Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फकल्याण्ड विवादमा अर्जेन्टिनाको पक्षमा अमेरिका

वाशिङ्टन । फिफा विश्वकप २०२६ को सेमिफाइनलपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्याण्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्दै प्रदर्शन गरेको विषयमा अमेरिकाले अभिव्यक्ति स्वतन्त्रताको पक्ष लिएको छ।

इङ्ग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिनी टोलीले ‘फकल्याण्ड टापु अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनलाई फिफाले आफ्नो राजनीतिक सन्देशसम्बन्धी नियमको उल्लंघन हुन सक्ने भन्दै समीक्षा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस विषयमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ह्वाइट हाउसको फिफा कार्यदलका प्रमुख एन्ड्रू जुलियानीले अमेरिकी भूमिमा खेलाडीहरूलाई आफ्नो धारणा व्यक्त गर्ने अधिकार रहेको बताए।

उनले अमेरिकी संविधानको पहिलो संशोधनको उल्लेख गर्दै भने, “संयुक्त राज्य अमेरिकामा हामी अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा विश्वास गर्छौं।”

जुलियानीको अभिव्यक्तिलाई यस विवादमा अमेरिकाको स्पष्ट संकेतका रूपमा हेरिएको छ। यसअघि बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले भने घटनाबारे फिफाले अनुसन्धान गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेको छ।

दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको फकल्याण्ड टापु हाल बेलायतको विदेशी भूभाग हो। तर, उक्त टापुमाथि बेलायत र अर्जेन्टिनाबीच दशकौँदेखि सार्वभौमिकताको विवाद कायम छ।

फिफाले भने उक्त घटनालाई आफ्नो राजनीतिक तटस्थतासम्बन्धी नियमअनुसार अध्ययन गरिरहेको बताइएको छ।