Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रोटोकल बिर्सिएर भारतीय विदेश सचिव मिस्रीसँग आज प्रधानमन्त्री बालेनको भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग आज भेटवार्ता गर्ने भएका छन्। दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका मिस्रीले प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम तय भएको हो।

मिस्रीले यसअघि नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। साथै उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुनेछ।

यसअघि प्रधानमन्त्री बालेनले विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी प्रतिनिधिसँग भेट नगर्ने प्रोटोकल बनाएका थिए। सोही अडानका कारण भारतीय विदेश सचिव मिस्रीको गत मे महिनाका लागि तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको थियो। प्रधानमन्त्रीसँग भेटको समय नपाएपछि मिस्रीको भ्रमण रोकिएको घटनाले नेपाल–भारत कूटनीतिक सम्बन्धमा समेत असहजता सिर्जना गरेको थियो।

प्रधानमन्त्री बालेनले यसअघि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियासम्बन्धी विशेष दूत सर्जियो गोरसँग पनि भेट गरेका थिएनन्। विदेशी अधिकारीसँगको भेटघाटमा उच्च तहका पदाधिकारीलाई मात्र प्राथमिकता दिने उनको नीतिका कारण कूटनीतिक वृत्तमा चर्चा भएको थियो।

तर पछिल्लो समय उक्त प्रोटोकलमा परिवर्तन आएको देखिएको छ। प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतहरूसँग समेत छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्। भारतीय विदेश सचिवसँग हुन लागेको भेटलाई पनि बदलिँदो कूटनीतिक प्राथमिकताका रूपमा हेरिएको छ।

मिस्रीको भ्रमणलाई प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणको तयारीसँग समेत जोडेर हेरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बालेनले नोभेम्बरको अन्तिमतिर भारत भ्रमण गर्ने तयारी भइरहेको छ। यो भ्रमण उनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ।

भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, सीमापार कनेक्टिभिटी तथा लगानीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। त्यस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवाद पनि द्विपक्षीय वार्ताको संवेदनशील विषय बन्न सक्नेछ।

भारत र चीनले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सहमति गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदै आएको छ। यस विषयमा नेपालको अडान र सीमा विवाद समाधानको पहल पनि आगामी कूटनीतिक संवादका महत्त्वपूर्ण विषय हुन सक्छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा हुनुका साथै आपसी हित र चासोका विषयमा छलफल हुनेछ।