Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुने भन्दै राज्यसत्ता, शासनशैली, राजनीतिक निष्ठा र आचरणमा समेत परिवर्तन आवश्यक रहेको बताएका छन्।
सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उनले गणतन्त्रको मर्म जोगाउन राजनीतिक दल, सरकार र नेतृत्व सबै जिम्मेवार र जनउत्तरदायी बन्नुपर्ने धारणा राखे।
‘राजनीतिक व्यवस्था र शासकीय संरचनामा परिवर्तन हुँदैमा युगको अपेक्षा पूरा हुँदैन । राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्य–मान्यतामा पनि परिवर्तन आउनुपर्छ,’ राष्ट्रपति पौडेलले भने, ‘अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्न सक्दैन ।’
उनले गणतन्त्रका आफ्नै नैतिक दायरा र मूल्य–मान्यता हुने उल्लेख गर्दै इतिहासप्रतिको जिम्मेवारी पूरा गर्न सबै एकताबद्ध हुनुपर्ने बताए।
राष्ट्रपति पौडेलले सामाजिक न्याय, विकास र समृद्धिलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। राजनीति, राज्य सञ्चालन र सार्वजनिक जीवनलाई नैतिकता र निष्ठाको सीमाभित्र राख्नुपर्ने उनको भनाइ थियो।
मुलुकमा देखिएको कठिन परिस्थितिपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत बलियो जनादेशसहित सरकार बनेको उल्लेख गर्दै उनले सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेको बताए।
उनले सरकारले अघि सारेका शासकीय सुधारका एक सय कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन भए जनतामा नयाँ आशा जाग्ने विश्वास व्यक्त गरे।
ढिलासुस्ती, अनियमितता र बेथितिलाई लोकतान्त्रिक गणतन्त्रका प्रमुख शत्रुका रूपमा चित्रण गर्दै उनले नागरिकलाई निराश हुन नदिन राज्य गम्भीर बन्नुपर्ने बताए।
‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म रगत र पसिनाले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन,’ उनले भने।
राष्ट्रपति पौडेलले नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्नुपर्ने बताए। आर्थिक विकासमार्फत शासन व्यवस्थालाई नागरिकको जीवनसँग प्रत्यक्ष जोड्नुपर्ने उनको धारणा थियो।
उनले राजनीतिक उपलब्धिलाई नागरिकको दैनिक जीवनसँग जोड्न राजनीतिक दल, नेतृत्व र शासकीय शैलीमा समेत सुधार आवश्यक रहेको बताए।
‘हाम्रो राजनीति, शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थालाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलाइ गर्नु हुँदैन,’ राष्ट्रपति पौडेलले भने।
उनले स्थानीय र प्रदेश सरकारले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए। यसले लोकतन्त्रको आधार अझ बलियो बनाएको उनको भनाइ थियो।
यसअघि गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नबोलेपछि सरकारको अनुरोधमा राष्ट्रपति पौडेलले सम्बोधन गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री बालेन पत्नी सहित सहभागी भएका थिए।
२०८३ जेष्ठ १५
ताजा नेपाल
२०८३ जेष्ठ १५
ताजा नेपाल
२०८३ जेष्ठ १५
ताजा नेपाल