Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ४ मंसिरमा भएको आमनिर्वाचनका बेला र नतिजा आइसक्दासम्म नेपाली राजनीतिमा पाँचदलको ‘दबदबा’ जस्तै थियो। यद्यपि चुनावअघि बनेको पाँचदलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी जसपा बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको प्रवेश भयो। चुनावको अन्तिम नजिता सार्वजनिक भइसकेपछि नयाँ सरकार निर्माणका लागि दलहरूको दौडधुप सुरू भयो। त्यो दौडमा सबैभन्दा अगाडि थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। सरकारको नेतृत्व गर्ने प्रचण्डको अपार चाहनाले प्रतिनिधिसभा विघटनकालदेखि चुनावसम्म सहकार्य गर्दै आइरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दूरी बढाइदियो।
सरकारको नेतृत्व गर्ने देउवाको पनि उत्तिक्कै चाहना थियो। पहिले सरकारको नेतृत्व कसले गर्ने विषयमा दुवै नेता सहमतिमा पुग्न सकेनन्। र, त्यही टकरावको फाइदा उठाए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले। चुनावअघिदेखि पाँचदलीय गठबन्धन भत्काउने ओलीको प्रयास सरकार गठनका बेला सफल भयो। कांग्रेस सभापति देउवालाई सरकार गठनका लागि सहयोग गर्ने आश्वासन दिएका ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हात मिलाए। एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने।
हुँदाहुँदै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भयो। पाँचदलीय गठबन्धन भत्काउन सफल भएपछि ओली हौसिए। गठबन्धनको राजनीतिमा कांग्रेस एक्लियो। प्रतिपक्षमा बस्न बाध्य भएर उकुसमुकुसमा परेको कांग्रेसले एउटा रणनीतिक ‘मुभ’ चल्यो। त्यो थियो–प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत। प्रतिपक्षमा बसेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णयले एमालेलाई त्यही बेला झस्काइदिएको थियो। कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुपछाडिको प्रमुख कारण थियो राष्ट्रपति निर्वाचन। २५ फागुनमा हुनलागेको राष्ट्रपति निर्वाचनअघि कांग्रेस नेताहरूले ‘अप्राकृतिक’ ढंगबाट बनेको गठबन्धन टुटाउन सबै प्रयास गर्ने सार्वजनिक रूपमै उदघोष गरे।
कांग्रेस महामन्त्री गगन थापाले त फागुन १० मा यो गठबन्धन भत्किने केही दिनअघि नै घोषणा गरेका थिए। थापाले दाबी गरेकै दिनमा नभए पनि दुई दिनपछि गठबन्धन भत्किएको छ। र, ओली फेरि एकपटक एक्लिएका छन्। पछिल्लो दुई महिनासम्म राजनीतिको केन्द्रमा देखिएका उनी लगभग ‘बाजी’ हारिसकेका छन्। भावी राष्ट्रपतिका लागि उनी आफ्नो पार्टी एमालेबाट उम्मेदवार खडा गर्ने अडान लिएका थिए। यसको पछाडि ओलीको दाबी थियो, १० पुसको सहमति।
१० पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दा राष्ट्रपति आफूहरूले पाउने सहमति भएको दाबी ओलीको थियो। शुक्रबारमात्रै संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपतिमा एमालेको उम्मेदवारी रहने बताए। ओलीले पुस १० को प्रसंग पनि कोट्याए। भने,‘पुस १० मै हामीले निर्णय गरिसकेका छौं। हाम्रो उम्मेदवारी रहन्छ।’ तर, ओलीले भनेको पुस १० को त्यो सहमति शुक्रबार साँझ भंग भइसकेको छ। कांग्रेस, माओवादीसहितको ८ दलको नयाँ गठबन्धन बनेको छ।
साँझ बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सर्वसम्मत निर्णय गरेको छ। राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा सबै राजनीतिक दल सहमत भएका छन्।
प्रचण्डको प्रस्तावलाई नेकपा ९एकीकृत समाजवादी०, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएको छ।
बालुवाटार बैठकबाट भएको निर्णयलाई नेताहरूले ‘कोर्स करेक्सन’ भनेका छन्। ‘केही त्रुटीका कारण पाँचदलीय गठबन्धन टुटेको थियो,’ बैठकमा सहभागी कांग्रेसका एक नेताले भने,‘कोर्स करेक्सन भएको छ। विगतमा भएका त्रुटीहरू सुधार गरेर अगाडि बढ्ने सहमति बनेको छ।’ नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनका सन्दर्भमा निर्माण भएको यो गठबन्धनलाई दीर्घकालसम्म निरन्तरता दिने सह मति जुटेको छ। जसपा नेता राजेन्द्र श्रेष्ठले विगतका त्रुटीहरूलाई सच्याउँदै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि एकजुट भएर अगाडि बढ्ने सहमति भएको बताए।
‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने सर्वसम्मत निर्णय भयो, यो विषयमा सबै दल सहमत भएका छन्,’ उनले भने,‘कोर्स करेक्सनको दिशामा अगाडि बढेका छौं। संविधान र गणतन्त्रको रक्षाका लागि सबै दल एक ठाउँमा उभिएका छौं।’ १० पुुसमा बालकोट बैठकमा नयाँ गठबन्धन निर्माण हुँदा एमाले अध्यक्ष ओलीको साथमा माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी थियो। १२ माघ साँझ बालुवाटार बैठकको निर्णयपछि अब उनीसँग राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीमात्रै रहेको छ। निर्माण भएको दुई महिना दुई दिनभित्र एमाले अध्यक्ष ओलीले बनाएको गठबन्धन भत्किएको छ।
तीन शीर्ष नेताको गोप्य बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा शक्ति बाँडफाँटको विषयले पनि प्रवेश पाएको थियो। राष्ट्रपति कांग्रेसले लिँदा उपराष्ट्रपति, सरकारको नेतृत्वलगायतका विषयमा समेत छलफल भएको छ। राष्ट्रपतिका लागि कांग्रेसका साथै एकीकृत समाजवादीले पनि दाबी गरेको थियो। स्रोतका अनुसार शक्ति बाँडफाँटका विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बालुवाटारमै गोप्य छलफल भएको थियो। ‘यतिबेला हाम्रो फोकस भनेको राष्ट्रपति निर्वाचन हो, मुख्य रूपले यही विषयमा निर्णय गरेका छौं,’ बैठकमा सहभागी कांग्रेसका ती नेताले भने,‘पावर सेयरिङको विषयमा समान्य छलफलमात्रै भएको छ। तीनै पार्टीका अध्यक्षहरूले छुट्टै छलफल गर्नुभएको छ।’ ती नेताका अनुसार पहिले राष्ट्रपतिको विषयलाई टुंग्याएर अरू कुरा विस्तारै गर्दै जाने निष्कर्षमा शीर्ष नेताहरू पुगेका छन्। यद्यपि उपराष्ट्रपति जसपा, एक वर्षका लागि सरकारको नेतृत्व एकीकृत समाजवादीलाई गर्ने सहमति शीर्ष नेताहरूबीच भएको स्रोतले बतायो।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल