Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला ब्रेन हेमरेजका कारण गम्भीर अवस्थामा उपचाररत छन् । हाल उनी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । सिटौला हिजो अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह बालेनको चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । बेहोस भई लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको हो । अस्पतालको स्रोतका अनुसार सिटौलालाई सब–अरैक्नोइड हेमरेज भएको हो, जुन ब्रेन हेमरेजको गम्भीर प्रकार मानिन्छ। अस्पताल आइपुग्दा उनको चेतनास्तर अत्यन्त न्यून रहेको र अवस्था क्रिटिकल रहेको चिकित्सकले बताएका छन् । अस्पताल ल्याइनु अघि रहेको स्थानमै करिब ४५ मिनेटसम्म मुटुको चाल बन्द भएको र त्यसपछि सीपीआरमार्फत मुटुको चाल फर्काइएको थियो । लामो समयसम्म मुटुको चाल बन्द भएकाले उपचारको नतिजा जटिल हुन सक्छ । उपचार जारी रहे पनि आगामी ४८ देखि ७२ घण्टा निर्णायक समय रहन्छ, यस अवधिमा चेतनास्तरमा सुधार आएमा थप उपचारको बाटो तय हुनेछ, उपचारमा खटिएका एक चिकित्सकले बताएका छन्। यद्यपि, यस्तो गम्भीर अवस्थामा छिट्टै सुधार आउने सम्भावना न्यून हुने चिकित्सकहरूले बताएका छन् । सब–अरैक्नोइड हेमरेज प्रायः मस्तिष्कको नसामा भएको एन्युरिज्म नसा फुल्नु–फुट्दा हुने गर्छ । यस्तो एन्युरिज्म धेरैजसो व्यक्तिमा पहिलेदेखि नै हुने भए पनि कुनै लक्षण नदेखिने भएकाले समयमै पत्ता लाग्न कठिन हुने चिकित्सकले स्पष्ट पारेका छन् । अचानक रक्तचाप बढ्नु, तनाव वा अन्य कारणले एन्युरिज्म फुट्न सक्ने बताइएको छ। चिकित्सकका अनुसार अधिकांश केसमा यो रोग ६० वर्षभन्दा माथिका व्यक्तिमा देखिए पनि केही अवस्थामा कम उमेरका व्यक्तिमा पनि देखिने गर्छ । हाल सिटौलाको शरीरमा केही न्यून प्रतिक्रिया रिफ्लेक्स देखिएकोले चिकित्सक टोलीले उपचार जारी राखी अवस्था मूल्यांकन गरिरहेको छ । तर अवस्था अत्यन्त गम्भीर रहेकाले निको हुने वा दीर्घकालीन असरबारे अहिले नै ठोस निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको अस्पताल स्रोतले जनाएको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल