प्रहरी प्रमुखमाथिको व्यवहारप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीमाथि सांसदहरूले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्।
शुक्रबार संसद्को कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आरोप र उजुरीकै आधारमा कसैको चरित्रमाथि प्रश्न उठाउन नमिल्ने बताए। उनले प्रहरी प्रमुखमाथि समितिमा प्रस्तुत गरिएको व्यवहारप्रति सरकार सन्तुष्ट नरहेको स्पष्ट पारे।
‘प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको छ, त्यसप्रति गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। त्यसप्रति हामी खुसी छैनौँ। वी आर नट ह्याप्पी,’ उनले भने, ‘आरोप र उजुरीका भरमा हामी न्यायाधीश बन्न पनि हुँदैन।’
गत बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका पोसाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छलफल भएको थियो।
छलफलका क्रममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी प्रमुखमाथि तत्काल छानबिन गर्नुपर्ने माग गरेका थिए। उनले नैतिक र कानुनी प्रश्न उठेको भन्दै तत्काल जिम्मेवारीबाट हटाउनुपर्ने धारणा राखेका थिए।
‘नैतिकता छ भने तपाईंहरूले छोड्नुपर्छ। कानुनी राज्य हो भने बर्खास्ती गरिनुपर्छ, आजै, अहिल्यै, राइट नाउ,’ सांसद सुनारले भनेका थिए।
उनले तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखलाई सेवाबाट निलम्बन गरी जिम्मेवारीबाट हटाएर छानबिनको दायरामा ल्याउनुपर्ने मागसमेत गरेका थिए।
यता, गृहमन्त्री गुरुङले भने संसदीय समितिमा उठेका आरोपलाई आधार बनाएर सम्बन्धित व्यक्तिमाथि पूर्वाग्रही ढंगले निष्कर्ष निकाल्न नहुने धारणा राखेका छन्।