Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नयाँ पद सिर्जना गरेर बढुवा गरिएको करिब चार वर्षपछि सरकारले नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ) को तलबमान र ग्रेड समायोजन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो । यसअघि वरिष्ठ सइले बढुवा हुँदा पनि खाइपाइ आएकोभन्दा कम तलब पाउँदै आएका थिए । गृह मन्त्रालय स्रोतका अनुसार अब वरिष्ठ सइले पाँच ग्रेडसम्म पाउने भएका छन् । यसअघि दुई ग्रेडसम्म मात्र हुँदा उनीहरूको तलब सइको भन्दा कम भएको थियो । तह र फुली बढ्दा पनि वरिष्ठ सइको तलब घटेपछि उनीहरू सर्वोच्च अदालतसमेत गएका थिए । गत १७ साउनमा सर्वोच्चले उनीहरूको तलबमान समायोजन गरी ग्रेड बढाउन परमादेश दिएको थियो । सो परमादेशको पनि करिब १० महिनापछि कार्यान्वयन गरिएको हो ।
कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबिच वरिष्ठ सइ पद थपेको थियो । वरिष्ठ सइको एक हजार ४१८ जनाको दरबन्दी छ । वरिष्ठ सइको आधारभूत तलब ४० हजार ९९८ रुपैयाँ छ । उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले ४३ हजार ७३२ मात्र पाउने गरेका थिए । तर, सइको तलब भने ४३ हजार ९९४ रुपैयाँसम्म छ । वरिष्ठ सइले अधिकतम दुई ग्रेड मात्र पाउने प्रावधान राख्दा यस्तो समस्या सिर्जना भएको थियो । प्रहरी नियमावलीको नियम १४३ मा कुनै प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुँदाको बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सुविधासम्बन्धी सेवाका सर्तमा निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिनेछैन भन्ने व्यवस्था छ । सो प्रावधानविपरीत वरिष्ठ सइको तलब घटेको थियो । सइबाट वरिष्ठ सइमा बढुवा हुँदा काँधमा फुली बढे पनि तलब घटेपछि निराश बनेका प्रहरी अधिकारीले ०८० को असार र पुसमा रिट हालेका थिए । उनीहरूले बढुवा भएकै वेलादेखिको तलब वृद्धिको माग गरी रिट दायर गरेकोमा सर्वोच्चले मागअनुसार हुने फैसला गरेको थियो ।
२०८२ जेष्ठ ५
ताजा नेपाल
२०८२ जेष्ठ ५
ताजा नेपाल
२०८२ जेष्ठ ५
ताजा नेपाल