Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालकोटमा देउवालाई गठबन्धन तोड्न दबाव

काठमाडौं । काँग्रेस र एमाले अहिले सत्तापक्ष प्रतिपक्ष भए पनि अमेरिकी सहयोग एमसीसीको विषयमा दुवैको धारणा एउटै छ पास गर्नुपर्छ । तर राजनीतिक स्वार्थका कारण एमाले रोकिएको मात्रै हो । एमसीसीलाई भजाएर गठबन्धन भत्काउन सकिन्छ भने किन नभत्काउने भन्ने मात्रै उसको दाउ रहेको छ । संसद्को गतिरोध अन्त्यकोलागि छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका कांग्रेस सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीले आक्रामक रुपमा आफूलाई प्रस्तुत गरेका छन् । एमसीसी पारित गर्नको लागि प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमा ओलीले यसबारेमा आफूहरु अहिलेको अवस्थामा तटस्थ बस्ने प्रतिक्रिया दिएका थिए । उनले सत्तापक्षीय गठबन्धनसँग बहुमत रहेको भन्दै पास गरेर अघि बढ्न पनि देउवालाई सुझाव दिएका थिए । स्रोतकाअनुसार ओलीले देउवालाई एमसीसी पास गराउन एमालेको सहयोग अनिवार्य हो भने पाँच दलीय गठबन्धन तोडेर आउन पनि सुझाव दिएका थिए । ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो– तपाईहरुसँग बहुमत छ, एमसीसी आँफै पारित गर्नुहोस । यो मेरो काम होईन । यदि एमसीसी पास गराउन हाम्रो सहयोग चाहिन्छ भने अहिलेको पाँच दलीय गठबन्धन तोड्नुहोस। त्यहाँबाट बाहिरिनुहोस । बरु, तपाईँ सरकार एक्लै चलाउनुहोस । हामी सरकारमा रहन्नौं । म व्याक सपोर्ट गर्छु । चुनाव घोषणा गरेर अघि बढ्नुहोस । उता, संसद्को गतिरोध अन्त्यको लागि प्रधानमन्त्रीले गरेको आग्रहमा पनि ओली रुखो सुनिए । उनले सकारात्मक जवाफ नदिएको कांग्रेसनिकट स्रोतको दाबी । ओलीले यसअघि माधव नेपाललगायत १४ जना सांसदलाई कारबाहीको लागि आफ्नो पार्टीले गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस्नुपर्ने अडान राखेका थिए । उनले कि त अदालतले उक्त विषयमा परेको मुद्दाको चाँडै फैसला गरिदिनुपर्ने पनि सुनाएका थ्एि । उनले सभामुख सापकोटाले पनि राजीनामा दिनुपर्ने कुरा पनि देउवासामू राखेका थिए । आफूहरुले अघि सारेका विकल्प लागु नभए संसद्को गतिरोध यथावत रहने उनको चेतावनी थियो । उता, प्रधानमन्त्री देउवाले भने सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्यको लागि एमालेले सकारात्मक भूमिका खेल्नुपर्ने भनाई राखेका थिए । यसको साथै एमसीसी पारित गराउनको लागि पनि एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री देउवाले एमसीसीमा चासो दिए पनि एमाले अध्यक्ष ओलीको ध्याान गठबन्धन भत्काउनेमै केन्द्रीत थियो ।