Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि कीर्तिपुुरमा ५० रोपनी जग्गामा कुहिने फोहोरबाट मल निकाल्ने तयारी गरेको छ उपत्यकाको फोहोर व्यवस्थापन सोही ठाउँबाट सुरु गरिने महानगरका एक अधिकारी बताउँछन् ।
कीर्तिपुरमा ५० रोपनी जग्गा उपलब्ध हुने भएको छ । अवरोध नभए नकुहिने फोहोरलाई मात्रै बञ्चरेडाँडामा लैजाने चाहना महानगरको छ । कुहिने फोहोरलाई काठमाडौं उपत्यकाभित्रै व्यवस्थापन गर्ने योजना बनिरहेको छ, उनले भने
अव्यवस्थित तरिकाले बञ्चरेडाँडामा फोहोर फाल्दा त्यहाँका स्थानीयले निरन्तर अवरोध गर्दै आएका छन् । बञ्चरेडाँडाका स्थानीयले भदौ १ गतेदेखि सधैँका लागि काठमाडौं उपत्यकाको फोहोर स्यानिटरी ल्याडफिल साइटमा लैजान नदिने घोषणा गरेका छन् ।
महानगरपालिका कृषि तथा वातावरण विभागका अनुसार बञ्चरेडाँडाका स्थानीयले निरन्तर फोहोरमा अवरोध गर्दा त्यसको विकल्प खोज्न थालिएको हो । महानगरका अनुसार अहिले फोहोर उठ्न नसक्नुको कारण स्थानीयको अवरोध र सडक पिच नहुनु हो ।
बञ्चरेडाँडामा फोहोर फाल्न समस्या भएको स्थानीयले स्वीकार नगर्दा हो । त्यसैले कीर्तिपुरमा व्यवस्थापन गर्दा त्यो नहोस् भन्नका लागि तयारी थालिएको छ । फोहोर व्यवस्थापन गर्नका लागि समुदायले स्वीकार गर्नुपर्छ, स्रोतले भन्यो,अन्य नगरपालिकामा पनि फोहोर व्यवस्थापन गर्न जग्गा खोज्ने काम भइरहेको छ ।
कृषि तथा वातावरण विभागकी प्रमुख सरिता राईका अनुसारस्थानीयकै दैनिक अवरोधका कारण अहिले पनि फोहोर उठ्न सकिरहेको छैन उनका अनुसार आइतबार पनि स्थानीयले विरोध गर्दा फोहोर उठ्न सकेन ।
स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडाका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार सरकारले आफ्ना माग पूरा नगरेका कारण बञ्चरेडाँडाका स्थानीयले अवरोध जारी राखेका हुन् ।
बञ्चरेडाँडासम्म पुग्ने सडकका कारणले पनि फोहोर लैजान बाधा पुग्दै आएको छ । फोहोर उठाउने निजी कम्पनीहरूले महानगरलाई टेर्दैनन । उनीहरूलाई कसरी महानगरको दायरामा ल्याउन सकिन्छ भन्नेबारे पनि महानगरमा गहन छलफल भइरहेको छ । प्रमुख राईका अनुसार फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघसंस्था र व्यवसायी महानगरमा दर्ता छैनन् । महानगरले फोहोर सम्बन्धि आफ्नै ऐन बनाएर दीर्घकालीन फोहोर व्यवस्थापनको मार्ग कोर्ने महानगर स्रोतले बताएको छ ।
काठमाडौं महानगरभित्र मात्रै ३६ वटा कम्पनीले फोहोर संकलनको काम गर्छन् । यसका लागि नयाँ परियोजना निर्माणका लागि पनि तयारी भइरहेको महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पहिलो प्राथमिकता फोहोर व्यवस्थापनलाई राख्दै आएका छन् । गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा निर्वाचित घोषणा भएकै दिन बालेन बञ्चरेडाँडा पुगेका थिए ।
उनले आफ्ना चुनावी प्रतिवद्धतादेखि आर्थिक वर्ष २०७९÷८० को बजेटमा समेत फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् । चालु आर्थिक वर्षको बजेटमा फोहोर व्यवस्थापनका लागि अत्याधुनिक उद्योग सञ्चालन गर्न ६५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै फोहोर व्यवस्थापनकै अन्य उपशिर्षकमा पनि महानगरले बजेट छुट्याएको छ ।
कुहिने र नकुहिने फोहोर कति उत्पादन हुन्छ र नागरिकले कसरी फोहोर छुट्याउँछन् भन्नेबारे पनि अध्ययन भइरहेको विभागले जनाएको छ
सन् २००५ मा काठमाडौंमा उत्पादन हुने फोहोरको परीक्षण गर्दा एक संस्थाले ६५ प्रतिशत फोहोर मल बनाउन लायक देखिएको जनाएको थियो । अहिले फोहोरको प्रकृति, जनघनत्व फेरिएको छ । अहिलेको समयमा यी कुराहरूमा पनि अध्ययन अनुसन्धान हुन सकेको छैन । यी सबै कुरामा अध्ययन भएर उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन हुन्छ, विभागीय प्रमुख राईको भनाइ छ ।
गत शुक्रबार र शनिबार पोखरामा भएको महानगरका मेयरहरूको सम्मेलनले फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको निष्कर्ष निकालेको थियो ।
महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन सार्वजनिक सूचना जारी गरेको थियो । बञ्चरेडाँडामा कुहिने फोहोरबाट खाल्डे मल उत्पादन गर्ने योजना महानगरको भए पनि सो योजना सफल भएन ।
औसतमा दैनिक १५० देखि २०० को हाराहारीमा फोहोरका ट्रक बञ्चरेडाँडामा पुग्छन् । सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट निर्माणका लागि एक हजार ७९० रोपनी जग्गा अधिग्रहण गरेको थियो ।
जापान सहयोग नियोग ९जाइका०को दुई अर्ब १० करोड रुपैयाँ सहयोगमा ल्यान्डफिल साइट बनाउने निर्णय भएको थियो ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल