Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मोरङको विराटनगरमा प्रहरीले लखेटेपछि पोखरीमा हाम फालेर बेपत्ता भएका १७ वर्षीय किशोरको शव तीन दिनपछि फेला परेपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ।
विराटनगर महानगरपालिका–१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा फेला परेको हो।
शव पोस्टमार्टमका लागि कोशी अस्पताल लैजाने क्रममा आक्रोशित स्थानीय र मृतकका आफन्तले विरोध जनाउँदै सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा मृतकका आफन्त पर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकका परिवार र स्थानीय बासिन्दाले घटनाको निष्पक्ष छानबिन, किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कारबाही तथा परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै शव उठाउन अवरोध गरेका थिए। उनीहरूले प्रहरीविरुद्ध नाराबाजी गर्दै सडकसमेत अवरुद्ध गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे पोखरीको बीचभागमा मञ्जितको शव तैरिरहेको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा बोकेर जाँदै गरेका व्यक्तिहरूमाथि चेकजाँच गर्ने क्रममा मञ्जित मोटरसाइकल छाडेर भागेका थिए। भाग्ने क्रममा उनी नजिकैको पोखरीमा हाम फालेर बेपत्ता भएको प्रहरीको दाबी छ।
उक्त घटनामा मोटरसाइकलको पछाडि सवार भारतका ४१ वर्षीय शिवधर यादवलाई ६ किलो १३० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मञ्जित बेपत्ता भएपछि उनको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले संयुक्त रूपमा तीन दिनसम्म खोजी अभियान सञ्चालन गरेका थिए। शुक्रबार बिहान उनको शव फेला परेपछि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०८३ असार २७
ताजा नेपाल
२०८३ असार २७
ताजा नेपाल
२०८३ असार २६
ताजा नेपाल