Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी नेतृत्व तहमा अविश्वास चुलिँदै

काठमाडौं । नेपाल प्रहरीको उच्च नेतृत्वमा आन्तरिक विवाद र अविश्वास बढिरहेका बेला पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) अनिवार्य अवकाशमा जाने भएका छन्। ३० वर्षे सेवा अवधिका कारण आगामी पुस ५ गतेदेखि उनीहरू अवकाशमा जान लागेका हुन्।

प्रहरी किताबखानाले अवकाश हुन लागेका एआईजीहरूलाई केही दिनभित्रै अवकाशसम्बन्धी पत्र बुझाउने तयारी गरेको छ। अवकाशमा जानेमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखसमेत छन्।

एकातिर प्रहरीको उच्च तहमा अवकाशको तयारी भइरहेको छ भने अर्कोतिर संगठनभित्रै नेतृत्वलाई लिएर विवाद चर्किएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र उनकै ब्याची एआईजी मनोजकुमार केसीबीच आन्तरिक बैठकमै चर्काचर्की भएको छ। केही एआईजीले आईजीपीलाई विवादमा तान्न संगठनभित्रैबाट चलखेल गरेको आरोपसमेत लागेको छ।

गत बिहीबार बसेको प्रहरी नीति समन्वय समिति (पीसीसी) बैठकमा आईजीपी कार्कीले नेतृत्वविरुद्ध संगठनभित्रैबाट असहयोग भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। संगठनलाई बदनाम गर्ने गरी नेतृत्वमाथि प्रहार भइरहेको उनको भनाइ थियो।

बैठकमा एआईजी केसीले आफूलाई आईजीपीविरुद्ध भइरहेका गतिविधिसँग जोडेर शंका गरिएको भन्दै प्रतिवाद गरेका थिए। बैठकमा सहभागी एक डीआईजीका अनुसार कार्की र केसीबीच यही विषयलाई लिएर चर्काचर्की भएको थियो।

बैठकमा केही एआईजीले व्यक्तिले गरेको गलत कामको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने भन्दै त्यसकै आधारमा समग्र संगठन र नेतृत्वलाई बदनाम गर्न नहुने धारणा राखेका थिए। अधिकांश प्रहरी अधिकारीले भने आईजीपी कार्की र वर्तमान नेतृत्वको पक्षमा बोलेका थिए। केसीसहित दुई डीआईजीले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेको बताइएको छ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आईजीपी कार्कीले पनि संवाद गरेको म्यासेज भेटिएको विषयलाई लिएर आफूलाई विवादमा तान्न खोजिएको कार्कीको असन्तुष्टि रहेको बैठकमा सहभागी अधिकारीको भनाइ छ। यद्यपि, उक्त संवादमा कुनै मुद्दा वा अनुसन्धान प्रभावित पार्ने विषय नभई सामान्य कुराकानी मात्रै रहेको बताइएको छ।

उक्त बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख डीआईजी तथा उपत्यकाभित्रका एसएसपीभन्दा माथिल्लो तहका अधिकारीहरूलाई सहभागी गराइएको थियो।

यसैबीच, एआईजी केसीले आईजीपी कार्की र अर्का एआईजी राजन अधिकारीलाई विवादमा तान्न बिचौलियासँग गरेको भनिएको अडिओ संवाद सार्वजनिक भएको विषयले पनि प्रहरी संगठनभित्र तरंग पैदा गरेको छ। उक्त अडिओको आधिकारिकता भने पुष्टि भइसकेको छैन।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले नेपाल प्रहरीमा नेतृत्वविरुद्ध दोस्रो वरीयताका अधिकारीहरू सक्रिय हुने प्रवृत्ति नयाँ नभएको बताए। तर, अहिले संगठनभित्रको भन्दा बाहिरबाट भइरहेको चलखेल झन् चिन्ताजनक रहेको उनको टिप्पणी छ।

‘नेपाल प्रहरीमा यस्तो पहिल्यैदेखि हुने गरेको हो। अहिले मनोज केसीले मात्रै गरेको होइन। अरू प्रहरी अधिकारीहरूले पनि यही बेला मौका छोपेका हुन्छन्। प्रहरीभित्रबाट भन्दा पनि बाहिरबाट भइरहेको चलखेल झन् डरलाग्दो छ। सत्ताले प्रहरीलाई दुरुपयोग गर्न नेतृत्वलाई दबाबमा राख्न यस्तो भइरहेको देखिन्छ,’ मल्लले भने।

आईजीपी कार्कीले पीसीसी बैठकमा असन्तुष्टि जनाएपछि केही एआईजीले त्यस्ता गतिविधिमा संलग्न अधिकारीमाथि कारबाही गर्नुपर्ने धारणा राखेका थिए। त्यसको प्रतिवाद गर्दै अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका एआईजी केसीले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए।

कार्कीलाई हटाएर आफू आईजीपी बन्न केसीले चलखेल गरिरहेको आरोपसमेत उनीमाथि लागेको छ। तर, केसीले बैठकमै त्यसको खण्डन गरेका थिए।

आईजीपी कार्की र एआईजी केसी एउटै ब्याचका अधिकारी हुन्। एआईजी राजन अधिकारी र ईश्वर कार्की पनि उनीहरूकै ब्याचका हुन्। पहिलो वरीयतामा रहेका राजन अधिकारीसमेत बिचौलिया इनम सापकोटासँगको संवादका कारण विवादमा तानिएका छन्।

सापकोटामाथि व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सेटिङ गरेको आरोप लागेको छ। यही प्रकरणपछि भट्टलाई नक्खु कारागारबाट सिन्धुपाल्चोक पुर्‍याइएको थियो। भट्टमाथि सीआईबीले अनुसन्धान गरेको समयमा केसी नै ब्युरो प्रमुख थिए।

त्यसपछि सरकारले केसीलाई सीआईबीबाट अपराध अनुसन्धान विभागमा सरुवा गरेको थियो। हाल अधिकारी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा र कार्की मानवस्रोत विभागमा कार्यरत छन्।

एकैपटक ५ एआईजी र ३ डीआईजी अवकाशमा

प्रहरी संगठनको उच्च तहमा विवाद चर्किरहेका बेला पाँच एआईजी र तीन डीआईजी एकैपटक अवकाशमा जाने भएका छन्। २०५३ पुस ५ गते प्रहरी सेवामा भर्ना भएका अधिकारीहरू ३० वर्षे सेवा अवधिका कारण आगामी पुस ५ गते अनिवार्य अवकाशमा जान लागेका हुन्।

अवकाशको मिति यसअघि नै जानकारी गराइसकिएको छ। प्रहरी किताबखानाले अवकाश हुनुभन्दा एक महिनाअघि नै सम्बन्धित अधिकारीलाई पत्र बुझाउने व्यवस्था अनुरूप केही दिनभित्रै उनीहरूलाई पत्र दिने तयारी गरेको छ।

अवकाशमा जाने एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्।

शाह प्रदेश समन्वय विभागमा कार्यरत छन्। राठौर उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हुन् भने चतुर्वेदी सीआईबी प्रमुखका रूपमा कार्यरत छन्। त्यस्तै, श्रेष्ठ कार्य विभाग र विक प्रशासन विभागको नेतृत्वमा छन्।

नेपाल प्रहरीमा प्राविधिकतर्फको एक दरबन्दीबाहेक आठ एआईजीको दरबन्दी रहेको छ। पाँच जना अवकाशमा गएपछि पुस ५ गतेदेखि प्रहरीमा तीन जना मात्रै एआईजी रहनेछन्।

उनीहरूसँगै २०५३ सालकै ब्याचका डीआईजीहरू ओम राना, दिलीपनाथ देउवा र सुरेन्द्र गुरुङ पनि अवकाशमा जानेछन्।

२०५३ सालको ब्याच अवकाशतर्फ अघि बढिरहँदा २०५४ सालमा भर्ना भएका प्रहरी अधिकारीहरू भने संगठनभित्र नेतृत्व र वरीयताको प्रतिस्पर्धामा छन्। उक्त ब्याचका अधिकारीहरू अझै करिब १७ महिना अर्थात् २०५४ चैतसम्म सेवामा रहनेछन्।

यसरी प्रहरीको उच्च तहमा एकातिर नेतृत्वबीचको असमझदारी र आरोप–प्रत्यारोप बढिरहेको छ भने अर्कोतिर ठूलो संख्यामा वरिष्ठ अधिकारीहरू अवकाशमा जाँदा संगठनको नेतृत्व संरचनामा समेत फेरबदल हुने देखिएको छ।