Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बादलका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख डीपी अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद मनिष खनालले बादलको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याएपछि सभामुखले रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् । सांसद खनालले बादलको अभिव्यक्तिले नागरिकका चेतना माथि निरन्तर प्रहार गरेको आरोप लगाए । उनले भने, ‘उहाँले आफ्ना कुरा राख्दा चुनावी परिणाम एआई’ र अल्गोरिदम, विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम’ भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ । उहाँले यो सभालाई अराजकहरूको भीड र अस्वाभाविक गठजोड भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ यो अत्यन्तै आपत्तिजनक र अमर्यादित छ। यस्तै राष्ट्रिय झन्डा ओढेर देश चलाउनेहरू, नेपाली सेना किन मूकदर्शक ? भन्ने जस्ता शब्दहरू प्रयोग गरेर सेनामाथि समेत प्रश्न उठाएको भन्दै आपत्ति जनाए। उनले थपे, नेपाली सेनालाई यसरी सस्तो शब्दमा, यसरी विरोधमा यसरी प्रयोग गरिनु अत्यन्तै आपत्तिजनक छ, अमर्यादित छ। नेपाली सेना भनेको सम्पूर्ण नेपालीको आशा र भरोसाको केन्द्रबिन्दु रहेको छ। कुनै पनि राजनीतिक दलको इशारामा ननाच्नु भनेकै आधारमा केही काम नगर्नु नै नेपाली सेना मूकदर्शक हुनु भन्ने उहाँले जुन हिसाबले कुरा राख्नुभएको छ, त्यो अत्यन्तै आपत्तिजनक छ। उनले बादलले सभामुखलाई समेत लाचार र नतमस्तक भन्ने आरोप लगाएको स्मरण गराए।