Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कञ्चनपुर । कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् । सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विना कुनै सम्बोधन मौन अभियान सञ्चालन गरेका हुन् । जिल्लाका रहेका पार्टी कार्यालय र उम्मेदवारहरूका चुनावी सम्पर्क कार्यालयमा घण्टी बजाउँदै सर्मथकहरू माझ उपस्थित भए पनि उनले कुनै पनि कार्यक्रममा सम्बोधन गरेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता बालेनले चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीबाट सुदूरपश्चिमको चुनावी अभियान थालेका थिए । कैलाली–२ बाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । खनाल रास्वपाभित्र बालेन निकट युवा नेताका रूपमा चिनिन्छन् । चुनावी अभियानका क्रममा आफ्नो पार्टीका उम्मेदवारहरूसित भलाकुसारी र सामान्य छलफल गरे पनि सार्वजनिक मञ्चबाट भाषणबाजी नगरे पनि यात्राका क्रममा उनले डोट्याली भाषामा स्टाटस लेख्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै हिँडे । लम्कीपछि धनगढी हुँदै कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को पुनर्बास पुगेका शाहले सोही दिन कञ्चनपुरको शुक्लाफाँटा र महेन्द्रनगरमा रहेको पार्टी कार्यालय पुगेर घण्टी बजाउने र शुभेच्छुक माझ प्रस्तुत भए । यो क्रममा शाहले डडेल्धुराको प्रसिद्ध बाजेको खीरको स्वाद लिनेदेखि हिँउसित फोटो खिच्नुका साथै विभिन्न स्थानको अवलोकन गरेको तस्बीर सामाजिक सञ्जालमार्फत भाइरल भए । अभियानकै क्रममा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका विभिन्न स्थानमा चुनावी अभियान सकेर शुक्रबार बालेनको टिम कर्णालीतर्फ प्रस्थान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिश भट्टले जानकारी दिए। बालेन अहिले कालिकोटको मान्म पुग्नुभएको छ, रास्वपाका समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टले भने, अब चाँडै पार्टीले प्रदेश सरकारका चुनावी सभा आयोजना गर्दा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ । नेता भट्टका अनुसार सुदूरपश्चिम भ्रमणका क्रममा वरिष्ठ नेता बालेनले पार्टीका उम्मेदवारहरूसित स्थानीयस्तरमा विद्यमान समस्या, मतदाता र पार्टीको अवस्थाबारे जानकारी लिने गरेका थिए । उम्मेदवारहरूसित छोटोमा छलफल गर्नुभयो, भट्टले भने, बालेनको सुदूरपश्चिम भ्रमणले उत्साह जगाएको छ । उनले निर्वाचन आचारसंहितालाई ख्याल गरेर सम्बोधन नगरिएको बताए । जिल्लाहरूमा छोटो भेटघाट र यात्राका क्रममा बाटोमा भेटिएका सर्मथकहरूसित हार्दिकता साटेर उनी कर्णालीको यात्रामा रहेको भट्टको भनाइ छ । बालेनको सुदूर यात्रामा उहाँप्रतिको क्रेज अत्यधिक देखिएको रास्वपाका नेताहरूले बताएका छन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल