Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फोहोरले राजधानीमा अर्को महामारी निम्त्याउँदैछ

काठमाडौं। विगत एक हप्तादेखि काठमाडौं महानगरपालिका भित्रको फोहोर उठ्न सकेको छैन। फोहोर काठमडौं महानगरभित्रको मात्र होइन, काठमाडौं र ललितपुरबाट सिसडोल ल्याण्डफिलमा जाने सबै फोहोर उठेको छैन। काठमाडौं महानगरपालिकाले केहीदिन पहिला फोहोर घरबाट बाहिर ननिकाल्न सूचना नै जारी गरे पनि अहिले काठमाडौं महानगरका विभिन्न चोक तथा खोलाका किनारहरुमा फोहोरको थुप्रो देखिन थालेको छ। महानगरपालिकाको वातावरण विभागका अनुसार सिसडोल जाने बाटो वर्षाका कारण विग्रिएको छ। उक्त बाटोबाट फोहोरको गाडीहरु जान नसक्ने भएकाले अहिलेसम्म फोहोर उठाउन सकिएको छैन। दैनिक करिव पाँच सय टन फोहोर उठ्ने काठमाडौं महानगरपालिका र उत्तिकै फोहोर उठ्ने ललितपुर महानगरपालिकाको फोहोर नउठेपछि दुर्गन्ध फैलिएको हो। महानगरका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले भने, ‘वर्षाको समय भएकाले अन्य समयमा भन्दा बढी फोहर उत्पादन हुने गर्दछ, विगत चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन।’ ‘सकेसम्म कम फोहर निकाल्ले र त्यसलाई बाहिर सडकमा नभई घरमा नै व्यवस्थापन गर्न नागरिकलाई अनुरोध गर्दछु’, उनले भने, ‘ निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहरको थुप्रो व्यवस्थापन गर्न केही असहज भएको छ र तत्कालका लागि केही व्यवस्थापन गर्ने प्रयास भइरहेको भए पनि अझै केही दिन लाग्छ।’
‘एउटा मात्र समस्या हैन’ श्रेष्ठले भने, ‘समस्या दुई तिर नै छ। एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको वर्षाका कारणले बिग्रेको छ। सडक मर्मतका लागि पनि केही दिन लाग्छ र भरिएको सिसडोललाई पनि व्यवस्थापन गर्न केही दिन लाग्छ।’ उनका अनुसार उपत्यकाको गोकर्णेश्वर नगरपालिकाबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ। यस्तै, नागार्जुन नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका र बूढानीलकण्ठ नगरपालिका क्षेत्र हरेकबाट हरेक दिन ३५–३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरपालिकाको भनाइ छ।
काठमाडौंको चन्द्रागिरि, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुरथिमी नगर क्षेत्रबाट दैनिक ३०–३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरले जानकारी दिएको छ। यस्तै, ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट २५–२५ मेट्रिक टन फोहोर सिसडोल ल्याण्डफिलमा जाने गरेको थियो।
काठमाडौंमा फोहोर थुप्रिन थालेपछि सरुवारोगहरुको जोखिम बढेको जनस्वास्थ्य विदहरुको भनाइ छ। एकातर्फ कोरोना महामारीले थला पारेका नागरिकलाई पुन काठमाडौंमा जम्मा भएको फोहोरले अरु कुनै सरुवारोग फैलिन सक्ने खतरा रहेको उनीहरुको भनाइ छ। सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनः फोहोर धेरै जम्मा हुन थालेपछि विभिन्न खाले सरुवारोगको सम्भावना रहने बताउँछन्। उनले भने, ‘फोहोरका कारण लाग्ने सबै खाले रोगहरुको सम्भावना रहन्छ। झाडापखला, आउँ जो फोहोरबाट हामीमा सर्ने गर्छन।’ फोहोरबाट उत्पन्न हुने किटाणुहरु हावामा फैलिने र त्यहाँबाट हाम्रो खानेकुरा, स्वास प्रस्वासबाट पनि हामीमा संक्रमण हुन सक्ने उनको भनाइ छ। उनले पनि फोहोर नउठ्ने बेलासम्म हरेकले स्वयमता अपनाएर घरभित्र नै व्यवस्थित गरेर राख्न आग्रह गरे।
‘घरभित्र पनि व्यवस्थित गरेर राख्न सक्छौं’ उनले भने, ‘बाहिर थुपार्दा समस्या हुन्छ। घरभित्र त थुप्रो हुँदैन नि। महानगरले सूचना पनि निकालेको छ केही दिन सहयोग गरे मात्र पनि संक्रमण तथा सरुवा रोगबाट बच्न सकिन्छ।’


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल