न सकेको छैन। संवाद जारी रहे पनि दुवै पक्ष आ–आफ्नै अडानमा कायम देखिएका छन्।

बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, एमालेका तर्फबाट ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्वु ओली सहभागी थिए।

त्यस्तै, रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र सचेतक क्रान्तिशिखा धिताल पनि छलफलमा उपस्थित थिए।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले विषय गम्भीर भएकाले प्रधानमन्त्रीले नै संसद्मा जवाफ दिनुपर्ने अडान दोहोर्‍याएका छन्।

अर्कोतर्फ, एमालेसहितका दलहरूले मिलनबिन्दुका रूपमा प्रधानमन्त्रीको लिखित जवाफ स्वीकार गरिए परराष्ट्रमन्त्रीलाई बोल्न दिने विकल्पमा छलफल अघि बढाएका छन्। तर सहमति अझै टुंगोमा पुगेको छैन।