Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी धरपकड तत्काल रोक्न सरकारसँग काँग्रेसकाे माग

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने तथा खोजी गर्ने प्रहरी गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले तत्काल यस्तो कार्य रोक्न सरकारसँग माग गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले कानुनविपरीत पक्राउ गर्ने, पत्रकारलाई दुःख दिने र सञ्चारगृहमा हस्तक्षेप गर्ने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेका हुन्।

सभापति थापाले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको टिप्पणी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धावा बोलेका अनेकौं घटना हामीले भोगेका हौं। आज पुनः तिनै विगतका निरंकुश प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो।’

कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै थापाले निरंकुश र स्वेच्छाचारी कदमविरुद्ध पार्टी निरन्तर उभिने बताएका छन्।

उनले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत कानुनी तथा संस्थागत प्रक्रिया रहेको बताएका छन्।

ती प्रक्रिया बेवास्ता गरेर सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई कमजोर बनाउने कार्य भएको कांग्रेसको ठहर छ। थापाले पत्रकारमाथि गरिएको धरपकडलाई दमनकारी कदम भन्दै घटनाको कडा शब्दमा भर्त्सना गरेका छन्।

कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग माग गरेको छ।

प्रधानमन्त्री सचिवालय भन्छ– घटनामा हाम्रो संलग्नता छैन

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत पत्रकार पक्राउबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको बताएकी थिइन्। घटनाबारे जानकारी पाएलगत्तै नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएको उनको भनाइ थियो।

एक मन्त्रीले पनि यस घटनाबारे सरकारलाई जानकारी नभएको र प्रहरीकै तहबाट कारबाही अघि बढाइएको बताएका थिए।

शुक्रबार प्रहरीले नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका प्रधानसम्पादक धीरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो। त्यस्तै, दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रीता बुढाथोकी र नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरेको थियो।

समाचार कक्षमै प्रहरीको प्रवेश, पत्रकार पक्राउ र खोजी

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरस्थित नेपालप्रेस डटकमको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो। कार्यालयमा काम गरिरहेका बेला सादा पोसाकमा पुगेका प्रहरीले उनलाई नियन्त्रणमा लिएर साइबर ब्युरोमा बुझाएका थिए।

प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको जनाएको भए पनि उनीमाथि लगाइएको आरोप र पक्राउको कानुनी आधारबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।

त्यस्तै, डीएनखबरका प्रधानसम्पादक धीरज बस्नेतलाई सुरुमा ईसेवा नम्बरसम्बन्धी विषयमा बुझ्नुपर्ने भन्दै फोन गरिएको थियो। सामान्य सोधपुछका लागि प्रहरी कार्यालय पुगेका उनलाई त्यहीँ नियन्त्रणमा लिइएको थियो। सोही क्रममा मोटिभेट न्युजका शोभराज बराल पनि प्रहरी नियन्त्रणमा परेका थिए।

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली अनामनगरस्थित दियोपोस्टको कार्यालय पुगेको थियो। प्रहरीले प्रधानसम्पादक विश्वकर्मा र सम्पादक बुढाथोकीको खोजी गर्नुका साथै कार्यालयमा रहेका पत्रकारका मोबाइलसमेत जाँच गरेको सञ्चारगृहले जनाएको छ।

नयाँ पत्रिकाको कार्यालयमा पनि प्रहरी पुगेर पत्रकार नवराज मैनालीको खोजी गरेको थियो। उनी नभेटिएपछि प्रहरीले सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा विवाद गरेको थियो।

एकै दिन विभिन्न सञ्चारगृहमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने गतिविधि भए पनि यी घटनाबीच आपसी सम्बन्ध छ वा छैन भन्ने स्पष्ट भएको छैन। प्रहरीले सम्बन्धित पत्रकारमाथि कुन कसुरमा अनुसन्धान गर्न खोजेको हो, उजुरी परेको छ कि छैन र पक्राउ गर्नुपर्ने आधार के हो भन्नेबारे पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन।

जेनजी पत्रकार फोरमको पनि आपत्ति

पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाप्रति जेनजी पत्रकार फोरम नेपालले पनि आपत्ति जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै फोरमले समाचारको विषयलाई लिएर पत्रकारमाथि भइरहेको धरपकडलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भनेको छ।

समाचारप्रति चित्त नबुझे खण्डन गर्ने, कानुनी उपचार खोज्ने र स्थापित संस्थागत प्रक्रियाको अवलम्बन गर्ने बाटो हुँदाहुँदै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्नु तथा कार्यालयमै पुगेर खोजी गर्नु स्वीकार्य नहुने फोरमको भनाइ छ।

फोरमले नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको स्मरण गराएको छ। त्यस्तै, धारा २० अनुसार पक्राउ परेका व्यक्तिलाई पक्राउको कारण जानकारी गराउनुपर्ने र कानुन व्यवसायीसँग परामर्श लिन पाउने अधिकार रहेको उल्लेख गर्दै कानुनी प्रक्रिया पूरा नगरी पत्रकारमाथि धरपकड गर्न नहुने जनाएको छ।

समाचारमा उठाइएका विषयको छानबिनका नाममा पत्रकारलाई त्रसित बनाउने, कार्यालयमै पुगेर पक्राउ गर्ने र समाचार लेखेकै आधारमा अपराधीसरह व्यवहार गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने फोरमले जनाएको छ।

पत्रकारलाई निर्भीकतापूर्वक काम गर्ने वातावरण सुनिश्चित गर्न सरकार र प्रहरीसँग माग गर्दै फोरमले प्रेस स्वतन्त्रता पत्रकारको मात्र सरोकार नभई लोकतन्त्र, नागरिकको सूचनाको हक र राज्यको जवाफदेहितासँग जोडिएको विषय भएको बताएको छ।

यसअघि प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्वबारे प्रकाशित समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै भ्रामक सूचना सम्प्रेषण गर्नेमाथि अनुसन्धान र कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो। त्यसको भोलिपल्ट विभिन्न सञ्चारगृहमा प्रहरी पुगेपछि प्रहरीको कार्यशैली, पत्रकारको सुरक्षा, समाचार स्रोतको गोपनीयता र प्रेस स्वतन्त्रताको विषयमा बहस चर्किएको छ।