Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेबाहेकका राजनीतिक दलले आगामी फागुन २१ गते तोकिएको चुनावमा भाग लिन तयार रहेको बताएका छन्। बुधबार प्रधानमन्त्री सुशीका कार्कीको आह्वानमा राजनीतिक दल, जेन–जी प्रतिनिधि र सरकारबीचको त्रिपक्षीय वार्तामा सहभागीहरूले सो कुरा बताएका हुन्। बालुवाटारमा अपरान्हदेखि बेलुका ९ बजेसम्म पाँच घण्टा चलेको बैठकमा प्रधानमन्त्री कार्कीले चुनावको विकल्प नभएको भन्दै सबैले सहयोग गर्नुपर्ने बताएकी थिइन्। त्यसपछि जेन–जीका प्रतिनिधिलाई कुरा राख्न समय दिइएको थियो। १६ जना प्रतिनिधिले आआफ्ना धारणा राखेका थिए। मिराज ढुङ्गानाबाहेकका प्रतिनिधि चुनावकै पक्षमा थिए। निष्पक्ष चुनाव हुनुपर्छ। सबै पार्टी जानुपर्छ। प्रतिनिधि सभा पुनर्स्थापनाको कुरा अहिले गर्न मिल्दैन, कतिपय प्रमुख नेताले अहिलेसम्म किन नछोड्या हो भनेर पनि कुरा उठाए। धेरैजसोले उपलब्धिहरूलाई खोस्न पाइँदैन, हामी संविधान विरुद्ध जाने होइन, जे गर्नुछ चुनाव पछाडि गर्ने हो, जेन–जी प्रतिनिधिले भने, तर, पार्टीहरूमा शुद्धिकरण हुनुपर्यो भ्रष्टाचारीहरूलाई कारबाही हुनुपर्यो। दमन गर्नेलाई कारबाही गर्नुपर्यो चुनाव जसरी पनि हुनुपर्छ।
त्यसपछि दलका नेताले बोलेका थिए। एमालेका नेता महेश बर्तौलाले कार्की नेतृत्वको सरकार चुनाव गराउन सक्षम नभएको बताए। अहिलेको समस्याको समाधान यो सरकारले गर्न सक्तैन। सरकारको मेन्यूमा निर्वाचन भन्ने नै छैन। त्यसकारण सरकारले निर्वाचन गर्दैन, उनले भने, फागुन २१ पछि मुलुक भयानक संकटको दिशातर्फ जानसक्ने खतरा सरकारकै क्रियाकलाप र व्यवहारबाट प्रष्टै देखिन्छ। हामीले अहिलेको समग्र राजनीतिक समस्याको हल राजनीतिक अन्तविरोधको समाधान र अहिले सतहमा देखिएका कयौं विषयहरूको दीर्घकालीन समाधान गर्ने एउटै आधार भनेको विघटित प्रतिनिधि सभाको पुनर्स्थापना हो। उनले थपे, प्रतिनिधि सभाको पुनर्स्थापना गरेर त्यसैमार्फत सुशासन र भ्रष्टाचार अन्त्यका लागि के के कानुनले अवरोध तुल्याएको छ, कुन कुन नयाँ कानुन हुनुपर्ने हो त्यो काम संसदले गरोस्। पुनर्स्थापित संसदबाट हामीले केही काम गरेर अर्लि इलेक्सन गर्दै ताजा जनादेशमा हामी जान सक्छौँ, अहिलेको उत्तम विकल्प भनेको उपयुक्त विधि संसद पुनर्स्थापना हो। तर, चुनावबाट एमाले नभाग्ने उनको भनाई थियो। जनताबाट परीक्षा लिने कुरामा हाम्रो पार्टी पिठ्यूँ फर्काएर भाग्दैन, उनले भने। बैठकमा माओवादीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जेन–जीले उठाएको माग सम्बोधन गर्ने दिशामा अघि बढेमात्र नेपाली समाज अग्रगमनको दिशातर्फ जाने धारणा राखे। अहिले चुनाव गर्नुपर्छ, सबै पार्टी चुनावमै जानुपर्छ, उनले भने, सरकारले प्रतिवद्धता देखाउनुपर्यो। सबै पार्टी र जेन–जीले सहमति गर्नुपर्यो। सरकारले भयरहित निष्पष्क्ष चुनाव गर्ने ग्यारेन्टी गर्नुपर्यो। जेलबाट भागेका कैदी फिर्ता ल्याएँ भन्न सक्नुपर्यो। लुटिएका हतियार फिर्ता गरेँ भन्नुपर्यो, प्रहरीको मनोवल उठाउनुपर्यो, सबै काम गरिदिनुपर्यो यसो भएपछि चुनाव हुन्छ, गर्न सकिन्छ। चुनाव भएन भने देश ठूलो संकटमा जान्छ। अहिले कसैले यताउता कुरा नगरौँ, चुनाव गराउन यो सरकारलाई सफल पारौँ। रास्वपाकी नेता निशा डाँगीले चुनाव गराउनुपर्ने धारणा राखेको बताइन्। तर, चुनावभन्दा अगाडि एउटा सहमति गर्न आवश्यक रहेको कुरा उनले उठाइन्। चुनावपछि गठन हुने प्रतिनिधि सभाले के के काम गर्ने भनेर सर्वदलीय सहमति हुन आवश्यक छ, जसमा जेन–जीका माग र मुद्दा पनि समावेश हुन र सबै दलले सहमति जनाऊन्, उनले भनिन्, चुनाव राम्रोसँग गर्न सम्बन्धित निकायले सहज चुनाव गराउने सहमति गर्नुपर्छ। युवा पुस्तालाई अगाडि सार्ने हो कि प्रतिवद्धता जनाउनुपर्छ। चुनाव खर्चिलो छ। यसलाई घटाउन सबैले छलफल गरौँ। टिकट वितरण प्रणालीमा पनि पुनर्विचार गरेर चुनावमा जाऊँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने बताएको छ। बैठकमा सहभागी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले ७ बुँदे धारणा राखे। यही संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने हाम्रो प्रस्ताव छ, उनले भने, जेनजी विद्रोहमा उठेका राजनीतिक मुद्दाहरु, संविधान संशोधन र सुशासनसँग सम्बन्धित विषयहरूलाई सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्छ। जसपा नेपालले पनि चुनावमै जानुपर्ने मत राखेको नेता प्रकाश अधिकारीले बताए। जसपा नेपालले भदौ २९ र ३० गते बसेको बैठकले नै चुनावमा जाने निर्णय गरेको उनको भनाइ छ। चुनावमा भाग लिने निर्णय हामीले पहिले नै गरिसकेका हौँ, उनले भने, तर संविधान भन्दा पनि आवश्यकताको सिद्धान्तमा बनेको सरकारले गर्न लागेको चुनावमा जानुको विकल्प भएन। तर, ०८४ को चुनाव ०८२ मा किन गर्न खोजिदैँछ ? किन भने आन्दोलन भयो, सुधारको माग भयो। जसपा नेपालले संविधान सुधारको लागि वर्षौदेखि माग राख्दै आएको हो। संविधानमा केही सहमति औचित्य पुष्टि गरेर गरौँ। उनले थपे, स्वच्छ निष्पक्ष चुनाव कसरी हुन्छ ? चुनावपछि संविधान संशोधन गर्ने कुरा कसरी गर्ने ? यो यो कुरा सुधार गरिन्छ भनेर सहमति गरौँ अनि चुनावमा जाऊँ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावमा जान तयार रहेको बताएका थिए। कांग्रेस संसद पुनर्स्थापना हुनैपर्छ भनेर अडिग रहेन, जसपा नेपालका नेता प्रकाश अधिकारीले भने, भएको परिवर्तनलाई कसरी कानुनीरुपमा मिलाउने ? के केमा सहमतिमा गर्ने हो त्यो पनि गरौं भन्ने कांग्रेसको प्रस्ताव थियो। एमालेले पदाधिकारी तहको कुनै नेतालाई बालुवाटार पठाएन। महेश बर्तौला र क्षितिज थेबेलाई एमालेले बालुवाटारको छलफलमा पठाएको थियो। बर्तौलाले प्रष्टसँग संसद पुनर्स्थापना आफ्नो पार्टीको बटम लाइन भएको बताएका थिए। सबैको कुरा सुनेपछि प्रधानमन्त्री कार्कीले निर्धारित मितिमै चुनाव गराउन सरकार तयार रहेको भन्दै निर्धक्क लाग्न राजनीतिक दल र जेन–जी प्रतिनिधिलाई आग्रह गरिन्। सरकार चुनाव गराउन लागिपरेका छौँ, यसमा सबै सहभागी बनौँ, त्यसका लागि केन्द्रीत बनौँ, शान्ति सुरक्षाको व्यवस्था पनि गरिन्छ, कार्कीले प्रतिबद्धता जनाउँदै भनिन्, बाहिर पुगेको हतियार ल्याइसक्छौँ, कैदीहरू सबै समात्छौँ, फरार कैदी समात्ने प्रक्रिया सुरु भएको छ, कति समातिएका छन्, बाँकी समात्छौँ। उनले जेनजी आन्दोलनमा परेका घाइतेको उपचार र सहयोग तथा सहिद परिवारलाई पनि राज्यले सहयोग गर्ने बताइन। जेन–जीका प्रतिनिधिले पनि चुनावमा जानुपर्ने मत राखेका छन्। मिराज ढुङ्गानाले भने प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान राख्नुपर्ने मत राखे।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल