Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबुरामलाई किन स्पेश दिँदैनन् प्रचण्ड

काठमाडौं । माओवादी जनयुद्धको रथ प्रचण्ड र बाबुरामकै दुई पाङ्ग्राले चलेको थियो । तर अहिले यी दुवैको यात्रा फरक भएको छ । नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताको सम्भावना तत्कालका लागि टरेको छ। माओवादीका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा. भट्टराई एकता तत्काल नगर्ने मुडमा पुगेको दुवै नेताका निकटस्थहरुले नेपालखबरलाई जानकारी दिए। भट्टराई संगठन विस्तारको अभियान लिएर जिल्लाजिल्ला पुगिरहेका छन्। भट्टराईले आफू निकट नेतालाई माओवादीसँग तत्काल एकता टरेको बताइसकेका छन्। झुक्याएर समाजवादी मोर्चा घोषणा गरेको भन्दै उनी प्रचण्डप्रति निकै आक्रोशित छन्। उनका अनुसार असार २ गते बालुवाटारमा भेट गर्दा प्रचण्डले एक÷डेढ महिना मोर्चा घोषणा नगर्ने बताएका थिए। तर, असार ४ मै नेसपालाई छुट्याएर अन्य पार्टीले मोर्चा घोषणा गरे। सोही कारण उनी ६ महिने संगठन विस्तार अभियान लिएर जिल्ला–जिल्ला पुगेका छन्। यता, प्रचण्डले पनि बाबुराम भट्टराईबाहेकका नेसपाका अन्य नेतालाई एकतामा आउन प्रस्ताव राखेको एक नेताले बताए। जवाफमा उनीहरुले दुई पार्टी (प्रचण्ड–बाबुराम) मिल्नुपर्ने नत्र आन्दोलन ध्वस्त हुने सुझाएका थिए। प्रचण्डको पछिल्लो प्रस्तावले एकतालाई झन् पर धकेलेको नेसपाका नेताहरु बताउँछन्। यद्यपि, उनीहरु अझै पनि एकता गर्ने वातावरण र माहोल बनाउन प्रयासरत रहेको बताउँछन्। नेसपाका संघीय परिषद् अध्यक्ष महिन्द्रराय यादवले एकताको प्रयास नरोकिएको बताए। तर, तत्काल भने एकता हुने सम्भावना नभएको माओवादीका एक वरिष्ठ पदाधिकारीले बताए। माओवादीका प्रवक्ता अग्नि सापकोटाले उपयुक्त समयमा छलफल हुने बताए। एकता गर्नेगरी गत मंसिरमा प्रदेश र प्रतिनिधि सभाको चुनावमा माओवादीको चुनाव चिह्नबाट नेसपाका नेताहरु लडेका थिए। त्यसमध्ये प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ सिट नेसपाले जितेको छ। एकताको तयारी हुँदै गर्दा डा. भट्टराईले माओवादी समक्ष १९ बुँदे प्रस्ताव पठाएका थिए। तर, त्यसको जवाफ अझैसम्म माओवादीले दिएको छैन। त्यति मात्र होइन माओवादीको १७–२१ साउनमा बसेको केन्द्रीय समिति बैठकले पनि एकताको विषयमा कुनै निर्णय गरेको छैन। जबकि गत असार १८ मा प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादीबीच एकताका लागि ठोस पहल भइरहेको र चाँडै घोषणा हुने दाबी गरेका थिए। तर, प्रचण्ड अहिले बाबुरामसँग एकता भन्दा समाजवादी मोर्चालाई अगाडि बढाउन इच्छुक देखिन्छन्।
नेसपाबाट एकता वार्ता टोलीमा गंगानारायण श्रेष्ठ, दुर्गा सोब र रमेश यादव छन्। पार्टी एकतामा विलम्ब हुनुमा केही कारण रहेको श्रेष्ठको भनाइ छ। उनका अनुसार उपेन्द्र र माधव नेपालकै कारण समाजवादी मोर्चामा नेसपालाई पहिलो चरणमा समेट्न नसकेको बताएका थिए।तर, विप्लव लगायतका नेताहरुले भने प्रचण्डले अडान लिएको भए मोर्चामा बाबुराम अटाउने बताएका छन्।


सम्बन्धित समाचार