Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममुखी सहकार्यको आधार तयार गरेको बताएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले भ्रमणलाई उपलब्धिमूलक भएको बताए। उनका अनुसार भ्रमणले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आधार निर्माण गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको राजकीय भ्रमणका क्रममा कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार, आर्थिक सहकार्य तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा महत्त्वपूर्ण सहमति भएको मन्त्री खनालले जानकारी दिए।
भ्रमणको प्रमुख उपलब्धिका रूपमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज जारी गरेका छन्। उक्त दस्तावेजले आर्थिक तथा विकास साझेदारी, भौतिक र डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा सहकार्य, जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ।
मन्त्री खनालका अनुसार उक्त दस्तावेजले नेपाल–भारत सम्बन्धलाई समयानुकूल बनाउन पुराना सन्धि, सम्झौता तथा सहमतिहरूको पुनरावलोकन र आवश्यकताअनुसार परिमार्जन गर्ने सम्भावनासमेत खुला गरेको छ। विशेषगरी सन् १९५० को सन्धिलगायत पुराना सन्धिहरूको पुनरावलोकनका विषयमा नयाँ आधार तयार भएको उनको भनाइ छ।
व्यापार र पारवहनमा नयाँ सुविधा
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालको तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पहुँच प्राप्त भएको छ। यसअघि कोलकाता र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको नेपालले अब गुजरातको दीनदयाल (कान्डला) र ओडिशाको पारादीप बन्दरगाहसमेत प्रयोग गर्न पाउने सहमति भएको मन्त्री खनालले जानकारी दिए।
यसले नेपालको अन्तर्राष्ट्रिय व्यापार र पारवहन व्यवस्थालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, जनकपुर–अयोध्याबीच यात्रुवाहक रेलसेवाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेका छन्। यसबाट नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध थप विस्तार हुने विश्वास गरिएको छ।
हवाई सम्पर्क विस्तारतर्फ हाल एकतर्फी सञ्चालनमा रहेको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा पनि सहमति भएको छ।
सीमापार पूर्वाधार विकासअन्तर्गत भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन गरिएको छ। त्यस्तै, बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास भएको छ। यी पूर्वाधार निर्माणले सीमापार आवागमन, व्यापार तथा भन्सार प्रक्रिया सहज बनाउने अपेक्षा सरकारको छ।
ऊर्जा क्षेत्रमा संयुक्त लगानी
भ्रमणका क्रममा ऊर्जा सहकार्यलाई पनि प्राथमिकतामा राखिएको छ। इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली विद्युत् प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको मन्त्री खनालले बताए।
यसैगरी तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गरिएको छ। लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम रूप दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने सहमति पनि भएको छ।
पेट्रोलियम पूर्वाधारतर्फ भारतको सहयोगमा निर्माण भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ। त्यस्तै, झापा–सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ।
यी परियोजनाले नेपालको ऊर्जा आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउनुका साथै ऊर्जा सुरक्षामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शिक्षा, स्वास्थ्य र अनुसन्धानमा सहकार्य
भ्रमणका क्रममा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने निर्णयसमेत भएको छ। यसबाट उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्री खनालले बताए।
त्यस्तै, विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी भएका क्षेत्रहरूमा फरेन्सिक विज्ञान तथा अनुसन्धान, सुरक्षा तथा प्रहरी प्रशिक्षण, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसिया भूउपग्रहको उपयोग, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्यपालन विकास रहेका छन्।
यी समझदारीले प्राविधिक ज्ञान, संस्थागत क्षमता र जनशक्ति विकासमा दुई देशबीचको सहकार्य विस्तार गर्ने विश्वास गरिएको छ।
सीमा व्यवस्थापन र लगानी प्रवर्द्धन
नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भको मर्मतसम्भारमा भएको प्रगतिलाई ध्यानमा राख्दै विद्यमान सीमासम्बन्धी विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ।
भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएका छलफल र सहमतिलाई समेटेर संयुक्त प्रेस विज्ञप्तिसमेत जारी गरिएको थियो।
त्यस्तै, नेपाल र भारतका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको सहभागितामा नेपाल–भारत व्यापार गोलमेच बैठक आयोजना गरिएको थियो। बैठकमा नेपालको लगानी सम्भावनाबारे जानकारी गराउँदै भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न प्रोत्साहित गरिएको मन्त्री खनालले बताए।
प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गरेका थिए। भेटमा नेपाल–भारतबीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
परराष्ट्रमन्त्री खनालले भारतीय उच्च राजनीतिक नेतृत्वसँग भएका छलफल र भेटघाटले दुई देशबीचको समझदारी, सहयोग तथा सहकार्यलाई थप विस्तार गरेको दाबी गरे।
उनले भने, “यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक, आर्थिक एवं विकास सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार भएको छ।”
उनका अनुसार छिमेकी मुलुकसँग एकअर्काका संवेदनशीलता बुझ्ने, आपसी समन्वयमा समस्याको समाधान खोज्ने र द्विपक्षीय हित प्रवर्द्धन गर्ने दृष्टिले पनि प्रधानमन्त्रीको भारत भ्रमण फलदायी भएको छ।
२०८३ मंसिर ९
ताजा नेपाल
२०८३ मंसिर ९
ताजा नेपाल
२०८३ मंसिर ९
ताजा नेपाल