Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजीनामा बुझाएकी यादव त्यसपछि भावुक देखिएकी थिइन्। प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएपछि कार्यालयबाट फर्किएकी हुन्।
मन्त्री यादवको राजीनामाको कारणबारे उनको सचिवालयका सदस्यहरूले प्रधानमन्त्रीको सचिवालयबाट राजीनामा दिन दबाब आएको दाबी गरेका छन्। उनीहरूका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेका थिए। ग्यास अभाव व्यवस्थापन गर्न नसकेको भन्दै राजीनामा मागिएको उनीहरूको भनाइ छ।
यद्यपि, राजीनामाअघि प्रधानमन्त्रीको सचिवालयबाट मन्त्रीसँग ग्यास अभावका विषयमा मौखिक स्पष्टीकरण मागिएको थियो कि थिएन भन्नेबारे प्रधानमन्त्रीको सचिवालयले आफूलाई जानकारी नभएको जनाएको छ।
ग्यास अभावकै विषयमा बुधबार मात्रै मन्त्री यादव संसदीय समितिमा उपस्थित भएकी थिइन्। काठमाडौंसहित विभिन्न जिल्लामा ग्यासको चरम अभाव देखिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्यसम्बन्धी समितिले उनलाई छलफलका लागि बोलाएको थियो। बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले समेत मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।
बैठकमा रास्वपा सांसद बदन भण्डारीले जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नसक्ने भए मन्त्रीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए। उनले रास्वपामै मन्त्री बन्न योग्य अन्य सांसदहरू रहेको बताएका थिए।
तर मन्त्री यादवले ग्यासको समस्या समाधान गर्न उद्योगी र कर्मचारीबाट पर्याप्त सहयोग नपाएको आरोप लगाएकी थिइन्। उनले ग्यास उद्योगको संख्या, उद्योगीलाई दिइएको अनुमति तथा बजार व्यवस्थापनमाथि प्रश्न उठाउँदै उद्योगीलाई कडाइ नगरेसम्म आपूर्ति सहज नहुने धारणा राखेकी थिइन्।
मन्त्री यादवले संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूबाट आफूलाई सहयोग नभएको बताउँदै आक्रोश व्यक्त गरेपछि उद्योगी व्यवसायीका विभिन्न संगठनले उनको अभिव्यक्तिको विरोध गरेका थिए।
त्यसैगरी, मन्त्रीले कर्मचारीतन्त्रबाट समेत पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएकी थिइन्। उनका सचिवालयका सदस्यहरूका अनुसार मन्त्रालयका कतिपय काममा कर्मचारी र प्रधानमन्त्री कार्यालयबाट अपेक्षित सहयोग नपाउँदा मन्त्री असन्तुष्ट थिइन्।
मन्त्रीको सचिवालयका एक सदस्यका अनुसार पछिल्ला केही सातादेखि ग्यास अभाव समाधानका विषयमा प्रधानमन्त्री कार्यालयबाट समेत पर्याप्त सहयोग नपाएको गुनासो मन्त्रीले गर्दै आएकी थिइन्। उनका अनुसार नयाँ उद्योग सञ्चालन गर्ने वा बन्द रहेका उद्योग सञ्चालनमा ल्याउनेलगायतका विषयमा मन्त्रालयले अघि बढाउन खोजेका केही काम प्रधानमन्त्री कार्यालयको हस्तक्षेपका कारण अघि बढ्न नसकेको थियो।
ती सदस्यले मन्त्रीले पटक–पटक प्रधानमन्त्री कार्यालयबाट सहयोग मागेको दाबी गरेका छन्। तर अपेक्षित सहयोग नपाएपछि बुधबार संसदीय समितिको बैठकमा मन्त्रीले ग्यास उद्योगी तथा कर्मचारीमाथि कडा अभिव्यक्ति दिएको उनको भनाइ छ।
मन्त्रीको सचिवालयका अर्का सदस्यले पछिल्लो समय यादवले आफूलाई मन्त्रालयभित्रैबाट अपमानित महसुस गरिरहेको दाबी गरेका छन्। संसद्मा समेत आफ्नो कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेपछि उनी थप दबाबमा परेको सचिवालयका सदस्यहरूको भनाइ छ।
मन्त्री यादवको राजीनामा ग्यास अभावसँग मात्रै जोडिएको नभई यसअघि नै प्रधानमन्त्रीको सचिवालयसँग उनको सम्बन्ध तनावपूर्ण बनेको दाबीसमेत गरिएको छ।
यसअघि पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको तथा त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्रीको सचिवालयले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गर्न खोजेको दाबी गरिएको थियो। उक्त विषयमा प्रधानमन्त्रीले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको भए पनि मन्त्रीलाई त्यसरी पक्राउ गर्न नमिल्ने जवाफ आएपछि घटना अघि नबढेको दाबी समाचारमा गरिएको छ।
त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट मन्त्रीसँग सोधपुछ गर्दै राजीनामा मागिएको भए पनि यादवले तत्काल राजीनामा नदिएको बताइएको छ। त्यतिबेला उनलाई मन्त्री पदबाट हटाउन नदिन रास्वपा सभापति रवि लामिछानेसमेत सक्रिय भएको दाबी गरिएको छ।
त्यस घटनापछि पदमा निरन्तर रहेकी यादवले यसपटक भने आफैँ राजीनामा दिएकी हुन्। उनी गत वर्ष चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेकी थिइन्। करिब पाँच महिना अर्थात् १५३ दिन मन्त्रालयको नेतृत्व गरेपछि उनले पदबाट बिदा लिएकी हुन्।
यसैबीच रास्वपा सांसद अमरेशकुमार सिंहले भने मन्त्री यादवको राजीनामालाई राजीनामा नभई बर्खास्तीका रूपमा व्याख्या गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सिंहले प्रधानमन्त्रीले चित्त नबुझेका मन्त्रीलाई बर्खास्त गर्न सक्ने भए पनि मन्त्रीलाई पक्राउ गर्न प्रहरी परिचालन गर्ने विषय गम्भीर भएको बताए।
उनले यादवले यसअघि नै राजीनामा दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिको भूमिकामाथि प्रश्न उठाए। मन्त्री यादवलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको दाबीप्रति संकेत गर्दै उनले प्रधानमन्त्री वा प्रधानमन्त्रीको सचिवालयले मन्त्रीलाई पक्राउ गर्न निर्देशन दिने अवस्था संसदीय व्यवस्थाका लागि गम्भीर विषय भएको बताए।
ग्यासको आपूर्ति व्यवस्थापनमा सरकारमाथि चौतर्फी दबाब बढिरहेका बेला उद्योगमन्त्री यादवको राजीनामाले सरकारभित्रको समन्वय, प्रधानमन्त्री कार्यालय र मन्त्रालयबीचको सम्बन्ध तथा ग्यास आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरीबारे थप प्रश्न उठाएको छ।
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २५
ताजा नेपाल