Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा (एमाले) ले नयाँ केन्द्रीय कार्यालय भवन आफ्नै जग्गामा निर्माण गर्ने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङ दम्पत्तिबाट भवन दान लिने यसअघिको निर्णय फिर्ता गर्दै बल्खुको मदननगरस्थित पार्टीको जग्गामै नयाँ भवन निर्माण गर्ने निर्णय गरेको हो।
सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले गुरुङ दम्पत्तिको प्रस्तावप्रति आभार व्यक्त गर्दै उक्त प्रस्ताव फिर्ता गर्ने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार पार्टीको स्वामित्वमा रहेको मदननगरस्थित जग्गामा आधुनिक कार्यालय भवन निर्माण गर्न प्राविधिक रूपमा सम्भव रहेको प्रतिवेदन प्राप्त भएपछि नयाँ निर्णय गरिएको हो।
“कलंकीमा भवन निर्माणको प्रस्ताव गर्नुहुने मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवाद व्यक्त गर्दै उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र बल्खुको मदननगरस्थित आफ्नै जग्गामा नयाँ केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय भएको छ,” भट्टले बताए।
एमाले २०७८ सालदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टी गतिविधि सञ्चालन गर्दै आएको छ। यसअघि व्यवसायी मीनबहादुर गुरुङले करिब एक अर्ब रुपैयाँ बराबरको कार्यालय भवन दान गर्ने प्रस्ताव गरेका थिए।
सोही प्रस्तावअनुसार २०८१ साल असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले प्रस्तावित भवनको शिलान्याससमेत गरेका थिए। तर पछिल्लो निर्णयसँगै अब पार्टीले आफ्नै स्वामित्वको जग्गामा केन्द्रीय कार्यालय निर्माण प्रक्रिया अघि बढाउने भएको छ।
पार्टी नेतृत्वले नयाँ भवन निर्माणले दीर्घकालीन रूपमा संगठनात्मक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरेको छ।
२०८३ जेष्ठ ११
ताजा नेपाल
२०८३ जेष्ठ ११
ताजा नेपाल
२०८३ जेष्ठ ११
ताजा नेपाल